टक्सार (भोजपुर), २४ जेठ । भोजपुरको रामप्रसादराई गाउँपालिकाले शिक्षक र उत्कृष्ट विद्यार्थीलाई सम्मान गरेको छ । पालिकाले १० जना शिक्षक शिक्षिकालाई सम्मान र कक्षा आठमा उत्कृष्ट हुने दुई विद्यार्थीलाई आइतबार पुरस्कृत गरेको हो ।

पालिका भित्रका इसिडी देखि माध्यमिक तह सम्मका १० उत्कृष्ट शिक्षक शिक्षिका सम्मान गर्दै प्रोत्साहन गरेको छ । पालिकाले इसिडी तर्फ समिस्मा राई, प्राथमिक तह तर्फ सुरेश राई, विज्ञान राई, शान्तिराम बस्नेत, आनन्द भुजेललाई सम्मान गरेको हो । यस्तै पालिकाले निम्न माध्यमिक तह तर्फ धिरज राई र माध्यमिक तर्फ चन्द्र लिम्बु, सुमन उप्रेती, आशिस पाण्डे र नुमादेवी काफ्लेलाई उत्कृष्ट शिक्षकमा सम्मान गरेको हो ।
पालिका भित्रका विद्यालयहरूमा शैक्षिक गुणस्तर सुधार गर्ने उद्देश्यका साथ सम्मान गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । उहाँले भन्नुभयो, “ पालिका भित्रको शैक्षिक सुधारमा हामी लागि परेका छौ, शिक्षा र स्वास्थ्य हाम्रो प्राथमिकतामा छ, यसलाई निरन्तरता दिन्छौ ।” पालिका अध्यक्ष राईले कक्षा आठको परीक्षामा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई नगद सहित प्रमाणपत्र र १० जना शिक्षक शिक्षिकालाई सम्मानपत्र प्रदान गर्नुभयो ।
पालिकाले यस अगाडी पालिकाबाट एसइई परीक्षामा उत्कृष्ट हुने एक छात्र र एक छात्रालाई ल्यापटप सहित सम्मान गरी सकेको छ । पालिकाले शैक्षिक स्वेतपत्र जारी गरेको छ भने भोजपुर बहुमुखी क्याम्पसमा उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई वार्षिक छात्रवृत्ति समेत प्रदान गर्दे आई रहेको छ ।