सोमबार २५ जेठ, २०८३

नेपाली समय

भोजपुर टुँडिखेलमा सेनाको संयोजनमा ‘अभ्यास मनसुन–६’ प्रदर्शन

भोजपुर टुँडिखेलमा सेनाको संयोजनमा ‘अभ्यास मनसुन–६’ प्रदर्शन

भोजपुर, १५ जेठ । भोजपुर नगरपालिका वडा नम्बर ७ को स्थानीय टुँडिखेलमा रहेको नमुना बस्तीमा शुक्रवार बिहान आगलागी भयो । विद्युत् सर्ट भएर भएको आगलागीबाट घरहरू नष्ट भए ।

आगलागीको खबर पाउन साथ तत्काल आएको नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र दमकलले आगो नियन्त्रणमा लिँदै घाइतेहरूलाई उपचारका लागि स्वास्थ्य संस्था पुर्‍यायो । 

यो घटना वास्तविक नभए पनि हुन सक्ने जोखिममा कसरी सावधानी अपनाउने र उद्धार खोज सहित घाइतेहरूको उपचार गर्ने भन्ने विषयमा सचेतना फैलाउन सुरक्षाकर्मीले संयुक्तरुपमा गरेको कृत्रिम अभ्यास थियो । सेनाको नयाँ श्रीनाथ गणले जिल्ला विपद् व्यवस्थापन समितिसँगको सहकार्यमा अन्य सुरक्षा निकायलाई समेत सहभागी बनाएर आगलागीको अवस्था, नियन्त्रण र उद्धारका विषयमा सचेतना बढाएको हो । 

मनसुनको समयमा हुन सक्ने बाढी, पहिरो, आगलागी तथा डुबानजस्ता प्राकृतिक विपद्को जोखिमलाई मध्यनजर गर्दै भोजपुरमा विपद् प्रतिकार्य योजना अन्तर्गत नमुना अभ्यास गरिएको नेपाली सेनाको नयाँ श्रीनाथ गण भोजपुरका सेनानी महेश ज्ञवालीले जानकारी दिनुभयो । उहाँले नगरपालिका वडा नम्बर ५ को जोखिममा पनि बर्षातका कारण हराएकाहरूको खोजी तथा उद्धारका विषयमा नमुना अभ्यास गरिएको जानकारी दिनुभयो । 

सशस्त्र प्रहरी वल नेपाल नम्बर ५ गुल्म टक्सारले सिलिण्डर ग्याँसबाट हुन सक्ने आगलागी घटनालाई कसरी नियन्त्रण कसरी गर्ने सकिन्छ भन्ने विषयमा सहभागीहरूलाई डेमो अभ्यास समेत गराएको थियो । सिलिण्डर ग्याँसबाट पनि आगलागीका घटनाहरू हुने भएकाले सचेतनाका लागि नियन्त्रणको अभ्यास गरिएको गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक दिव्यराज कोइरालाले बताउनुभयो । 

विपद् जोखिम न्यूनीकरणका लागि पूर्व योजना स्वरूप संयुक्त अभ्यास प्रदर्शन गरिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक राजन पौडेलले बताउनुभयो । उहाँले यस्ता अभ्यास तथा प्रदर्शनले नागरिकमा पनि सचेतना जगाउने बताउनुभयो ।