काठमाडौँ, २७ असोज। परराष्ट्रमन्त्री डा. नारायण खड्काले बर्तमान समयमा विश्व जगतले विगत ६० वर्ष पहिलेको भन्दा धेरै गहन र जटिल चुनौतीको सामना गरिरहेको बताउनुभएको छ । उहाँले यी चुनौतीको समाधान गर्न असंलग्न आन्दोलनमा संलग्न मुलुकको ऐक्यबद्धता आजको अपरिहार्य आवश्यकता रहेको प्रस्ट पार्नुभएको छ ।
असंलग्न आन्दोलन (नाम)को ६०औँ वार्षिकोत्सवको अवसरमा आयोजित उच्चस्तरीय बैठकलाई सर्बियाको राजधानी बेलग्रेडमा सम्बोधन गर्नुहुँदै मन्त्री खड्काले चुनौतीबाट माथि उठ्न नामको बलियो पहलको आवश्यकता रहेको औँल्याउनुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
उहाँले भन्नुभयो, “यस अवधिमा नामले विश्वभरिका देशका लागि स्वतन्त्रता, लोकतन्त्र र न्याय स्थापित गर्न सफलता हासिल ग¥यो, तैपनि आज हामी बढ्दो जातीय र अन्तर राज्य सङ्घर्ष, हिंसात्मक उग्रवाद, आतङ्कवाद, जलवायु परिवर्तन, आर्थिक मन्दी, वित्तीय कमजोरी, गरिब र धनीबीच असमानता, ठूलो अनुपातमा खाद्य र इन्धनको सङ्कट बढ्दै गएको देख्दैछौँ ।” असंलग्न आन्दोलनले शान्तिपूर्ण, समृद्ध र न्यायपूर्ण समाजको नेतृत्व गर्नुपर्ने औँल्याउँदै मन्त्री खड्काले यसले संयुक्त राष्ट्रसङ्घ, अन्तर्राष्ट्रिय वित्तीय संस्थालगायत बहुपक्षीय संस्थाहरूको सुधार र पुनर्गठनका लागि पनि काम गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री खड्काले आफ्नो सम्बोधनका क्रममा विश्वमा बढ्दै गएको भू–राजनीतिक तनाव, परमाणु हतियारको आधुनिकीकरण र त्यसका लागि दौड र महाशक्ति राष्ट्रबीच त्यसका लागि प्रतिस्पर्धा नयाँ लहरले थप सङ्कट बढाएको प्रस्ट पार्नुभयो । यस्तो अवस्थामा नामले आफ्नो सही स्थानको दाबी गर्दै गरिब, कमजोर र सङ्कटग्रस्त मुलुकका लागि आफ्नो आवाज बुलन्द पार्नुका साथै त्यहीअनुसार आफ्ना कार्यलाई गतिशीलता दिनुपर्नेमा मन्त्री खड्काले जोड दिनुभयो । उहाँले वर्तमान समयमा जलवायु परिवर्तन र कोभिड–१९ महामारी सबैभन्दा ठूलो चुनौतीका रूपमा अहिले उभिएको दर्शाउनुभयो । यसले मानव समुदायको सुरक्षाको महत्वपूर्णक्षेत्रमा देखिएको विश्वव्यापी शासनको अन्तर कमजोरीहरूलाई उजागर गरेको उहाँको भनाइ छ । उहाँले खोपमा पहुँचको असमानताको अवस्था सिर्जना गर्न धेरै हदसम्म योगदान गरेको सुनाउनुभयो ।
मन्त्री खड्काले वर्तमान अवस्थामा कमजोर मुलुक र त्यहाँका जनतालाई गरिबी, असमानता र वञ्चितीकरणबाट मुक्त गरेर उत्थान गर्न दक्षिण–दक्षिणको सहकार्यको आवश्यकतालाई बढाउनुपर्नेमा नाम सदस्यहरूको ध्यानाकर्षण गराउनुभयो । नामका सदस्यहरूबीच वैश्विक एजेन्डालाई सान्दर्भिक बनाउन एकता, सामञ्जस्यता र सहयोगको पारस्परिकता बनाउनुपर्ने बताउँदै अगाडि भन्नुभयो, “नाम आन्तरिक रूपमै बलियो हुनुपर्छ, ताकि विभाजन, कलह नबढोस् र आन्दोलनको एकता कमजोर नहोस् ।”संसारका सबै नेता, असंलग्न आन्दोलन र यस बाहिरको साझा भविष्यका लागि काम गर्न पनि मन्त्री खड्काले नेपालका तर्फबाट आह्वान गर्नुभयो । साथै उहाँले सबै मानव जातिको भलाइका लागि सँगै अघि बढ्न र त्यसका लागि सामूहिक प्रतिज्ञा गर्न पनि आह्वान गर्नुभयो ।
सम्बोधनका क्रममा उहाँले शान्तिका अग्रदूत गौतम बुद्धको देशबाट शान्तिको सन्देश ल्याएको सुनाउँदै नेपाल सरकार र यहाँका जनताको तर्फबाट उच्चस्तरीय बैठकको सफलताको कामना गर्नुभएको थियो । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र परराष्ट्र नीतिबारे प्रस्ट धारणा उहाँले नामको बैठकमा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालले आफ्नो संविधानमै मूल सिद्धान्त स्थापित गरेको तथ्य प्रकट गर्दै मन्त्री खड्काले यी सिद्धान्त सधैँ नेपालको विदेश नीतिको एक अभिन्न अङ्गका रूपमा रहेको समेत जानकारी गराउनुभएको थियो । गोरखापत्र