काठमाडौं, १३ साउन । कालजयी तथा हरेक नेपालीको मन मुटुमा बस्न सक्ने गीतहरू गाएर लाखौँ साङ्गीतप्रेमी नेपाली दर्शक श्रोताहरूको प्रिय बनेका गायक गंगा प्रसाद घिमिरे अहिले चर्चाको शिखरमा पाइलाहरू टेक्दैछन् । विभिन्न कार्यक्रमहरूमा व्यस्तता बढाउँदै गएका गायक घिमिरेले नेपाल भित्र मात्र नभएर विदेशमा समेत आफ्नो ख्याति बढाएका छन् । गायक गंगा प्रसाद घिमिरे लामो समय देखि नर्वेमा रहेर साङ्गीतिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् । विदेशमा रहेर पनि उनले एक पछि अर्को गदै हिट नम्बर दिएर गायन क्षेत्रमा आफ्नो बेग्लै छवि बनाएका हुन् ।
उनले स्वर दिएका गीतहरू संगीतप्रेमी नेपाली दर्शक श्रोता माझ त्यतिकै लोकप्रिय पनि बनिरहेका छन् । ‘पूर्वेली मायाले, बिन्दास जिउने हो, मारुनी, माया हौ, सिरफुल जस्ता हिट गीत गाएर साङ्गीतिक दुनियाँमा परिचय बनाइसकेका गंगा प्रसाद घिमिरे संसारभर छरिएर बसेका नेपाली बीच अहिले चिर परिचित गायकका रूपमा चिनिन्छन् । दर्जनौँ कार्यक्रममा लाखौँ संगीतप्रेमी दर्शकहरूलाई मनोरञ्जन दिएर राम्रो आम्दानीको श्रोत बनाएका उनी नियमित गीत रेकर्ड गर्न समेत समय व्यवस्थापन गरिरहेका छन् ।
मोरङ पथरी शनिश्चरे–३ का स्थायी बासिन्दा उनी लामो समय देखि निरन्तर नेपाली सुगम सङ्गीतमा साधना गर्दै आफूलाई साङ्गीतिक क्षेत्रमा स्थापित बनाउन सफल रही निरन्तर चर्चामा नै रहेकाछन् । सधैँ व्यस्त रहने गायक गंगा प्रसाद घिमिरेलाई आजकल पूर्वेली भाकाको किङ पनि भनेर चिनिन्छ। सरल स्वभावका सधैँ हाँसेर बोल्ने मिठो सुमधुर आवाजको धनी गायक गंगा प्रसाद घिमिरेले दर्जनौँ राष्ट्रिय साङ्गीतिक अवार्ड र सम्मान समेत पाइसकेका छन् ।
नेपाली आधुनिक गीत, गजल, लोकपप तथा पूर्वेली गीतहरू सबै क्षेत्रमा उनको मिठो आवाज सुन्न सकिन्छ यस अर्थ पनि उनलाई एक बहु प्रतिभाशाली, भर्सलटाइल गायक भन्न सकिन्छ, साँच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता छ त्यसैले त उनी भन्छन् “गीत सङ्गीत मेरो प्राण हो, सङ्गीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।”