भोजपुर, २४ वैशाख । भोजपुर नगरपालिका क्षेत्रका विद्यालयहरूमा अध्ययनरत करिब चार हजार विद्यार्थीहरूलाई लागि मुटु परीक्षण शिविरको आयोजना गरिएको छ ।
नेपाल हृदयरोग निवारण प्रतिष्ठान, काठमाडौं र भोजपुर शाखाको संयुक्त आयोजनामा भोजपुर नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूका लागि निःशुल्क मुटु परीक्षण शिविर सञ्चालन गर्न लागिएको समन्वयकर्ता तथा संयोजक चक्र बहादुर कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर नगरपालिकाका भित्रका १२ वटै वडाका ५१ वटा सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत कक्षा एक देखि १२ सम्मका विद्यार्थीको स्वास्थ्य परीक्षण गरिने छ ।
आगामी वैशाख २८ गते विद्यालयमा शिविर सञ्चालन हुने छ । भोजपुर नगरपालिकाको वडा नम्बर ६ देखि १२ सम्मका विद्यार्थीहरूका लागि विद्योदय मावि भोजपुर, वडा नम्बर ३, ४ र ५ का लागि सिद्धेश्वर मावि दाँवा र वडा नम्बर १ र २ का लािग कालिका मावि हेलौछामा शिविर सञ्चालन गरिने छ ।
शिविरमा नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञहरूको टोलीले सेवा प्रदान हुने छ । टोलीमा वरिष्ठ कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. प्रकाशराज रेग्मीको नेतृत्व रहने छ । यस्तै शिविरमा डा. सत्यनारायण सुवाल, सर्जन डा प्रेमराज वैद्य, हृदय रोग विशेषज्ञ डा राजेन्द्र कोजु, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. अच्युतानन्द लाल कर्ण, कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. डेनिस श्रेष्ठ लगायत विशेषज्ञ चिकित्सकको सहभागिता रहने आयोजकले जानकारी दिएको छ ।
यसअघि वैशाख २७ गते भोजपुर अस्पतालका डाक्टर तथा स्वास्थ्यकर्मीहरुलाई मुटु तथा बाथ रोग सम्बन्धी तालिम समेत सञ्चालन गरिने छ ।