सोमबार ०४ साउन, २०८३

नेपाली समय

राससकर्मी राउतलाई लहान नगरको सम्मान

राससकर्मी राउतलाई लहान नगरको सम्मान

लहान, ९ असार । राष्ट्रिय समाचार समिति (रासस) का संवाददाता सुदिप राउतलाई लहान नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाको १८औँ नगरसभाको अवसरमा आज आयोजित कार्यक्रममा राउतलाई सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको हो । लहानका संस्थापक नगरअध्यक्ष एवं पूर्व नगरप्रमुख लगनलाल चौधरी र नगरप्रमुख महेशप्रसाद चौधरीले उहाँलाई सम्मान गर्नुभएको हो ।

राससमा आबद्ध राउतले करिब चार वर्षसम्म सिरहास्थित लहान कार्यालय प्रमुखका रूपमा कार्य गर्दै आउनुभएको थियो । जिल्लाका राजनीतिक, सामाजिक, आर्थिक तथा विकाससम्बन्धी गतिविधिलाई राष्ट्रिय स्तरमा समाचार प्रवाह गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । हाल उहाँ राससको भद्रपुर कार्यालयमा कार्यरत हुनुहुन्छ ।

विसं २०४८ सालमा तत्कालीन नगरप्रमुख लगनलाल चौधरीको कार्यकालमा लहान–४ स्थित नगरपालिका स्वामित्वको एक कठ्ठा सात धुर जग्गा राससलाई उपलब्ध गराइएको थियो । त्यही  राससको कार्यालय स्थापना भई लामो समयदेखि समाचार सेवा प्रवाह हुँदै आएको छ ।

यसैबीच नगरसभाले आर्थिक वर्ष २०८३/८४ का लागि रु एक अर्ब ३९ करोड ७५ लाखको बजेट प्रस्तुत गरेको छ । प्रस्तुत बजेटमध्ये चालुतर्फ रु ७९ करोड २३ लाख र पुँजीगततर्फ रु ६० करोड ५२ लाख १० हजार विनियोजन गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले जानकारी दिनुभयो । नगरपालिकाका अनुसार आगामी आर्थिक वर्षको बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको छ ।