काठमाडौं, ३० असार । काठमाडौँको थापाथली, शान्तिनगर, गैरीगाउँलगायतका क्षेत्रबाट विस्थापित भई हाल होल्डिङ सेन्टरमा बसिरहेका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारका प्रतिनिधिहरू सहित अधिकार कर्मीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा पुगेर मानवअधिकार संरक्षणसम्बन्धी अपिलपत्र बुझाएका छन्।
लामो समयदेखि सुकुम्वासी भूमिहीन समुदायको अधिकार कर्मी दल मर्दन कामीको नेतृत्वमा झवरलाल उराँव, कल्पना थापा, पर्मिला राई , निरकुमार मगर, रामकुमारी राई, कमला उराँव र गोपाल माझी,सुशीला लगायतको उपस्थितिमा प्रतिनिधिहरूले आयोगका अध्यक्ष तपबहादुर मगरलाई अपिलपत्र बुझाउँदै होल्डिङ सेन्टरमा रहेको दयनीय अवस्था, राहत वितरणमा विभेद, सम्मानजनक बसोबासको अभाव तथा संविधानप्रदत्त आवास अधिकार र मानवअधिकार संरक्षणका लागि तत्काल पहल गर्न आग्रह गरेको छ।
अपिलपत्रमा वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काइ विस्थापित बनाइएको, कीर्तिपुरस्थित राधास्वामी सत्संग होल्डिङ सेन्टरबाट बाढीका कारण पुन भक्तपुरस्थित तालीम केन्द्र बोडेमा होल्डिङ सेन्टर बनाई सारिए पनि सो स्थानमा आधारभूत सेवाको अभावमा कष्टकर जीवन बिताउन बाध्य भएको उल्लेख गरिएको छ।
पीडितहरूको अपिलपत्र बुझ्दै आयोगका अध्यक्ष तपबहादुर मगरले प्राप्त निवेदनका आधारमा थप अध्ययन गरी सम्बन्धित निकायलाई आवश्यक सुझाव तथा सिफारिस गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको प्रतिनिधिमण्डलका संयोजक दल मर्दन कामीले जानकारी दिएका छ्न् ।