बुधबार ०२ माघ, २०८१

नेपाली समय

अमेरिकामा पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल हुँदै

अमेरिकामा पहिलो ग्लोबल नेपाली फिल्म फेस्टिभल हुँदै

काठमाडौँ, ८ असोज । विभिन्न कालखण्डमा बनेका कालजयी तथा राम्रा नेपाली चलचित्रहरूको प्रचार–प्रसार र प्रवर्द्धन तथा नेपाली चलचित्रहरूलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्याउने उद्देश्यले अमेरिकामा ग्लोबल नेपाली फिल्म फेस्टिभल हुने भएको छ । कोभिड–१९ ले गर्दा सुस्ताएको नेपाली चलचित्रलाइ चलायामन बनाउने उद्देश्य र नेपाली चलचित्रको गरिमालाई उच्च बनाउनको लागि ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए गर्न लागिएको नेपाल फिल्म सोसाइटिका अध्यक्ष कृष्ण मल्लले जानकारी गराए। मल्लका अनुसार यो फेस्टिभल कुनै कम्पिटिसन नभएर नितान्त नेपाली फिचर फिल्म, सर्ट फिल्म, डकुमेन्ट्रीको प्रचार–प्रसार र प्रवर्द्धनको लागि आयोजना गर्न लागिएको हो।  

फेस्टिभलका आयोजक नवराज श्रेष्ठका अनुसार चलचित्र महोत्सवको मिति चांडैनै तय गरिनेछ । उनले भने, ‘कोरोना महामारीका कारण केही कठिनाइ भएको छ । हामीले छिट्टै महोत्सवको मिति घोषणा गर्ने छौँ ।’

ग्लोबल नेपाली फिल्म फेस्टिभल युएसए नेपाल फिल्म सोसाइटी काठमाडौं, नेपाल फिल्म सोसाइटी युएसए र ग्लोबल नेपाल फिल्म अवार्डस (एलएलसी)ले संयुक्त रूपमा आयोजना गर्ने भएका हुन् ।

चलचित्र महोत्सवलाई भव्य रूपमा सफल पार्न सम्पूर्ण चलचित्रकर्मी तथा शुभेच्छुकहरूसँग नवराज श्रेष्ठले साथ सहयोगको अपिल गरेका छन् । नेपाली चलचित्रको महत्वका विषयमा विश्वभरि प्रचार प्रसार होस् भनेर महोत्सव गर्न लागेका छौँ।  तसर्थ विश्वभर फैलिएर बसेका चलचित्रकर्मी तथा नेपाली चलचित्रप्रेमीहरुको सहभागिताको समेत अपेक्षा राखेको आयोजक कमिटीले जानकारी गराएको छ ।