मंगलबार ३० भदौ, २०८३

नेपाली समय

जाने होइन त  जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त  जीवित सङ्ग्रहालय हेर्न ?

(रेणु त्वानाबासु)

ख्वप (भक्तपुर), १६ भदौ । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ भन्नुहुन्छ, भक्तपुर खुल्ला आकाशमुनिको सङ्ग्रहालय हो । कसैले जीवित सङ्ग्रहालय भन्छन् भने कसैले जीवित किताब भक्तपुरलाई । यसबाहेक इतिहासविद् जगदीशशमशेर राणाले भक्तपुरलाई नाचगानको सहर भनेर भन्नुहुन्थ्यो । 

जसले जे भने पनि भक्तपुर कलाकार नै कलाकारको नगर हो । रात्रिकालीन जीवन्त सांस्कृतिक प्रदर्शनी गर्ने गर्ने ठाउँ पनि हो यो । कतिलाई यो कुरा थाहा नहुन सक्छ तर भक्तपुरमा हरेक वर्ष गुन्हिपुुन्ही (जनैपूर्णिमा) को आठ रात नौ दिन यो सबै विषयवस्तु हेर्न सकिन्छ, त्यो पनि बिना शुल्क । गाईजात्राको चौथो दिनदेखि भक्तपुर नगरमा बाटोबाटोमा प्रत्यक्ष सांस्कृतिक कार्यक्रम हुने गर्दछ । यसमा नाच अनुसार बाजगाजा, गीतकार, कलाकारले प्रत्यक्ष प्रस्तुति दिने गर्दछ । यसलाई आधुनिक चल्नचल्ती भाषामा ‘लाइभ कन्सर्ट’ पनि भन्न सकिन्छ ।

यसबेला भक्तपुरमा साँझ विभिन्न खालका नाचहरू हुन्छन् टोलटोलमा । फाकन्दली प्याखं, गाइचा प्याखँ, माक प्याखं, नागाँचा प्याखं, लाखे प्याखं, देवी नाँच, भैरव नाँच, कवांचा प्याखं, लुसिचा प्याख,ं जङ्गली प्याख, खिचा प्याख, ख्या प्याखं, मयुुर प्याख, लुसिचा प्याखं नाँच प्रदर्शन गर्ने प्रचलन रहेको छ । नेपाल भाषामा प्याखं भनेको नाच हो । साथै ख्यालअर्थात् नाटक पनि देखाइन्छ टोलटोलमा । 

विभिन्न समसामयिक विषयमा नेपाल भाषामा ख्याल प्रहसन पनि देखाइन्छ । यी सबै नाचमा परम्परागत पोसाक लगाउने गरिन्छ । यसबेला प्रायः नाचहरुमा मुखमा नाच अनुसारको मुकुण्ड लगाएर नाच्ने गरिन्छ । यसमा पाँच वर्षको बच्चादेखि ७० वर्षको वृद्धसम्मले भाग लिएको हुन्छ । एउटा नाच कम्तीमा पाँचदेखि सात मिनेटको हुने गर्दछ । 

यो टोलटोलबाट प्रदर्शनी गर्न ल्याउने गरिन्छ । यसलाई भक्तपुर नगरभरि टोलटोलमा प्रदर्शनी गर्ने गरिन्छ । त्यसैले एकदिन हेर्न बिर्से पनि भोलिका दिन अर्को टोलमा गएर त्यही नाच हेर्न सक्नुहुन्छ । जुन टोलको नाच हो त्यो नाच दैनिक फरकफरक ठाउँमा देखाउँदै पूरै नगरभरि देखाउनुपर्छ । यही कारण दैनिक एकै ठाउँमा बसेर हेर्ने हो भने गाईजात्राभरिमा सबै नाच हेर्न सकिन्छ । प्रत्येक ठाउँमा दैनिक फरकफरक टोलीले नाच देखाएको हुन्छ ।  

भक्तपुरका स्थानीयबासी बुढापाकाहरुका अनुसार भक्तपुरमा रात्रिकालीन सांस्कृतिक प्रदर्शनी धेरै वर्ष पहिलादेखि नै चल्दै आएको हो । पहिला हरेक टोलटोलमा सांस्कृतिक प्रदर्शनी गरिन्थ्यो । तर अहिले भने टोलटोलमा साथै मञ्च बनाएर भक्तपुरको विभिन्न ठाउँमा देखाइने गरिन्छ । यसबाहेक पनि भक्तपुर नगरका सार्वजनिक पाटीपौवाहरुमा वर्षभरि नै रात्रिकालीन भजन, सांस्कृतिक कार्यक्रम हुने गर्दै आएको छ । 

गत वर्ष भक्तपुरको दत्तात्रय र नासमना र भुलाछेँमा भएको थियो भने यस वर्ष भक्तपुर नगरपालिका–९ सूर्यमढी, वडा नं ६ चोछँे र वडा नं ४ नासमनामा प्रदर्शनी हुने बताइएको छ । भक्तपुर नगरपालिका–७ इनाचोका स्थानीय प्रविना बनमालाले यो गुन्हिपुन्ही (जनैपूर्णिमा) को चौथो दिनदेखि कृष्णअष्टमीसम्म हुने बताउनुभयो । यसपालि भदौ १५ गतेदेखि १९ गतेसम्म हुने उहाँ बताउनुहुन्छ । 

कतिपयले अहिले पनि भक्तपुरमा यसरी रात्रिकालीन सांस्कृतिक प्रदर्शनी हुन्छ भन्ने थाहा नहुने धेरै रहेको उहाँ सुनाउनुहुन्छ । उहाँ थप्नुहुन्छ, “भक्तपुरको गाईजात्रा एकदिन होइन, बरु आठ रात नौ दिन हुने गर्दछ ।” गाईजात्राको प्रमुख दिन यहाँ दिनभरि जात्रा वा नाच हुने भए पनि अन्य दिन भने साँझको समयमा मात्रै हुन्छ । यो सांस्कृतिक कार्यक्रम साँझ ५ बजेदेखि राति १२ बजेसम्म हुने गर्दछ । 

तृतीयाको दिनदेखि भक्तपुरमा रात्रिकालीन सांस्कृतिक मेला लाग्ने गर्छ । भक्तपुर नगरपालिका–९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले यस मेलामा कुनै पनि शुल्क नलाग्ने बताउनुहुन्छ । यो एक ठाउँमा मात्र नभई टोलटोलमा हुने ज्याख्व बताउनुहुन्छ । साथै, एकैदिन पनि ठाउँठाउँमा पनि खुल्ला रूपमा नाच हेर्न सकिने उहाँ बताउनुहुन्छ । सबै दर्शकको सुविधाका लागि नाचहरू डबलीडबलीमा देखाउने गरिन्छ । 

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति भक्तपुरका यस्ता मौलिक नाचहरूलाई नगरपालिकाले जगेर्ना गर्दै आएको बताउनुहुन्छ । यही कारण नाचहरूलाई जीवन्त बनाउन उत्कृष्ट नाचहरूलाई नगरपालिकाले नगदसहित पुरस्कृत गर्दै आएको उहाँ सुनाउनुहुन्छ । 

सांस्कृतिक परम्परालाई जोगाउन भन्दै २०७४ सालदेखि भक्तपुर नगरपालिकाले धे धे बाला कासा (सांस्कृतिक प्रतियोगिता) गर्दै आएको जानकारी उहाँले गराउनुभयो । यसका लागि नगरका ठाउँठाउँमा मञ्च राखेर नाच देखाउने र त्यसको मूल्याङ्कन गर्ने उहाँ सुनाउनुहुन्छ । पछि विश्व पर्यटन दिवसको अवसरमा उहाँहरूलाई नगदसहित सम्मान तथा पुरस्कार वितरण गर्दै आएको उहाँले बताउनुभयो ।