बुधबार ३० बैशाख, २०८३

नेपाली समय

शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल

शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यकः शिक्षामन्त्री पोखरेल

काठमाडौँ, २१ वैशाख ।  शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले शिक्षा क्षेत्रको समग्र सुधारका लागि तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताउनुभएको छ । 

शुल्क निर्धारणका सम्बन्धमा आज मन्त्रालयमा आयोजित छलफलमा उहाँले शिक्षामा सुधारका लागि तीन तहका सरकारबीच बलियो समन्वय र सहकार्य जरुरी रहेको बताउनुभएको हो । उहाँले स्थानीय सरकारले नेतृत्व लिएमा शिक्षा क्षेत्रका धेरै समस्या समाधान हुने र त्यसमा सहयोग गर्न मन्त्रालय तयार रहेको बताउनुभयो । 

सरकारका प्रवक्तासमेत रहनुभएका शिक्षामन्त्री पोखरेलले शुल्क निर्धारण र छात्रवृत्तिका विषयमा मन्त्रालयमा गुनासो आएको भन्दै छात्रवृत्ति वितरण पारदर्शी बनाउन आग्रह गर्नुभयो । उहाँले संस्थागत विद्यालयमा शुल्क नियमन, मन्त्रालयमा आएका शुल्कसम्बन्धी गुनासा पालिकामै पठाइदिने संयन्त्र बनाइएको जानकारी दिँदै आवश्यक सहजीकरणका लागि मन्त्रालय तयार रहेको बताउनुभयो । 

मन्त्री पोखरेलले स्थायी रूपमै दुई दिन सार्वजनिक बिदा दिने विषयमा आवश्यक अध्ययन र पाठ्यक्रमलगायत विषयमा गृहकार्य भइरहेको जानकारी दिनुभयो । स्थानीय सरकारले शिक्षा क्षेत्रका असल अभ्यासहरू एक अर्कासँग सिक्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

छलफलमा ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले निजी विद्यालयमा छात्रवृत्ति वितरण पारदर्शी बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले धेरै विद्यालयको जग्गा आफ्नो भोगाधिकारको जग्गा नरहेकाले नीतिगत प्रबन्ध गरिनुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ महानगरपालिकाका कार्यवाहक नगरप्रमुख सुनिता डङ्गोलले दुई दिन सार्वजनिक बिदा गर्दा पाठ्यक्रम समायोजन चाँडो गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दरबन्दी व्यवस्थापनमा मन्त्रालयले महानगरसँग समन्वय गर्ने विश्वास व्यक्त गर्नुभयो ।

नगरपालिका सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गानाले शिक्षा निःशुल्क पाउने व्यवस्था गर्न माग गर्नुभयो । उहाँले शुल्क निर्धारण स्थानीय सरकार आफैँले गर्ने, १० प्रतिशत छात्रवृत्तिको अनुगमन, दुई सय २० दिन नघट्ने गरी विद्यालय सञ्चालन गरिनुपर्ने र कक्षा एकदेखि पाँचसम्मको परीक्षामा मापदण्ड बनाइनुपर्ने सुझाव दिनुभयो ।

गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले शुल्क निर्धारण तथा नियमन स्थानीय सरकारले नै गर्ने बताउनुभयो । 

शैक्षिक सत्र, भर्ना शुल्क निर्धारण तथा दरबन्दी व्यवस्थापनलगायत विषयमा शिक्षा मन्त्रालयले स्थानीय तहका प्रतिनिधि र सरोकार भएकाहरूसँग छलफल गरेको हो । मन्त्रालयले चाडै नै प्रदेश सरकारका शिक्षा हेर्ने मन्त्रीहरूसँग बैठक गर्ने जनाइएको छ ।

शिक्षामन्त्री पोखरेलको उपस्थितिमा भएको छलफलमा गृह मन्त्रालय र शिक्षा मन्त्रालयका उच्च अधिकारीको समेत उपस्थिति रहेको थियो ।

शैक्षिक व्यवस्थापन सुधार, शुल्कमा पारदर्शिता र दरबन्दी मिलानलाई प्रभावकारी बनाउने विषयमा केन्द्रित भएर विचार–विमर्श गरिएको मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।