बुधबार २१ असोज, २०८३

नेपाली समय

फ्लाईदुबई घटनाका भारतीय पाइलट मच्छरको साहसको मोदी र ट्रम्पद्वारा प्रशंसा

फ्लाईदुबई घटनाका भारतीय पाइलट मच्छरको साहसको मोदी र ट्रम्पद्वारा प्रशंसा

मुम्बई/वासिङ्टन, १५ असोज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्लाईदुबईको उडानमा सह–पाइलटको आक्रमणपछि विमानलाई सम्भावित दुर्घटनाबाट जोगाउन साहस देखाउनुभएका भारतीय क्याप्टेन स्मित मच्छरको प्रशंसा गर्नुभएको छ।

दुबईबाट तेल अभितर्फ उडेको फ्लाईदुबईको एफजेड१०७३ उडानमा सह–पाइलटले ककपिटभित्र क्याप्टेन मच्छरमाथि छुरा प्रहार गरेपछि विमान केही हजार फिट तल झरेको थियो। गम्भीर घाइते भए पनि क्याप्टेन मच्छरले ककपिटको नियन्त्रण कायम राख्न तथा ढोका खोल्न सफल हुनुभएको र यात्रु तथा चालक दलका सदस्यले आक्रमणकारीलाई नियन्त्रणमा लिन सहयोग गरेपछि विमान साउदी अरेबियामा सुरक्षित अवतरण गरिएको थियो।

विमानमा रहेका सबै १७४ यात्रु सुरक्षित रहेको एयरलाइन्सले जनाएको छ। सञ्चारमाध्यमका अनुसार तीमध्ये १६६ जना इजरायली नागरिक थिए। घटनाका क्रममा यात्रु यानिव हयुनले पनि ककपिटमा पुगेर आक्रमणकारीलाई पाइलटको सिटबाट हटाउन सहयोग गर्नुभएको बताइएको छ।

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमार्फत गम्भीर रूपमा घाइते भए पनि क्याप्टेन मच्छरले असाधारण साहस र दृढताका साथ यात्रुको जीवन रक्षा गर्नुभएको भन्दै उहाँलाई ‘नायक’ का रूपमा प्रशंसा गर्नुभएको छ। उहाँले क्याप्टेन मच्छरको साहसले ठूलो दुर्घटना रोक्न र सयौँको ज्यान जोगाउन सहयोग पुगेको उल्लेख गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पले पनि घटनाबारे इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुसँग कुराकानी गरेको बताउँदै क्याप्टेन मच्छरको साहसको प्रशंसा गर्नुभएको छ। नेतान्याहुले यसअघि क्याप्टेन मच्छर र यात्रु यानिव हयुनको बहादुरीको प्रशंसा गर्दै घटनामा देखाइएको साहसले ठूलो दुर्घटना टार्न सहयोग पुगेको बताउनुभएको थियो।

भारतीय सञ्चारमाध्यमका अनुसार ३० वर्षीय क्याप्टेन मच्छर मुम्बईका हुनुहुन्छ र उहाँसँग १३ वर्षभन्दा बढीको व्यावसायिक उडान अनुभव छ। उहाँले बोइङ–७३७ विमानमा करिब नौ हजार ७५० घण्टा उडान गरिसक्नुभएको तथा सन् २०२२ देखि फ्लाईदुबईमा कार्यरत रहनुभएको बताइएको छ। यसअघि उहाँले भारतीय एयरलाइन्स स्पाइसजेटमा समेत काम गर्नुभएको थियो।

घटनाको अनुसन्धान भइरहेको जनाउँदै फ्लाईदुबईले इजरायल जाने तथा इजरायलबाट हुने उडान अस्थायी रूपमा स्थगित गर्ने जनाएको छ।