सोमबार ०४ साउन, २०८३

नेपाली समय

विचार: विद्यालय तहमा स्थानीय पाठ्यक्रमको आवश्यकता र चुनौती

विचार: विद्यालय तहमा स्थानीय पाठ्यक्रमको आवश्यकता र चुनौती

नेपाल भौगोलिक रूपमा सानो भए तापनि यहाँ जातजाति, भाषा, धर्म, आदिवासी मौलिक परम्परा र संस्कृतिको अत्यन्त ठूलो विविधता पाइन्छ। यही विविधताका कारण नेपाल आफ्नै मौलिक पहिचान बोकेको राष्ट्रका रूपमा विकसित भएको छ। नेपालको शैक्षिक इतिहास त्यति लामो नभए पनि प्राचीन कालदेखि नै ज्ञान आर्जन गर्ने परम्परा रहँदै आएको पाइन्छ।

आजको एक्काइसौँ शताब्दी विज्ञान, प्रविधि र सूचनाको युग हो। यस्तो अवस्थामा हाम्रो देशको शिक्षा र पाठ्यक्रममा अवसरसँगै विभिन्न चुनौतीहरू पनि थपिएका छन्। त्यसैले शिक्षालाई समयानुकूल, व्यवहारिक, वैज्ञानिक तथा जीवनोपयोगी बनाउनु आजको प्रमुख आवश्यकता बनेको छ। यही उद्देश्यलाई आत्मसात् गर्दै नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र तथा स्थानीय तहहरूले स्थानीय पाठ्यक्रमको विकास र कार्यान्वयनमा विशेष जोड दिइरहेका छन्।

विद्यालय शिक्षालाई वस्तुगत, व्यवहारिक तथा जीवनोपयोगी बनाउन स्थानीय पाठ्यक्रमको महत्त्वपूर्ण भूमिका रहेको छ। यसले विद्यार्थीलाई आफ्नो स्थानीय परिवेश, संस्कृति, परम्परा, भाषा, रहनसहन र जीवनशैलीसँग प्रत्यक्ष रूपमा जोड्ने काम गर्छ। बालबालिकाले आफ्नो समाज, समुदाय र वातावरणलाई नजिकबाट बुझ्ने अवसर प्राप्त गर्छन्।

स्थानीय पाठ्यक्रम निर्माण आफैँमा चुनौतीपूर्ण तथा जिम्मेवारीपूर्ण कार्य हो। यसअन्तर्गत स्थानीय परम्परा, धर्म, संस्कृति, जनजीविका, मौलिक ज्ञान, सीप तथा प्रविधिको पहिचान, संरक्षण र प्रवर्द्धन गर्नु आवश्यक हुन्छ। साथै स्थानीय उत्पादन तथा स्थानीय महत्त्व बोकेका विषयवस्तुहरूलाई पनि समेट्नुपर्ने हुन्छ।

स्थानीय पाठ्यक्रम आधारभूत तह (कक्षा १ देखि ८ सम्म) मा पठनपाठन गर्ने व्यवस्था गरिएको छ। विद्यालय तथा शिक्षकहरूलाई पाठ्यक्रम विकास र कार्यान्वयनमा सहयोग पुर्‍याउन “कक्षा १–३ को पाठ्यक्रम २०७६”, “स्थानीय पाठ्यक्रम प्रारूप २०७१” तथा “स्थानीय पाठ्यक्रम विकास तथा कार्यान्वयन मार्गदर्शन २०७६” जस्ता महत्त्वपूर्ण नीतिगत दस्ताबेजहरू तयार गरिएका छन्। यसका साथै केन्द्र सरकारबाट आवश्यक जनशक्ति, आर्थिक तथा प्राविधिक सहयोग पनि उपलब्ध गराइँदै आएको छ।

यद्यपि स्थानीय पाठ्यक्रम कार्यान्वयनका क्रममा विभिन्न चुनौतीहरू देखिएका छन्। स्थानीय पाठ्यक्रमसँग सम्बन्धित स्रोत सामग्रीहरूको अभाव, विषयवस्तु छनोटमा अन्योल, दक्ष जनशक्तिको कमी तथा व्यवहारिक कार्यान्वयनमा कठिनाइ प्रमुख चुनौतीका रूपमा रहेका छन्। सङ्घीय प्रणाली लागू भएपछि केही स्थानीय तहहरूले आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गर्ने प्रयास गरेका छन्, तर अझै पनि निर्माण र कार्यान्वयन दुवै पक्षमा समस्या देखिन्छ।

हाल केही स्थानीय तहहरूले पाठ्यक्रम विकास केन्द्रको मार्गदर्शन अनुसार आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरी विद्यालयहरूमा कार्यान्वयन गरिरहेका छन्। तर केही विद्यालय तथा पालिकाहरूले स्थानीय पाठ्यक्रमको नाममा कम्प्युटर शिक्षा वा अंग्रेजी शिक्षा जस्ता विषयहरू अध्यापन गराइरहेका उदाहरण पनि भेटिन्छन्, जुन स्थानीय पाठ्यक्रमको मूल उद्देश्यअनुकूल मानिँदैन। आवश्यक जनशक्ति र स्रोत–साधन उपलब्ध भएमा स्थानीय भाषा शिक्षण गराउन सकिन्छ, तर अन्य विषयलाई स्थानीय पाठ्यक्रमको विकल्पका रूपमा प्रयोग गर्दा यसको वास्तविक उद्देश्य पूरा हुन सक्दैन।

स्थानीय पाठ्यक्रम एउटा नवीन तथा व्यवहारिक अवधारणा हो, जसले आधारभूत तहका बालबालिकालाई आफ्नो परिवेश, रहनसहन, जातीय पहिचान, कला र संस्कृतिसँग नजिक बनाउँछ। यसले स्थानीय ज्ञान र केन्द्रीय पाठ्यक्रमबीचको दूरी घटाउन मद्दत गर्छ। त्यसैले स्थानीय र केन्द्रीय पाठ्यक्रम एक–आपसमा सम्बन्धित तथा पूरक रहेका हुन्छन्। केन्द्रीय पाठ्यक्रमले समेट्न नसकेका ग्रामीण तथा दुर्गम क्षेत्रका महत्त्वपूर्ण विषयवस्तुहरूलाई स्थानीय पाठ्यक्रमले समेट्न सक्ने भएकाले यो अत्यन्त उपयोगी अवधारणा हो।

स्थानीय विविधता, आवश्यकता र मौलिकतालाई ध्यानमा राख्दै पाठ्यक्रम निर्माण गर्नुपर्छ। स्थानीय कला, संस्कृति, लोकगीत, नृत्य, मौलिक उत्पादन, खानपान, रहनसहन, धार्मिक तथा प्राकृतिक स्रोतहरू यसका प्रमुख विषयवस्तु हुन सक्छन्।

त्यसैगरी जातीय संस्कारहरू-जन्म, विवाह तथा मृत्यु संस्कार-सम्बन्धी सामान्य जानकारी पनि समेट्न सकिन्छ। पहिरन अन्तर्गत महिला तथा पुरुषका दौरा–सुरुवाल, साडी, धोती, पटुका तथा पेन्टजस्ता विषयलाई पनि समावेश गर्न सकिन्छ।

चाडपर्व, धार्मिक स्थल, लोकबाजा, सङ्गीत, पर्यटन, धर्म, फलफूल, तरकारी, मसला बाली, अन्नबाली, पेय पदार्थ, पशुपन्छी तथा तेलबालीजस्ता विषयवस्तुहरू पनि स्थानीय पाठ्यक्रमका महत्त्वपूर्ण अंश हुन्।

त्यसैगरी परम्परागत प्रविधिहरू जस्तै ढिकी, जाँतो, घट्ट, पानीमिल, कुलो, हलो, आरन, माटाका भाँडा बनाउने सीप, ढुङ्गा कुँद्ने तथा काठको काम, साथै स्थानीय साना उद्योगहरूको ज्ञान पनि समेट्न सकिन्छ। नेपालका वनजंगलमा पाइने महत्त्वपूर्ण जडिबुटीहरूको परिचय, तिनको सही उपयोग तथा मानव स्वास्थ्यमा पर्ने सकारात्मक प्रभावबारे पनि अध्ययन गराउनु आवश्यक छ।

स्थानीय तहभित्र रहेका विद्यालय, स्वास्थ्य चौकी, सुरक्षा निकाय, महिला सञ्जाल, युवा सञ्जाल, क्लब तथा सामाजिक–परोपकारी संस्थाहरूको कार्यसम्बन्धी जानकारी पनि पाठ्यक्रममा समेटिनुपर्छ। यसले विद्यार्थीलाई आफ्नो समाज र सामाजिक संरचनाबारे आधारभूत जानकारी प्रदान गर्नुका साथै भविष्यमा उच्च अध्ययन गर्न पनि सहयोग पुर्‍याउँछ।

त्यसैगरी बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि योग शिक्षा पनि अत्यन्त महत्त्वपूर्ण छ। योग, आसन, प्राणायाम तथा ध्यानजस्ता अभ्यासहरूले विद्यार्थीमा सहनशीलता, धैर्यता, अनुशासन र एकाग्रता विकास गर्छन्। योगले शरीरमा ऊर्जा प्रदान गर्नुका साथै सिकाइ क्षमतामा सकारात्मक प्रभाव पार्छ।

निष्कर्ष

निष्कर्षमा भन्नुपर्दा, स्थानीय पाठ्यक्रम हाम्रो जस्तो बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक देशका लागि अत्यन्त महत्त्वपूर्ण छ। बालबालिकालाई सानै उमेरदेखि आफ्नो स्थानीय परिवेश, संस्कृति र पहिचानसँग परिचित गराउनु आवश्यक छ।

स्थानीय कला, संस्कृति तथा मौलिक परम्पराको संरक्षण, प्रवर्द्धन र विकास गर्नु स्थानीय पाठ्यक्रमको मुख्य उद्देश्य हो। साथै स्थानीय विषयवस्तुलाई केन्द्रीय तथा अन्तर्राष्ट्रिय विषयवस्तुसँग समन्वय गर्दै लैजानु पनि आवश्यक हुन्छ।

पाठ्यक्रम निर्माण गर्दा अन्य पालिकाका विषयवस्तुको नक्कल गर्नु त्रुटिपूर्ण कार्य हो, किनभने यसले स्थानीय आवश्यकता र वास्तविकतालाई पूर्ण रूपमा समेट्न सक्दैन। त्यसैले आफ्नै पालिकाको आवश्यकता अनुसार स्थानीय बुद्धिजीवी, व्यवसायी, अभिभावक, विद्यार्थी, कृषक, शिक्षा प्रेमी तथा सम्बन्धित सरोकारवालाहरूको सहकार्यमा पाठ्यक्रम निर्माण गर्नुपर्छ।

व्यापक छलफल, विचार आदानप्रदान, कार्यशाला तथा गोष्ठीमार्फत अन्तिम रूप दिइएको पाठ्यक्रम प्रभावकारी र व्यवहारिक हुन्छ। यसरी निर्माण गरिएको स्थानीय पाठ्यक्रमले “यो हाम्रो हो, हामी हाम्रै लागि बनाएका हौँ” भन्ने अपनत्वको भावना सिर्जना गर्छ र शिक्षालाई अझ जीवनोपयोगी, व्यवहारिक तथा प्रभावकारी बनाउन मद्दत पुर्‍याउँछ।

तिर्थराज पौडेल (नबराज)

    (शिक्षक)

लालबन्दी–५, सर्लाही