काठमाडौँ, १ साउन । प्रतिनिधिसभाको अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा ‘अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ का विषयमा विज्ञसहित छलफल भएको छ ।
समितिको आजको बैठकमा काठमाडौँ विश्वविद्यालयका प्राडा नीलकमल चापागाईं, संस्कृति तथा सम्पदा विज्ञ डा सोम धिमाल, सम्पदा विज्ञ एवं अधिवक्ता भीम नेपाल, संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) नेपालका देशीय प्रतिनिधि जाको दु तोइटलगायतले विधेयकका विषयमा आवश्यक सुझाव दिनुभयो ।
बैठकमा सांसदहरू जगदीश खरेल (ललितपुर), बोधनारायण श्रेष्ठ, धनञ्जय रेग्मी, गणेशबहादुर विक, अङ्किता ठाकुर, गङ्गा छन्त्याल, अनुष्का श्रेष्ठ, गणेश कार्की, सन्दीप राना तथा विधेयकमा संशोधन दर्ता गराउनुभएका सांसदद्वय प्रमिला गच्छदार र परशुराम तामाङलगायतले विधेयकमा राखिएको शब्द ‘अभौतिक’ उपयुक्त कि ‘अमूर्त’ ?, अभौतिक सांस्कृतिक सम्पदाको डिजिटल अभिलेख, पहिचान, संरक्षण र प्रवर्द्धन, क्षमता विकास, आर्थिक व्यवस्थापन, पुस्तान्तरण, हस्तान्तरणलगायत सम्बन्धित समुदायको सरोकार भएका विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो ।
बैठकले सांसद अनुष्का श्रेष्ठको संयोजकत्वमा अभौतिक सांस्कृतिक सम्पदा विधेयकका सम्बन्धमा उपसमिति गठन गरेको छ । समितिका बाँकी सदस्य छनोट गर्न बाँकी रहेको सचिव निर्मलादेवी लामिछानेले राससलाई जानकारी दिनुभयो ।