रौतहट, १४ असोज । एकबर्ष अघिदेखि शुरु गरिएको गणनामा रौतहटको जङ्गलमा ४ वटा बयस्क बाघ रहेको फेला परेको छ । गतबर्षको माघ २ गते देखि क्यामेरा ट्रयापिङ विधिबाट गरिएको गणनामा जिल्लाको बनक्षेत्रमा चार वटा बाघ फेला परेको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष र जुओलोजिकल सोसाइटी अफ लन्डन तथा डिभिजन वन कार्यालय रौतहटसँगको सहकार्यमा बाघ गणना शुरु गरेको थियो । रौतहटमा धनसर खोला पूर्व, बागमती खोला पश्चिमको वन क्षेत्रको गैंडाटार, जुडिबेला, चोचा, सिम्री, नुनथर लगायतका स्थानमा १७ जोर क्यामेरा जडान गरिएका थिए ।
प्रत्येक ५ वर्गकिमि वनक्षेत्रमा एकजोडी र बाघको आवतजावत हुने शंकास्पद स्थानमा दुइजोडी क्यामेरा जडान गरिएको थियो । वनक्षेत्रसंग जोडिएको रौतहटको मानव बस्तीहरूमा स्थानीयको चौपाया बाघले आक्रमण गरेको, मानवलाई समेत आक्रमण गरे पछि बाघ गणना गरिएको हो । रौतहटमा फेला परेका बाघहरू पर्सा राष्ट्रिय निकुञ्जबाटै गएको हुनुपर्ने पर्सा राष्ट्रिय निकुञ्जले जनाएको छ ।
केही महिना अघि रौतहटको चन्द्रपुर ६ का एक युवक बाघको आक्रमणबाट मारिएका थिए भने जिल्लामा पछिल्लो समय बाघले आक्रमण गर्दा ४ जना घाइते भएका थिए ।