बुधबार १९ मंसिर, २०८१

नेपाली समय

गाई शीर्षकको कला प्रदर्शनी सम्पन्न

गाई शीर्षकको कला प्रदर्शनी सम्पन्न

गण्डकी, ७ भदौ । गाईजात्रा एवं श्रीकृष्ण जन्माष्टमीको अवसर पारी पोखराको चिप्लेढुङ्गास्थित नगेन आर्ट एकेडेमीमा आयोजना गरिएको ‘गाई’ शीर्षकको कला प्रदर्शनी सम्पन्न भएको छ ।गत साउन २६ गतेदेखि भदौ ६ गतेसम्म सञ्चालित प्रदर्शनीमा कलाका क्षेत्रमा रुचि राख्ने एक हजारभन्दा बढी व्यक्ति सहभागी भई अवलोकन गरेको नगेन आर्ट एकेडेमीका अध्यक्ष ज्योति हमालले जानकारी दिनुभयो । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य एवं विश्व हिन्दु युवा सङ्घ ललितकला विभाग प्रमुख कलाकार नगेन सिंहद्वारा ‘अल्कोहलिक ईंक’ का माध्यमद्वारा बनाइएका २१ वटा चित्र प्रदर्शनीमा राखिएका थिए ।

समापनका अवसरमा विश्व हिन्दु महासङ्घका केन्द्रीय अध्यक्ष डा रामचन्द्र अधिकारीले गाईको अस्तित्व नै धरापमा परिरहेको समयमा गरिएको प्रदर्शनीले विशेष महत्त्व झल्काउने बताउनुभयो । विश्व हिन्दु युवा सङ्घका केन्द्रीय अध्यक्ष ऋषिकेशजङग शाहले गाईको महत्त्वलाई बुझ्न नसकिएको बताउँदै यसको संरक्षणका लागि आम जनमानसमा सचेतना अभिवृद्धि हुनुपर्नेमा जोड दिनुभयो ।

विश्व हिन्दु महासङ्घका केन्द्रीय सदस्य इन्दिरा कोइराला, कलाकार नगेन सिंह, एकेडेमीका अध्यक्ष ज्योति हमाललगायतले गाईको महत्त्वलाई उजागर गर्न नसक्दा यसको अस्तित्व नै सङ्कटमा पर्दै गएको धारणा व्यक्त गर्नुभयो ।

शिशु निकेतन स्कुलकी कक्षा ४ मा अध्ययनरत छात्रा रुक्साङ पुनले माटोबाट तयार गर्नुभएको गाईको मूर्ति विश्व हिन्दु महासङ्घका अध्यक्ष अधिकारीलाई हस्तान्तरण गरिएको थियो ।