सोमबार ०४ साउन, २०८३

नेपाली समय

भोजपुर रास्वपामा निर्वाचन, सभापतिमा ख्याम निर्वाचित

भोजपुर रास्वपामा निर्वाचन, सभापतिमा ख्याम निर्वाचित

भोजपुर, २४ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भोजपुरको प्रथम जिल्ला अधिवेशन अन्तर्गत निर्वाचनबाट पदाधिकारी टुंग्याइएको छ । जिल्ला कार्यसमितिका लागि निर्वाचन गरेर पदाधिकारी चयन गरिएको हो ।

सभापतिमा ख्याम बहादुर भुजेल ७३ मत ल्याएर बिजयी बन्नुभयो भने निवर्तमान सभापति ईश्वर कार्कीले २८ मत प्राप्त गर्नु भएको थियो । अन्य पदाधिकारीहरू पनि निर्वाचन मार्फत नै चयन गरिएको भोजपुर नगर सभापति गणेश तामाङले जानकारी दिनुभयो । उपसभापतिमा समिता आचार्य, सचिव देवराज पाण्डे क्षेत्री, सहसचिव अनिल बस्नेत र कोषाध्यक्षमा चन्द्र कुमार श्रेष्ठ बिजयी हुनुभएको छ ।

यस्तै सदस्यहरूमा मनोज अधिकारी र सितादेवी ढुङ्गाना कार्की निर्वाचित हुनुभयो । निर्वाचन क्षेत्र नम्बर (क) उपसंयोजकमा राजन प्रसाद ढकाल र (ख) तर्फ उपेन्द्र कटवाल चयन हुनु भएको छ । नयाँ जिल्ला कार्यसमिति चयनका लागि जिल्ला अधिवेशन निर्वाचन कार्यबिधि–२०८३ अनुसार निरज कटुवालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिति बनेको थियो ।

अधिवेशनमा पालिकाबाट छनौट भएर आउने प्रतिनिधि तथा जिल्ला स्थित नेता कार्यकर्ताको सहभागिता रहेको छ । रास्वपाको कोशी प्रदेशका भोजपुर, संखुवासभा, तेह्रथुम, मोरङ, सुनसरी, झापा, ताप्लेजुङ, ओखलढुंगा सहित ३६ जिल्लामा शनिवार जिल्ला अधिवेशन सुरु भएको हो ।