सुनसरी, १७ असोज। कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयको रैथाने मकुना हात्ती मृत भेटिएको छ । मकुना आइतबार बिहान मृत भेटिएको हो । कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालयले मकुना मरेको पुष्टि गरेको छ ।
आरक्षका संरक्षण अधिकृत अशोक रामले करेण्ट लागेर हात्ती मरेको बताए । रामका अनुसार आरक्ष छेउको धानबारीमा हात्ती मृत भेटिएको हो । उनका अनुसार चरणको क्रममा धानबारीमा लगाइएको करेण्ट लागेर मकुनाको ज्यान गएको हो । आरक्षका प्रमुख संरक्षण अधिकृत रामले मकुनाको मृत्युले आरक्षलाई ठूलो क्षति पुगेको बताए । उनले मकुना स्थानान्तरणको कुरो चलिरहँदा मृत्युको खबर दुःखद भएको बताए । आरक्ष कार्यालयले घटना मुचुल्का तयार पारेर शदगदको तयारी थालिएको जनाएको छ ।
केही साता अघि मात्रै मकुनालाई अन्यत्र सार्ने तयारीका विषयमा छलफल भएको थियो । मकुना जङ्गली हात्ती भएपनि रैथानेका रूपमा लामो समययता आरक्ष हातामै बस्दै आएको थियो । मकुनाले सुनसरी र सप्तरीका सयौँको घर र धनबाली क्षेती गरेको थियो भने आक्रमणमा परी दर्जनौँ भन्दा बढी मानिसहरूले ज्यान गुमाएका थिए ।