काठमाडौँ, १० भदौ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषिसम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताउनुभएको छ ।
कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे मङ्गलबार आयोजित छलफलमा उहाँले कृषि क्षेत्रमा आधारभूत विषयलाई सरल र किसानमैत्री ढङ्गले बुझाउन आवश्यक रहेको बताउनुभएको हो ।
“कृषि पढेका युवालाई बैंक तथा वित्तीय संस्थामा रोजगारीका अवसर उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसले कृषि क्षेत्रका जनशक्तिलाई रोजगारीसँग जोड्नुका साथै बैंकबाट कृषि कर्जा प्रवाह गर्दा कृषि क्षेत्रको वास्तविक आवश्यकता र परियोजनाको मूल्याङ्कन गर्न सहज हुने भएकाले कृषि कर्जा प्रवाहलाई थप प्रभावकारी र व्यवस्थित बनाउन सहयोग पुग्छ ।”
उहाँले कृषि फार्म दर्ता, कर्जा प्राप्ति तथा सहुलियतपूर्ण कर्जाको प्रक्रियामा वास्तविक किसानले सहज रूपमा लाभ लिन नसकेको गुनासो आउने गरेको भन्दै आगामी नीतिमा यस्ता समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।