भोजपुर, २६ वैशाख । ‘भोजपुर प्रतिभा पुरस्कार २०८२’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका निवर्तमान कुलपति नारदमणि हार्तम्छाली ‘कलाङ’ लाई समर्पण गरिएको छ ।
२०५१ सालमा स्थापित जिल्लाकै अग्रणी साहित्यिक संस्था त्रिवेणी साहित्य प्रतिष्ठान भोजपुरले स्थापना गरेको भोजपुर प्रतिभा पुरस्कार भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर ११, झ्याउँपोखरी घर भई प्रतिष्ठानको निवर्तमान कुलपति समेत रहनु भएका हार्तम्छालीलाई प्रदान गरिएको हो ।
भोजपुरमा शनिवार प्रतिष्ठानले कार्यक्रमको आयोजना गर्दे नगद २२ हजार दुई सय २२ सहित दोसल्ला र सम्मानपत्रबाट उहाँलाई पुरस्कृत गरेको हो । वि.सं २०३५ सालदेखि अनवरतरुपमा साहित्य, कला र संगीत कार्यमा क्रियाशील व्यक्तित्व, कवि, नाटककार, चित्रकार, मूर्तिकार, गायक, सङ्गीतकार, अभिनेता र लोकसंस्कृतिका अनुसन्धानदाता हार्तम्छालीलाई उहाँले भूमिकाको कदर गर्दे सम्मान गरिएको छ ।
प्रतिष्ठानका संस्थापक अध्यक्ष श्याम प्रकाश तमोटले उहाँलाई सम्मान सहित पुरस्कार समर्पण गर्नु भएको थियो । सोक्रममा पुरस्कृत व्यक्तित्वका बारेमा चर्चा गर्नु हुँदै कवि कविता राईले हार्तम्छाली क्षमतावान् मात्र नभएर साहित्य, नाट्यकला, ललितकलामा पनि निपूर्ण व्यक्ति रहनु भएको बताउनुभयो ।
प्रतिष्ठानले भोजपुर प्रतिभा पुरस्कार २०८१, टक्सार निवासी संस्कृति बिद् तथा बाद्यबाद्यक प्रेम कुमार शाक्य, २०८० बाट कवि इन्द्रसुर बेल्टारे र २०७९ बाट कवि शेरबहादुर मोक्तान (मोक्तान भाइ) लाई प्रदान गरेको प्रतिष्ठानका सचिव घमचन्द्र दाहालले बताउनुभयो ।
सोहीक्रममा साहित्य र गीत संगीत क्षेत्रमा पुर्याउनु भएको योगदानको कदर गर्दे प्रतिष्ठानले पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालालाई पनि सम्मानपत्र र दोसल्लाबाट सम्मान गरेको छ ।