सोमबार २५ जेठ, २०८३

नेपाली समय

गाउँपालिकामै पुगेर चार सयलाई प्रशासनिक सेवा प्रदान

गाउँपालिकामै पुगेर चार सयलाई प्रशासनिक सेवा प्रदान

भोजपुर, १५ जेठ । भोजपुरको रामप्रसाद राई गाउँपालिकाका चार सय जनलाई गाउँमै पुगेर जिल्ला प्रशासन कार्यालय भोजपुरले प्रशासनिक सेवा प्रदान गरेको छ । गाउँपालिकासँगको समन्वयमा प्रशासनले तीन दिने नागरिकता तथा राष्ट्रिय परिचयपत्र सम्बन्धी प्रशासनिक सेवा दिएको हो । 

जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाको वडा नम्बर १, ओख्रे र वडा नम्बर ६, बैकुण्ठेमा गरी तीन दिनसम्म सेवा प्रदान गरेको छ । घुम्ती सेवामा प्रशासनले दुई सय ४५ जनलाई नयाँ तथा प्रतिलिपि नागरिकता र एक सय ५५ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन गरेको सहायक प्रमुख जिल्ला अधिकारी मुक्ति खनालले जानकारी दिनुभयो । उहाँले प्रशासनले दिने सेवा लिनका लागि ग्रामीण क्षेत्रहरूमा उत्साह देखिएको बताउनुभयो । 

जिल्लाको दुर्गम क्षेत्रमा प्रदान गरिने प्रशासनिक सेवाले त्यस क्षेत्रका नागरिकलाई राहत मिल्ने  प्रमुख जिल्ला अधिकारी राजन पौडेलले बताउनुभयो । उहाँका अनुसार प्रशासनले जिल्लाको दक्षिण हतुवागढी र आमचोक गाउँपालिकामा प्रशासनिक सेवाका लागि घुम्ती शिविर सञ्चालन गरिसकेको छ । 

भौगोलिक दृष्टिले जिल्ला सदरमुकामबाट टाढा रहेको, जिल्ला सदरमुकामसम्म आवागमनको लागि भरपर्दो यातायात सुविधाको समेत व्यवस्था नभएको अवस्थामा जिल्ला प्रशासनसँगको समन्वयमा नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकता दिँदै पालिकामा नागरिकता तथा राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन कार्य गरिएको गाउँपालिका अध्यक्ष थामबहादुर राईले बताउनुभयो । 

जिल्ला प्रशासनसँगको समन्वयमा सञ्चालन भएको प्रशासनिक सेवा ज्येष्ठ नागरिक, अपाङ्गता भएका पालिकावासीलाई प्रभावकारी देखिएको छ ।