बुधबार ३० बैशाख, २०८३

नेपाली समय

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

जहाँ गुञ्जिँदै छन् प्रगतिशील सुरहरू, नयाँ पुस्ताका लागि

(नारायण ढुङ्गाना)

काठमाडौँ, १६ वैशाख । जतिबेला समाजमा कुनै प्रगतिशील काम हुन थाल्छन् वा चेतनाको विगुल फुक्ने बेला हुन्छ अनि आर्थिक तथा सामाजिक विकासका लागि आह्वान गर्नुपर्ने हुन्छ त्यतिबेला गुञ्जने गीत हो ।

गाउँगाउँबाट उठ

बस्तीबस्तीबाट उठ..., 

यस्तै अर्काे सुर पनि गुञ्जिन्छ 

आउ मिलाउँ हाम्रा हातहरू

न्याय र समानताका लागि...।

विसं २०३१ मा लेखिएको र ४० को दशकमा रेकर्ड भएको गाउँगाउँबाट उठका रचना तथा सङ्गीत श्याम तमोटको हो भने रामेशलगायत साथीहरूको स्वर छ । त्यसपछि दर्जनौँ भर्सनमा गीत आइसकेको छ । प्रमोद हमालको सङ्गीत तथा रामेश रायनको स्वर रहेको आउ मिलाउँ हाम्रा हातहरू... होस् या मणि थापाको रचना र

सङ्गीत रहेको गीत 

भेटेर तिमीलाई सोधुँसोधँु लाग्यो

लेखेर तिम्रो गीत गाउँगाउँ लाग्यो

प्यारो जलजला...

होस् । यी गीतहरूमा नेपाली माटो, जीवन, सङ्घर्ष, प्रकृति, राष्ट्रियता, स्वतन्त्रता र एकता बोलिरहेको छ । यस्ता गीतहरूले समाज बदल्नलाई ठूलो योगदान गरेका छन् । हरेक नेपालीको मुखमा झुण्डिएर बसेका यस्ता प्रगतिशील सुरहरू यसपालि एकैठाउँमा पस्किने जमर्काे भइरहेको छ । 

तीनै गीतहरूलाई समेटेर यसपाली प्रगतिशील सुरहरू जलजलाको फेदमा प्रस्तुत हुँदैछ । नेपालको इतिहासमै पहिलोपटक नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानको आयोजना तथा रोल्पा कला साहित्य प्रतिष्ठान काठमाडौँको सहआयोजनामा रोल्पाको थवाङमा ‘प्रगतिशील सङ्गीत उत्सव’ हुन लागेको हो ।

प्रकृतिको मनोरम क्षेत्र रङ्गीचङ्गी फूल र प्राकृतिक छटाले स्वर्गको टुक्राजस्तै देखिने प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल जलजलाको फेदीमा वैशाख १९ र २० गते प्रगतिशील सुरहरू गुञ्जिँदै छन् । गाउँगाउँबाट उठ र आऊ मिलाउँ हाम्रा हातहरू... त ४५ जना प्रगतिशील कलाकारहरूले एकै स्वरमा पस्किन लागेका प्रतिष्ठानकी सदस्यसचिव तथा उत्सव संयोजक कुश्मा महरा प्रगतिले बताउनुभयो ।

समाज रूपान्तरण र नेपालको राज्यव्यवस्था नै परिवर्तनका लागि विभिन्न चरणमा चलेका सामाजिक जागरणका सचेत अभियानमध्येको एक मत्त्वपूर्ण केन्द्र रोल्पा, थवाङ हो । जहाँ त्यस दिन सङ्गीतका तरङ्गहरूले सामाजिक यथार्थ बोल्ने छन् । हरेक मनका ढुकढुकी परिवर्तनको झन्कारका रूपमा व्यक्त हुनेछन् । 

नेपाली समाज, सुन्दर समाज अनि समृद्ध समाजको भाकामा गुन्जिनेछन् र अग्रगामी चेतनाको आवाज घन्किने छ । इतिहासदेखि नै नेपाली समाजमा सकारात्मक परिवर्तनको नेतृत्व गरिरहेको, समाज विकासका हरेक घुम्तीमा काँध थाप्ने हिम्मत भएको, हरेक सुरहरूको पनि सुर तर सधैँ ओझेल परेको साङ्गीतिक धारा हो प्रगतिशील सङ्गीत । 

प्रगतिशील गीत–सङ्गीतमार्फत सामाजिक चेतना अभिवृद्धि गर्ने, सांस्कृतिक एकता सुदृढ गर्ने, तथा सिर्जनशील अभिव्यक्तिलाई राष्ट्रिय पहिचानसँग जोड्ने उद्देश्य रहेको छ ।

प्रतिष्ठानले बहुभाषिक, बहुजातीय तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न नेपाली समाजको विविधतालाई सम्मान गर्दै त्यसको पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको उहाँले बताउनुभयो ।

समाज रूपान्तरणको चेतना बोकेको प्रगतिशील साङ्गीतिक धारालाई केन्द्रमा राखिएको बताउँदै संयोजक महराले भन्नुभयो, “यसलाई केबल मनोरञ्जनको माध्यमका रूपमा मात्र नभई समाज परिवर्तन, जनचेतना अभिवृद्धि र सांस्कृतिक जागरणको सशक्त साधनका रूपमा स्थापित गर्ने लक्ष्य छ, समाजमा विद्यमान असमानता, विभेद, अन्याय तथा कुरीतिहरूविरुद्ध सचेतना फैलाउने तथा समानता, समावेशिता र सहअस्तित्वको सन्देश प्रवाह गर्ने उद्देश्यले हो ।”

हरेक कला प्रगतिशील हुन्छ, नाटक गर्दा केही न केही समाजका लागि गरिएको हुन्छ । गायकले गीत गाउँता त्यसका शब्दमा समाज बोलिरहेको हुन्छ । 

प्रतिष्ठानकी कुलपति निशा शर्मा पोखरेलल भन्नुहुन्छ, “त्यसैले यस्ता गीत सङ्गीत कलाको समुचित प्रवर्द्धन र प्रवर्द्धन गर्नुपर्छ, ऐतिहासिक पृष्ठभूमिलाई आत्मसात् गर्दै उक्त उत्सवले साङ्गीतिक अभिव्यक्तिलाई अझ सशक्त बनाउने छ ।”

यस उत्सवको पहिलो दिन १९ गते उद्घाटन समारोहसँगै सहभागी प्रगतिशील क्षेत्रका कलाकारहरूको सांस्कृतिक परिचय तथा विशेष साङ्गीतिक प्रस्तुति रहनेछ । दोस्रो दिन संवाद, अन्तरक्रिया, कार्यशाला तथा प्रगतिशील सङ्गीतका विविध आयाममा केन्द्रित ‘प्यानल डिस्कोर्स’ गरी नेपालमा प्रतिशील सङ्गीतको भूमिका र महत्वको निष्कर्ष प्रस्तुत गरिने कार्यक्रम छ ।

यस्तै वरिष्ठ प्रगतिशील गीतकार, सङ्गीतकार तथा गायकहरूको बेजोड प्रस्तुतिसहित प्रगतिशील सङ्गीत उत्सव–२०८३ समापन गरिनेछ । झण्डै ४५ कलाकारहरू सहभागी हुनेछन् । अन्य सहभागीहरूसहित २०० को हाराहारीमा उपस्थिति हुने अनुमान गरिएको छ ।

उत्सवमा देशभरका प्रगतिशील गीत–सङ्गीतका अग्रज कलाकारहरू, उदीयमान प्रतिभाहरू, सांस्कृतिक समूहहरू, शोधकर्ता, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण दर्शकहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको प्रतिष्ठानका उपकुलपति शम्भु राईले बताउनुभयो ।

यस्तै महिला, दलित, आदिवासी–जनजाति तथा सीमान्तकृत समुदायहरूको सक्रिय सहभागितालाई विशेष प्राथमिकता दिइने र त्यसले समावेशी सांस्कृतिक वातावरण निर्माणमा टेवा पुग्ने विश्वास गरिएको उहाँले बताउनुभयो । उपकुलपति राईले प्रगतिशील गीत सङ्गीत संरक्षणको अभावमा कलाकारसँग हराएर गइरहेका सन्दर्भमा यस्ता कार्यक्रमले केही प्रवर्द्धनमा भूमिका खेल्ने बताउनुभयो ।

ऐतिहासिक, सामरिक, सामाजिक तथा सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण स्थानका रूपमा चिनिएको रोल्पा प्रगतिशील विचार र सामाजिक चेतनाको केन्द्रका रूपमा परिचित रहँदै आएको छ ।

त्यसैले यस स्थानमा आयोजना हुन लागेको उत्सवले स्थानीय सांस्कृतिक पहिचानलाई राष्ट्रियस्तरमा थप सुदृढ बनाउने विश्वास गरिएको छ । यस उत्सवले स्थानीय कलाकारहरूको क्षमता अभिवृद्धि गर्नुका साथै संस्कृतिका क्षेत्रमा सम्भावनाका ढोका खुल्नुका साथै पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । 

उत्सवमार्फत प्रगतिशील गीत–सङ्गीत क्षेत्रका अग्रज तथा नयाँ पुस्ताबीच सांस्कृतिक सेतु निर्माण गर्ने, सामाजिक एकता र समावेशितालाई सुदृढ गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने र प्रगतिशील साङ्गीतिक धारा राष्ट्रको मूल साङ्गीतिक प्रवाह भएकाले पहिचान स्थापित गर्दै अन्तरराष्ट्रियस्तरमा नेपालको साङ्गीतिक छवि स्थापित गर्ने दीर्घकालीन उद्देश्य पनि यस उत्सवसँग जोडिएको संयोजक महराले बताउनुभयो ।

संस्कृति राष्ट्रको पहिचान, अस्तित्व र विकासको आधारभूत स्तम्भ हो । गीत, सङ्गीत, नाटक र नृत्यजस्ता विधाहरू नेपाली संस्कृतिलाई पूर्णता दिने मूल आधार हुन् ।

यी आधारहरूले समाजलाई जोड्ने, अग्रगामी चेतना फैलाउने तथा सकारात्मक परिवर्तनको मार्ग प्रशस्त गर्ने महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् । यसले नेपाली समाजमा थप सकारात्मक सोच, सहकार्य र सहअस्तित्वको भावना अभिवृद्धि गर्दै समुन्नत र समावेशी राष्ट्र निर्माणमा योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

उत्सवको तयारीका लागि संयोजक महरा थवाङ पुग्नुभएको छ । उहाँले कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।