भोजपुर, २८ वैशाख । भोजपुरका चार विद्यालयमा विद्यार्थीहरूका लागि मुटु रोग परीक्षण शिविर आयोजना गरिएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान केन्द्रीय कार्यालय काठमाडौँको सहयोग र नेपाल हृदयरोग निवारण प्रतिष्ठान भोजपुर शाखाको आयोजनामा सोमवार विद्योदय मावि भोजपुर, सिद्धेश्वर मावि दाँवा, कालिका मावि हेलौछा र भामराङमा शिविर सञ्चालन भएको शिविर सञ्चालनका संयोजक चक्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
भोजपुर नगरपालिका भित्रका सामुदायिक र संस्थागत गरी ५१ विद्यालयका करिब चार हजार विद्यार्थीहरूको मुटुको अवस्था परीक्षण गर्ने उद्देश्यले शिविर आयोजना भएको कार्कीले बताउनुभयो । भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले शिविरको उद्घाटन गर्नु हुँदै विद्यार्थी लक्षित यस्ता कार्यहरू प्रभावकारी हुने बताउनुभयो । मुटु रोग नियन्त्रणका लागि आफु पनि बेलामै सचेत हुन आवश्यक रहेको उहाँले बताउनुभयो ।
शिविरमा नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञहरूको टोलीले सेवा प्रदान हुने छ । टोलीमा वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. प्रकाशराज रेग्मीको नेतृत्व रहने छ । यस्तै शिविरमा डा. सत्यनारायण सुवाल, सर्जन डा प्रेमराज वैद्य, हृदय रोग विशेषज्ञ डा राजेन्द्र कोजु, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. अच्युतानन्द लाल कर्ण, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. डेनिस श्रेष्ठ लगायत विशेषज्ञ चिकित्सकको सहभागिता रहेको छ ।
पहिलो चरणमा भोजपुर नगरपालिका भित्रका १२ वडा वडामा रहेका विद्यालयका विद्यार्थीहरूलाई समेटेर शिविरको आयोजना भएको हो । नेपाल हृदयरोग निवारण प्रतिष्ठानले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई ध्यानमा राखेर यस्ता शिविरहरू सञ्चालन गर्दै आई रहेको वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. प्रकाशराज रेग्मीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म सञ्चालित शिविर अभियानहरुबाट चार लाख बढीको मुटु रोग परीक्षण गरी सकिएको छ ।