बिहीबार ०१ साउन, २०८२

नेपाली समय

वातावरण संरक्षणको लागि सेनाको ‘गो ग्रिन’ कार्यक्रम 

वातावरण संरक्षणको लागि सेनाको ‘गो ग्रिन’ कार्यक्रम 

भोजपुर, २१ असोज ।  नेपाली सेनाको फष्ट रैफल गण भोजपुरले ‘गो ग्रिन’ कार्यक्रम अन्तर्गत एक जवान एक बिरुवा रोपनको अभियान सञ्चालन गरेको छ । वातावरण संरक्षणमा टेवा पु¥याउने उद्देश्यले नेपाली सेनाले अभियान सञ्चालन गरेको हो ।

अभियान अन्तर्गत सेनाले विभिन्न सामुदायिक बनहरूमा बिरुवा रोपिरहेको छ । यसै बीच सेनाले भोजपुरको हतुवागढी गाउँपालिकाको सतभैया सामुदायिक वन र भोजपुर नगरपालिका– १२ पारपानीमा रहेको इनामे सामुदायिक वनमा  वृक्षारोपण गरेको छ । हतुवागढीमा धुपी सल्ला, तेजपत्ता, पैयुँ, लालीगुराँस मसला लगायत गरी एक हजार बढी बिरुवा रोपिएको सेनाले जनाएको छ । त्यस्तै सेनाले इनामे सामुदायिक वनमा पनि एक हजार २०० बढी बिरुवा रोपेको छ ।

यो अभियान अन्तर्गत जिल्लाभर १२ हजार बिरुवा रोप्ने योजना रहेको फस्ट रैफल गण भोजपुरका गणपति विश्वनाथ तिमल्सिनाले जानकारी दिनुभयो । गणपति तिमल्सेनाले भने,‘ वातावरण संरक्षण गर्न हामीले एक जवान एक बिरुवा रोप्ने अभियान अन्तर्गत जिल्लाभर १२ हजार बढी बिरुवा रोपन गर्ने लक्ष्य लिएका छौँ । यसले यहाँको वातावरणको संरक्षणमा केही टेवा पुग्ने आशा गरेका छौँ ।’

सेनाले थालेको बिरुवा रोपन अभियान सहरणिय रहेको बताउँदै यसको संरक्षण तथा विकासमा स्थानीय सरकारले सहयोग गर्ने गाउँपालिका अध्यक्ष प्रेम कुमार राईले बताए ।

अध्यक्ष राईले भने,‘सेनाले थालेको यो अभियान स्वागतयोग्य छ । नाङ्गा पाखाहरूलाई हरियाली बनाउन यस्तो अभियान सञ्चालन गर्न आवश्यक छ । सेनाले थालेको अभियानलाई हामी पनि साथ सहयोग दिएर अगाडी बढ्छौँ’ ।

रोपिएका बिरुवालाई संरक्षण नेपाली सेना तथा स्थानीय तहले गर्ने बताएका छन् । अन्य स्थानमा पनि वृक्षारोपणण गर्ने कार्यपालिका रहेको नेपाली सेनाले जनाएको छ ।

वृक्षारोपणको लागि डिभिजन वन कार्यालय भोजपुरले सेनालाई बिरुवा उपलब्ध गराउँदै  आएको डिभिजन वन कार्यालय भोजपुरका प्रमुख विष्णुलाल घिमिरेले जानकारी दिए । प्रमुख घिमिरेले भने,‘हामीले नाङ्गा डाँडालाई हरियाली बनाउने उद्देश्यले विभिन्न गतिविधिहरू बढाइरहेका छौँ । नेपाली सेनाले पनि अभियान नै सञ्चालन गरेर वृक्षारोपणको काम गरिरहेको छ । यसले वन कार्यालयको अभियानमा साथ मिलेको छ । पछिल्लो समय जिल्लामा वृक्षारोपणका गतिविधि बढेको छ । विशेष गरेर स्थानीयहरूमा फलफूल तथा जडीबुटीजन्य बिरुवा रोपनमा चासो देखिएको छ ।’

बर, पिपलको संरक्षण गरिँदै

डिभिजन वन कार्यालय भोजपुरले बर, विपल रोप्ने अभियान सञ्चालनमा ल्याएको छ । सडक विस्तार तथा मानवीय गतिविधिका कारण सयौँ वर्ष अगाडी रोपिएका बर, पिपल मासिन थालेपछि कार्यालयले यस्तो अभियान सञ्चालनमा ल्याएको जनाएको छ ।

बर, पिपलबाट प्रशस्त मात्रामा अक्सिजन दिने तथा वातावरणलाई हराभरा राख्न ठुलो टेवा पु¥याउने भएकोले सार्वजनिक तथा खुल्ला क्षेत्रमा रोप्ने गरी अभियान सञ्चालन गरेको डिभिजन वन कार्यालय भोजपुरले जनाएको छ ।

धेरै मात्रामा बर, पिपल विस्तार गर्न सके बस्तीमा बाँदर आउने क्रमसमेत रोकिने कार्यालयको दाबी छ । बर, पिपलको फल खाएर बाँदर अलमलिने हुँदा त्यसबाट किसानको अन्नबालीमा कम क्षति हुने डिभिजन वन कार्यालयका प्रमुख घिमिरेले बताए ।

प्रमुख घिमिरेले भने,‘ पछिल्लो समय धेरै वर्ष पुराना बर, पिपलका रुखहरू मासिँदै गएका छन् । अधिकांश ठाउँमा बर, पिपलका ठुटा मात्र देखिन्छन्, त्यसले वातावरणलाई प्रत्यक्ष रूपमा हानी पुगिरहेको छ । त्यसैले हामीले अहिले झापाबाट बिरुवा मगाएर यसलाई अभियानका रूपमा सञ्चालन गर्ने लक्ष्यका साथ विस्तार  गरिरहेका छौँ ।’

त्यस्तै बाँदरले बस्तीमा आएर क्षति गर्न थालेपछि सामुदायिक बनहरूमा फलफूल जन्य बिरुवा तथा इस्कुस रोपनलाई ध्यान दिन आग्रह गरिरहेका छौँ । बाँदरको लागि खाने आहारा वन क्षेत्रमा नै उत्पादन गर्न सकेमा गाउँ बस्तीमा बाँदरले कम क्षति गर्ने कार्यालयको भनाइ छ ।

‘हाम्रा कारणले नै बाँदरलाई बस्तीमा आउने अवस्था बनाएका छौँ । वन्यजन्तुलाई हाम्रा व्यवहारले पनि असर पारिरहेको छ । उनीहरूलाई खानको लागि आवश्यक पर्ने बस्तु फेला नपरेपछि बस्तीमा आउनु स्वाभाविक छ । त्यसैले हामीले बन क्षेत्रमा पनि फलफूलका बिरुवालाई विस्तार गर्न जरुरी देखिएको छ । त्यसैले पनि हामीले खुल्ला क्षेत्रमा बर, पिपल रोप्ने अभियान सञ्चालनमा ल्याएका हौँ ।’ प्रमुख घिमिरेले भने ।

फलफूल तथा जडीबुटी बिरुवा रोप्न कृषक उत्सुक

पछिल्लो समयमा भोजपुरका स्थानीयहरू जडीबुटीजन्य बिरुवा रोपन तर्फ उत्सुक भएका छन् । डिभिजन वन कार्यालय तथा सामुदायिक वनहरूले यस्ता बोट बिरुवाको महत्त्वको विषयमा जानकारी दिएसँगै कृषकहरूमा यस्ता बिरुवा प्रतिमोह बढेको हो । कृषकलाई प्रोत्साहन गर्ने विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याएसँगै यसतर्फ कृषकको आकर्षण बढेको छ ।कार्यालयले विभिन्न खालका कृषक लक्षित कार्यक्रम सञ्चालनमा ल्याएसँगै यहाँ जडीबुटीमा लाग्ने कृषकको संख्या बढेको हो । कार्यालयले विभिन्न कार्यक्रम मार्फत आर्थिक तथा प्राविधिक सहयोग गरेपछि कृषकहरूले जडीबुटी खेतीलाई व्यावसायिक रूपमा सञ्चालनमा ल्याएका हुन् । कार्यालयले यस वर्ष मात्र टेम्केमैयुङ गाउँपालिका –१ तिम्मा, आमचोक गाउँपालिका लगायत ठाउँमा जडीबुटी विस्तार कार्यक्रम सञ्चालन गरेको हो ।

कृषकलाई आयआर्जनमा जोड्न, टिमुर, लालीगुराँस, तेजपत्ता, लोठ सल्ला, पैयूँ लगायतका बिरुवा  विस्तारमा कृषकलाई प्रोत्साहन गरिरहेको कार्यालयको भनाइ छ । जिल्लामा छ ओटा नर्सरीबाट  एक लाख, ६४ हजार बिरुवा उत्पादन गरेको कार्यालयको भनाइ छ । कृषकलाई करिब  पाँच हजार  कागती, एभोकाडो लगायतका बिरुवा वितरण भएको कार्यालयले जनाएको छ । बर्सेनि बिरुवा वितरण गरिएपनि त्यसको उपलब्धि आउन नसकेकोले सरोकारवालाहरूले बताउने गरेका छन् । कृषकले उत्पादन गरेका जडीबुटीको बजारीकरणमा सरकारले भूमिका खेल्नु पर्ने व्यवसायीले बताएका छन् ।

सतुवा, चिराइतो, टिमुर, लगायत विभिन्न जडीबुटीको पकेट क्षेत्र निर्धारण गरेर काम गरिरहेको छ । त्यस्तै कृषकलाई थप प्रोत्साहन गर्नको लागि लाहा खेती विस्तारको लागि समेत काम भइरहेको कार्यालयले जनाएको छ । त्यस्तै जडीबुटी खेती विस्तार तथा वन क्षेत्रको विकासका लागि पञ्चवर्षीय योजना भइरहेकोले त्यसमा  छुटेका विषयवस्तुको बारेमा समेत राय सुझाव सङ्कलन लिइएको छ । सहभागीहरूले जडीबुटीको उत्पादन राम्रो भएपनि भण्डारणको समस्या रहेकोले त्यस तर्फ ध्यान दिन सुझाएका छन् ।