भोजपुर, १५ भाद्र । खोटाङमा कार्यरत शिक्षक भानुभक्त राईको कुटपिटबाट मृत्यु भएको घटनामा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय भोजपुरले ११ जनालाई नियन्त्रणमा लिएको छ ।
खोटाङको केपिलासगढी गाउँपालिका वडा नम्बर ७, सुङदेल स्थित सुर्य माध्यमिक विद्यालयमा राहत कोटामा कार्यरत शिक्षक भानुभक्त राईको कुटपिट र ढुङ्गा प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
भोजपुरको साल्पासिलिछो गाउँपालिका वडा नम्बर ५, दोभाने माबुस्थित भदौरे मेला घुम्न आएका ३९ वर्षीय राईको भदौ ११ गते राती पौने १२ बजेतिर पुरानो विवादमा स्थानीयको कुटपिट र ढुङ्गा प्रहारबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर खडकाले जानकारी दिनुभयो । उहाँले कुटपिटमा संलग्न भएको ११ जना शंकित व्यक्तिलाई घट्नापछि खोजतलास गरी पक्राउ गरी १४ भदौमा भोजपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालिएको बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालयमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए अनुसार पक्राउ पर्नेमा एकै गाउँ केपिलासगढी गाउँपालिका-७ सुङदेलका २१ वर्षीय प्रवेश भन्ने सागर कोयी राई, मौली भन्ने २१ वर्षीय प्रतिक राई, माइकल भन्ने २५ वर्षीय निशान राई, २३ वर्षीय सुशिल राई, शेर बहादुर भन्ने ३२ वर्षीय अमर राई, उमेश भन्ने ३० वर्षीय उमेश दुमी राई, ३५ वर्षीया तारादेबी राई, ४८ वर्षीया सुमिता राई, ४३ वर्षीया तेज कुमारी राई, १९ वर्षीया देबिका राई, २० वर्षीया चन्द्रकला राई छन ।