शनिबार ३० साउन, २०८३

नेपाली समय

त्रिवि पुस्तकालय तथा सूचना विज्ञान विभागको ३१ औँ वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरू सम्मानित;  पुस्तक र जर्नल एकसाथ विमोचन

त्रिवि पुस्तकालय तथा सूचना विज्ञान विभागको ३१ औँ वार्षिकोत्सव कार्यक्रममा विद्यार्थीहरू सम्मानित;  पुस्तक र जर्नल एकसाथ विमोचन

कीर्तिपुर, २० असार । त्रिवि पुस्तकालय तथा सूचना विज्ञान विभागको ३१ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रमुख अतिथि एवम् मानविकी तथा सामाजिकशास्त्र संकायका डीन प्रा.डा. दुबिनन्द ढकालले आफ्नो वार्षिकोत्सव मनाउने पहिलो विभाग भएको र विभागबाट जर्नल प्रकाशनको शुरूवात हुनु, अग्रजबाट पुस्तक प्रकाशन गरी विभागमा ल्याएर विमोचन हुनु, उत्कृष्ट पुस्तकालयकर्मीको सम्मान गर्नु, उत्कृष्ट नतीजा ल्याउने विद्यार्थीहरूको सम्मान हुनु सबैका लागि अनुकरणीय असल अभ्यास भएको बताउनु भयो । मानविकी सङ्काय अन्तरगत २६ वटा विभागहरू रहेको चर्चा गर्नुहुँदै उहाँले अरू विभागहरूले पनि यस्ता सकारात्मक कार्यहरू सिक्न सक्ने बताउनु भयो ।

डीन ढकालले पूर्व विद्यार्थीहरूको समेत साथ र सहयोग लिएर शैक्षिक यात्रामा राम्रा कामहरूलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिन सुझाव दिनुभयो । विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल एवम् कार्यक्रमका विशेष अतिथि प्रा.डा. अक्कलदेव मिश्रले अहिलेको युग डिजिटल भए पनि डिजिटल माध्यममा नपाएका विषयवस्तु भौतिक पुस्तकालयमा पाइने हुँदा दुवै खालको पुस्तकालयको आवश्यकता र महत्त्व बराबरी हुने बताउनु भयो । कुनै पनि देशको मूल्याङ्कनको आधारमध्ये एक पुस्तकालय पनि रहेको उल्लेख गर्नुहुँदै उहाँले एकैपटक द्रुत परिवर्तन सम्भव नभए पनि बिस्तारै सबै विभागहरूलाई समयसापेक्ष पूर्वाधारयुक्त बनाउँदै लैजानुपर्ने आवश्यकता औँल्याउनु भयो ।

त्रिविको पुस्तकालय लगायत विभागहरूको भौतिक अवस्थाप्रति आफु पनि सन्तुष्ट नरहेको बताउँदै उहाँले पुस्तकालय तथा सूचना विज्ञान विभागको ख्याती, प्रख्याती अरू विभागहरू भन्दा उत्कृष्ट रहेको आफूले पाएको बताउनु भयो । विदेशमा विश्वविद्यालयभित्र उत्कृष्ट आधुनिक पुस्तकालयहरू रहेको बताउनु हुँदै उहाँले हाम्रो देशमा पुस्तकालयहरूलाई व्यवस्थित गर्न अझ धेरै काम बाँकी रहेको बताउनु भयो ।

पुस्तकालयको क्षेत्रमा काम गर्ने जनशक्ति उत्पादन गर्दै आएको विभागमा प्राध्यापकहरूको वृत्ति विकासको काम पनि निरन्तर भइरहेको पाउँदा खुशी लागेको उल्लेख गर्नुहुँदै उहाँले त्यसको शैक्षिक रिफ्लेक्सन कक्षा कोठामा हुनुपर्ने सुझाव दिनुभयो । विभागले सबल र दुर्बल पक्ष पहिचान गरेर सन्तुलित विकासमा ध्यान दिन अनुरोध गर्दै त्यसको लागि प्रिन्सिपल कार्यालयले गर्नुपर्ने सहयोग गर्न तयार रहेको प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । त्रिवि केन्द्रीय पुस्तकालयका प्रमुख सागरराज सुवेदीले पुस्तकालय र विश्वविद्यालयबीच अन्योन्याश्रित सम्बन्ध रहने उल्लेख गर्नुहुँदै विभागको मुख्य काम पुस्तकालयसम्बन्धी दक्ष जनशक्ति उत्पादन रहेकोले त्यसमा विभागको ठुलो योगदान रहेको बताउनु भयो ।

नेपालको इतिहासमै पुस्तकालयकर्मी शान्ति मिश्रको नाममा हुलाक टिकट जारी भएकोमा खुशी व्यक्त गर्दै उहाँले जस्तोसुकै परिस्थितिमा पनि अग्रजहरूको प्रेरणा लिएर विभाग अगाडि बढ्नु पर्ने सुझाव दिनुभयो । उहाँले विभाग र पुस्तकालयबीच मन र मुटुको जस्तो सम्बन्ध जोडिएकोले सहकार्य र हातेमालो गर्न पुस्तकालय सधैँ तत्पर रहेको पनि उहाँले बताउनु भयो । नेपाल पुस्तकालय सङ्घका अध्यक्ष पुष्पराज सुवेदीले जुन देशमा पुस्तकालय बढी छन्, त्यो देश विकसित मानिने उल्लेख गर्दै पुस्तकालयको संरक्षण र पुस्तकालय पेशाकर्मीको पहिचानका लागि अलग्गै पुस्तकालय ऐन निर्माणमा राज्यलाई आग्रह गर्नुभयो ।

भृकुटी मण्डपमा रहेको नेपाल पुस्तकालय बन्द भएको तीन महिना भइसक्दा र प्रधानमन्त्री देखि साँसदसम्मलाई जानकारी गराउँदा पनि पुस्तकालय खोल्नतर्फ कसैको चासो नरहेको गुनासो गर्नुहुँदै उहाँले सरकारी, सामुदायिक वा नीजि सबैखाले पुस्तकालयका समस्याहरू समाधान गर्न बलियो नीति बनाउनु पर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा विभागले प्रकाशन गरेको जर्नल विमोचन गरिएको थियो । त्यस्तै सहप्राध्यापक रुद्रप्रसाद दुलालले लेख्नु भएको कक्षा ११ र १२ को पाठ्यक्रममा आधारित पुस्तक समेत विमोचन गरिएको थियो । कार्यक्रममा उपप्राध्यापक पार्वती पाण्डेले पिएचडी देखि लेखनसम्म शीर्षकमा आफ्नो पिएचडी अध्ययनको अनुभव प्रस्तुतीकरण गर्नुभएको थियो भने विभागीय प्रमुख लिला न्याँईंच्याईंले विभागको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

यसैगरी विभागमा सन् २०१५ देखि स्नातकोत्तर तहमा सर्वोत्कृष्ट अङ्क ल्याई प्रथम हुने विद्यार्थीहरूलाई गोल्ड मेडल र सम्मान पत्र प्रदान गरिएको थियो । त्यस्तै नविन रायमाझी संयोजकत्वको उत्कृष्ट विद्यार्थी अवार्ड छनौट समितिको सिफारिसमा पूर्व विद्यार्थीहरूमध्ये पेशागत रूपले उत्कृष्ट मूल्याङ्कन गरी सिफारिस हुनु भएका लुम्बिनी वाणिज्य क्याम्पसका पुस्तकालयकर्मी शिवराज अधिकारीलाई उत्कृष्ट वर्ष पुस्तकालयकर्मीको सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा पुस्तकका लेखक रुद्रप्रसाद दुलालले आफ्नो विद्यार्थीहरूले वृत्ति विकास गरी पिएचडी उपाधि हासिल गरेको थाहा पाउँदा अत्यन्त खुशी लागेको बताउनु हुँदै सरकारले पुस्तकालयप्रति हेर्ने दृष्टिकोण बदल्नुपर्ने बताउनु भयो । विभागले आफ्नो किताबको अपनत्व लिई विमोचनको व्यवस्था मिलाई दिएकोमा गौरवान्वित भएको बताउनु हुँदै उहाँले आफूले भौतिक रूपमा धेरै समय सेवा गर्न उमेरले नदिने भएकोले कृतिमार्फत विद्यार्थीहरूलाई ज्ञान बाँड्न योगदान गर्न चाहेको बताउनु भयो ।

कार्यक्रमको सञ्चालन उपप्राध्यापक सरिता गौतमले गर्नुभएको थियो भने स्वागत मन्तव्य उपप्राध्यापक निरा मानान्धरले गर्नुभएको थियो । कार्यक्रममा विभागका विद्यार्थी, पूर्व विद्यार्थी तथा अतिथिहरूको सहभागिता रहेको थियो ।