बुधबार ३० बैशाख, २०८३

नेपाली समय

नुवाकोटको बेलकोटगढीमा सिंहदरबार मात्र हैन, पुग्यो न्याय पनि

नुवाकोटको बेलकोटगढीमा सिंहदरबार मात्र हैन, पुग्यो न्याय पनि

विदुर, १६ वैशाख । देश सङ्घीयतामा गएयता निर्वाचनताका केही राजनीतिक दलहरूले गाउँ गाउँमा सिंहदरबार भन्ने नारा लगाए । तर सङ्घीयताले देशको खर्चभार बढाएको भन्दै सङ्घीयता नचाहिने बहस समेत यदाकदा उठ्ने गरेका छन् । सङ्घीयतासँगै स्थानीय तहहरूलाई अधिकार सम्पन्न गराइएको छ । गाउँ गाउँमा सिंहदरबार मात्र पुगेन सँगसँगै भ्रष्टाचार पनि उतिनै पुगेको गुनासो व्याप्त छ ।

तर, नुवाकोटको बेलकोटगढी नगरपालिकाले भने अधिकारको सही सदुपयोग गरेको पाइएको छ । विकास निर्माणमात्र नभएर न्यायिक सम्पादनमा पनि उल्लेख्य कार्य गरेको छ । न्यायिक समितिले स्थानीय तहका परिवारले ज्येष्ठ नागरिकहरूलाई उचित पालन पोषण, हेरचाह नगरेमा, काम लगाएर ज्याला नदिएमा, नाबालक बालबालिका तथा पतिपत्नीलाई खाना लाउन नदिएमा, कसैको साँध सीमाना मिचेमा लगायतका स्थानीय समस्याहरूको समाधान स्थानीय तह न्यायिक निकायले गर्दै आएको छ ।

यस्ता समस्याहरू भएको खण्डमा स्थानीय न्यायिक निकायमा सम्पर्क गर्न समेत सुझाएको छ । समस्याको समाधान गर्न न्यायिक निकायले कार्यालयमा सम्पर्क गर्न नागरिकमा अनुरोध गरेको छ । यस्ता  गुनासोको लागि सम्पर्क नम्बर सार्वजनिक गर्दै प्रचार प्रसार समेत गर्दै आएको छ । न्यायिक समितिले आ.व. २०८२/०८३ मा हाल सम्म पेस भएका उजुरी र यसको फर्छ्यौट संख्या सार्वजनिक गरेको छ ।

न्यायिक समितिका सहजकर्ता अधिवक्ता विदुर कुमार पुडासैनीका अनुसार हाल सम्म उजुरीको संख्या बीस रहेको जसमा फर्छ्यौट संख्या चौध रहेको बताउनु भयो । बाँकी विवाद मेलमिलाप केन्द्रमा छलफलको क्रममा रहेकोले उक्त  सबै विवादहरु आगामी दिनमा समाधान गरिने सहजकर्ता पुडासैनीले बताउनु भयो ।

माथि उल्लेखित उजुरीहरू साँध सीमाना, जग्गाको भागबण्डा विवाद, भल निकासा विवाद, पानी बाँडफाँट विवाद, लेनदेन आदि रहेका छन् । साथै यस्ता उजुरी र स्थानीय विवाद समाधानका लागि सबै वडाहरूमा मेलमिलाप केन्द्र स्थापना गरिएको पुडासैनीले बताउनु भयो ।