बुधबार ३० बैशाख, २०८३

नेपाली समय

काठमाडौ बसेर कुरुले तेनुपा थाकथलो सम्झिँदा

काठमाडौ बसेर कुरुले तेनुपा थाकथलो सम्झिँदा

काठमाडौँ, १६ वैशाख । आफ्नो जन्मभूमिलाई कर्मभूमिबाट सम्झना त सबैले गर्छन् तर सामूहिक रूपमा हरेक वर्ष आफ्नो बाल्यकाल बिताएको थाकथलो सम्झिएर नयाँ वर्षको अवसरमा गाऊँ फर्किने प्रचलन धनकुटाको चौबिसे गाउँपालिकास्थित कुरुले तेनुपामा शुरु भएको छ । 

कुरुले तेनुपा थाकथलो रहेर काठमाडौ बस्ने युवाहरूको पहलमा जनहित असल शासन क्लब र तमोर पर्माकल्चर सिकाई थलोको संयुक्त संयोजनमा गत वर्षदेखि नयाँ वर्षमा गाऊँ फर्कने प्रचलनको शुरुवात भएको हो । गत वर्ष करिब ४१ जना गाउँबासी कुरुले तेनुपा पुगेकोमा यस वर्ष करिब ५० जना गाउँबासीहरु थाकथलो फर्कनु भएको स्थानीय भोजकुमार काफ्लेले बताउनु भयो । गाऊँ फर्कने व्यक्तिहरू काठमाडौ, भक्तपुर, ललितपुर, झापा, मोरङ, सुनसरी लगायत जिल्लाबाट थाकथलो पुगेका हुन् । सबैजना सुनसरीको धरानमा जम्मा भएर बस रिजर्भ लिई गाउँ पुगेका थिए । लामो समयपछि गाउँ फर्किएका आफन्त र छिमेकीहरूलाई भेट्न पाउँदा स्थानीयहरूले खुशी व्यक्त गरेका छन् । 

सुनसान गाउँमा घरको भग्नावशेष 

चौबिसे गाउँपालिका वडा नं. ३ को अँधेरी र काफ्लेडाँडा टोल भने भग्नावशेषमा परिणत भएको पाइएको छ । खानेपानीका अभाव लगायत विभिन्न कारणले सम्पूर्ण घर परिवार बसाइँ हिंडेपछि गाउँको इतिहास भग्नावशेषमा परिणत भएको हो । काठमाडौँबाट गाउँ पुगेका राजेन्द्र दाहालले आफ्नो जन्म घरमा लामो समयपछि पुग्दा पुराना कुराहरू दिमागमा रिल झैँ घुमेको बताउनु भयो । 

आफ्नो बाल्यकाल बिताएर पढेको, बढेको घर आँगन भग्नावशेष भएको देख्दा नमिठो लागेको केशव काफ्ले दम्पतीले बताउनु भयो । केशव काफ्ले र उहाँकी श्रीमती इन्दिरा नेपालले भग्नावशेषमा उभिएर फोटो खिचेर सम्झना लिएर फर्कनु भएको छ । गाउँ पुगेर फर्केको तीन साता भइसक्दा पनि निरन्तर सामाजिक सञ्जाल फेसबुकमा सम्झनाका फोटोहरू राखिरहनु भएको छ । 

उता केशव काफ्ले र पुण्डरिक काफ्लेको परिवारका सदस्यहरू आफ्नै घर आँगनको भग्नावशेषमा उम्रिएको झाडीमा उभिएर आफ्ना छोराछोरीका साथमा फोटो खिचेर नमिठो मान्दै फर्कनु भएको छ । उहाँहरूले आफ्ना छिमेकी नोदनाथ त्रितालको घरको ढिकीको भग्नावशेषमा समेत उभिएर सम्झानास्वरुप फोटो खिच्नुभएको छ । खानेपानीको समस्या, वैदेशिक रोजगारी लगायत कारणले यो गाउँको सम्पूर्ण परिवार नै बसाइँ सरी गाउँ छोडेको करिब दुई शतक हुन लागेको छ । अहिले सो गाउँ नै भग्नावशेषमा परिणत भइसकेको छ । 

बन्दुके डाँडाको फेरियो रूप

उता विगतमा पानीको दुःख भएको कारण उजाड भएर गाउँ टोलबासी नै गरिबीले ग्रसित रहेकोमा तमोर पर्माकल्चर सिकाई थलो स्थापना भएपछि कुरुले तेनुपाको बन्दुके डाँडाको स्वरुप नै फेरिएको छ । लाखौँ लिटर पानी सङ्कलन गर्न मिल्ने प्लाष्टिक पोखरी निर्माण गरी विभिन्न जातका विरुवा लगाउने र नर्सरी लगाउने कार्यले अहिले टोल नै हरियाली भएको छ । 

उता तमोर पर्माकल्चर सिकाई थलो अवलोकनमा आउने आन्तरिक पर्यटकहरुका लागि बन्दुके डाँडा पोखरी क्षेत्र पर्यटकीय गन्तव्य बनेको छ । पहिले ठुलो पोखरी नामले चिनिने उजाड डाँडामा अहिले बन्दुके डाँडाको पर्खाल बनाई अवलोकन टावर स्थापना गरेर पर्यटक तान्ने प्रयत्न गरिएको छ । तमोर पर्माकल्चर पुग्ने जोकोहि पोखरी डाँडास्थित बन्दुके डाँडासम्म पैदल भ्रमण गरी विभिन्न जिल्लाको दृष्यावलोकन गर्दै आएको स्थानीय दीर्घमान तामाङले बताउनु भयो । 

विपन्न घरमा बिजुली बालेर फर्कियो टोली 

विकासको गतिमा लम्कन प्रयासरत चौबिसेको कुरुले तेनुपामा अति विपन्न परिवारको पीडा पनि उस्तै रहेको पाइयो । गाउँमा विगत एक दशकदेखि बिजुली बत्ती बल्दै आएकोमा बाख्रेखोलामा रहेको एउटा तामाङ परिवार बिजुली बत्तीबाट वञ्चित रहेको पाइयो ।

मोबाइल चार्ज गर्न पनि छिमेकीकोमा जानुपर्ने तर बत्ती धेरै उठ्ने भन्दै छिमेकीमा पटक पटक मोबाइल चार्ज गर्न समेत जान समस्या भएको बताउने कुमार तामाङको घर गाउँमा एक्लै रहेको थियो । बाक्लो घरहरू नहुँदा वडा कार्यालय समेत बत्ती विस्तार गरी सो घरमा बत्तीको लाइन पु¥याउन चासो दिएको थिएन । स्थानीय पर्वत दाहालमार्फत सो खबर पाएका काठमाडौ बस्ने भानुभक्त दाहाललाई यो कुराले मन अमिलो भयो र उनले आफ्नै खर्चमा त्यो घरमा बत्ती बालेर फर्कन सोच बनाए ।

गाउँमा फर्कँदा एउटा सामाजिक कार्य गर्न सके समाजमा सकारात्मक सन्देश जाने उनको सोचले तब सार्थकता पायो जब उनले आफैँले बिजुलीको तार र बत्तीका सामग्री लगेर कुमार तामाङको घरमा बत्ती जडान गरिदिए । आफ्नो नाममा जग्गा नहुँदा बिजुलीको मिटर जडान गर्न समेत असमर्थ प्रकाशको परिवारमा तीन पुस्ता बसोबास गर्दै आएका छन् । उनीहरूमा हजुरबुबा टेकबहादुर तामाङ, हजुरआमा फूलमायाँ तामाङ, बाबु चित्रबहादुर तामाङ, आमा सितामायाँ तामाङ र श्रीमती वसन्ता तामाङ बसोबास गर्दै आएका छन् भने प्रकाश र बसन्ताका छोराहरू मदन, मौसम, मन्दिप, मनिस र मनोज रहेका छन् ।

यसरी संयुक्त रूपमा बस्दै आएको परिवार पुरै बिजुली बत्ती बाल्नबाट वञ्चित रहेको पाइएको थियो । यसमा स्थानीय इश्वरीप्रसाद दाहाल, पर्वत दाहाल लगायतको सूचनाका आधारमा भानुभक्त दाहालले उनीहरुको घरमा बत्ती जडानमा सहयोग गर्ने सोच बनाउनु भएको थियो ।

थाकथलो भ्रमण कार्यक्रमको नेतृत्व गर्दै गाउँ पुग्नुभएका दाहालले आफूले सानो प्रयासबाट एउटा विपन्न परिवारका करिब एक दर्जन सदस्यहरू लाभान्वित हुनुभएकोले आफूलाई सन्तुष्टि मिलेको बताउनु भयो । उहाँले आफूहरूले गरेको सानो सहयोगले पनि गाउँमा ठुलो आवश्यकता पुरा हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । 

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै वडाध्यक्ष मदन तुम्साले गाउँ छाडेर बाहिर बस्नुहुन व्यक्तिहरूलाई गाउँ फर्कन र गाउँसँगको सामिप्यता कायम राख्न आग्रह गर्नुभयो । धनकुटाबाट गाउँ फर्कनु भएका घनश्याम बरालले कवितामार्फत गाउँलेहरूलाई सामिप्यताको सन्देश दिनुभएको थियो । 

कुरुले तेनुपाबाट सबैभन्दा पहिला काठमाडौ छिर्नुभएका लोकेन्द्र याखाले गाउँबाट शहर पस्ने युवाहरू जिम्मेवार भएर राष्ट्रसेवामा विभिन्न पेशा व्यवसायमा इमान्दार भई कार्यरत रहेको थाहा पाउँदा गर्व लाग्ने गरेको बताउनु भयो । 

पूर्वेली चौबिसे समाज काठमाडौँका अध्यक्ष दुर्गा मादिले हरेक वर्ष गाउँ आउन पाउँदा खुशी लागेको बताउनु हुँदै गाउँमा आत्मियता र माया ममता बढी हुने गरेको अनुभव सुनाउनु भयो । गत वर्ष आफ्नो टोलबाट आफु एक्लै गाउँ पुगेको स्मरण गर्नुहुँदै उहाँले यस पटक छोरीलाई समेत लिएर गएको बताउनु भयो । गाउँमा पुगेर सबै आफन्तहरूसँग भेटघाट गरी एक रात आफ्नै घरमा बसेर फर्कन पाउँदा आफूलाई ज्यादै खुशी लागेको उहाँले बताउनु भयो । 

जनहित असल शासन क्लबका अध्यक्ष भोजकुमार काफ्लेले थाकथलो फर्कने अभियान शुरुवात गर्न पाएकोमा खुशी व्यक्त गर्दै यसलाई निरन्तरता दिन सके अन्य संघसंस्थासँग समेत सहकार्यको वातावरण बन्न सक्ने बताउनु भयो । तमोर पर्माकल्चर सिकाई थलोले आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्न सालक संरक्षण अभियान चलाई रहेको र कुरुले तेनुपामा पनि सालक संरक्षणका लागि सचेतनामूलक कार्यक्रम गरिरहेको बताउनु भयो । स्थानीय श्रम र साधनस्रोत परिचालन गरेर नर्सरी लगायन स्याउखेती समेत गरेर आम्दानी शुरुवात गरिसकेको पनि उहाँले बताउनु भयो । 

तमोर पर्माकल्चरमा टेण्टको बसाई 

गाउँमा पुग्दा टेण्टमा सुत्ने व्यवस्था गरेको पाउँदा आफूहरूलाई हिमाल चढ्न जाने टोली हिमालको फेदमा क्याम्पमा बसेको जस्तो अनुभूति भएको भानुभक्त दाहालले बताउनु भयो । गतवर्ष व्यवस्थापनको क्रममा खुल्ला आकासमुनि नर्सरी बारीमै टेण्ट टाँगेर पाहुना राखेकोमा यसपटक गोठभित्र टेण्टहरु राखेर सुत्ने व्यवस्था गरिएको तमोर पर्माकल्चर व्यवस्थापन जनाएको थियो । 

परिवर्तन सम्भव छ, हाम्रै पालामा सम्भव छ 

गाउँघरमा परिवर्तन सम्भव छ र त्यो हाम्रै पालामा सम्भव छ भन्ने कुरुले तेनुपाको सिर्जनात्मक अभ्यासले प्रमाणित गरिदिएको छ । तमोर पर्माकल्चर सिकाई थलोले अहिले आन्तरिक पर्यटन प्रवर्द्धन गर्दै नर्सरीमार्फत लाखौँ आम्दानी समेत गर्दै आएको छ भने जुम्लामा फल्ने स्याउ कुरुलेतेनुपाको जमिनमा फलाएर संभाव्यता पुष्टि गरिदिएको छ । सबैको सामूहिक प्रयास र निरन्तरको प्रयासको प्रतिफल अहिलेको अवस्था भएको भोजकुमार काफ्लेले बताउनु भयो । 

गाउँ भ्रमणको भक्तपुरमा समीक्षा 

गाउँ पुगेर फर्किएको टोलीले भक्तपुरमा यात्रा अनुभव शेयर गरेको छ । कुरुले तेनुपा थाकथलो रही भक्तपुरमा व्यवसाय गर्दै आउनु भएका पूर्ण लिम्बुका अत्याधुनिक प्रविधियुक्त घरमा समीक्षा कार्यक्रम सम्पन्न भएको छ । भ्रमणको समीक्षा गर्दै गाउँको बाँझो जमिन सदुपयोग गर्ने विकल्पहरुबारे छलफल भएको छ । होमस्टेको अवधारणा, बाँझो जग्गामा टिमुर खेती, कफी खेतीको सम्भावना अध्ययन गर्नुपर्ने धारणाहरू आएका छन् । आगामी वर्ष पनि थाकथलो भ्रमण कार्यक्रमलाई निरन्तरता दिने र गाउँ पुगेपछि रचनात्मक कार्य गरेर फर्कन कुराकानी समीक्षामा भएको छ ।