काठमाडौँ, १ साउन । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले राष्ट्रिय युवा परिषद्को वार्षिक कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ ।
परिषद्को २०औँ बैठकलाई आज सम्बोधन गर्दै मन्त्री यादवले कार्यक्रमहरूलाई औपचारिकतामा मात्र सीमित नराखी नतिजामुखी बनाउन जोड दिनुभयो । उहाँले भन्नुभयो, “परिषद्का वार्षिक कार्यक्रमको स्पष्ट मोडालिटी विकास गरी, त्यसले समाजमा पार्ने प्रभाव देखिनेगरी पेस गर्नुहोस् । प्रभावकारी मोडालिटी तयार भएपछि मात्र कार्यक्रमहरूलाई गति दिइनेछ ।”
वार्षिक कार्यक्रमहरू कार्यान्वयनका लागि नयाँ मोडालिटी विकास गर्ने, कार्यक्रम सञ्चालन गर्दा त्यसको वास्तविक प्रतिफल र प्रभाव देखिने गरी काम गर्ने निर्णय बैठकले गरेको छ । बैठकमा उद्योग, अर्थ, कृषि तथा वन, स्वास्थ्य, शिक्षा र श्रम मन्त्रालयका सचिव तथा सहसचिवहरूका साथै योजना आयोगका सचिवको समेत उपस्थिति रहेको थियो ।