बुधबार ३० बैशाख, २०८३

नेपाली समय

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आठौँ साधारणसभाः ‘माटोको माया’ लोकार्पित

राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटको आठौँ साधारणसभाः ‘माटोको माया’ लोकार्पित

ककनी (नुवाकोट), १२ वैशाख । राष्ट्रसेवक कर्मचारी समाज, नुवाकोटले आठौँ साधारणसभाका अवसरमा समाजद्वारा प्रकाशित मुखपत्र ‘माटोको माया’ को दोस्रो संस्करणको आज लोकार्पण गरिएको छ ।

नुवाकोटको ककनी गाउँपालिकास्थित पर्यटकीयस्थल ककनी डाँडोमा आज आयोजित कार्यक्रममा गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, नेपाल सरकारका पूर्वसचिव रामप्रसाद थपलिया, सशस्त्र प्रहरी बलका पूर्वमहानिरीक्षक पुष्पराम केसी, समाजका संस्थापक अध्यक्ष डा केदारनरसिंह केसी, समाजका अध्यक्ष उदयबहादुर रानामनरगलगायतले पुस्तकको लोकार्पण गर्नुभयो । 

सोही कार्यक्रममा समाजले प्रकाशन गरेको वर्ष २०८३ को भित्तेपात्रो पनि विमोचन गरियो ।

नुवाकोटमा जन्म तथा बासिन्दा भई निजामतीलगायत राष्ट्रसेवाका विभिन्न निकायमा कार्यरत कर्मचारीको सो संस्थाले राष्ट्रसेवामार्फत सामाजिक कार्यमा योगदान दिन २०७१ सालमा सो समाजको स्थापना भएको हो । 

ककनी गाउँपालिकाका अध्यक्ष तामाङले जिल्लालाई सबै हिसाबले समृद्धिका लागि भूमिका निर्वाह गर्न राष्ट्रसेकहरूको महत्त्वपूर्ण भूमिका निर्वाह हुने अपेक्षा व्यक्त गर्नुभयो ।

उहाँले गुर्जे भञ्ज्याङदेखि चिम्टेश्वरसम्मको हाइकिङ, फुङफुङ झरना, वनभोजस्थल र स्ट्रबेरी उत्पादनलगायत कारण ककनी स्थापित भएकाले पर्यटन प्रवद्र्धनका राष्ट्रसेवक कर्मचारी समाज, नुकाकोटले योगदान दिने विश्वास व्यक्त गर्नुभयो ।

समाजका संस्थापक अध्यक्ष डा केसीले सानो समूहबाट सुरु गरिएको समाज विस्तारित भएकामा खुसी व्यक्त गर्दै विचार र सिद्धान्तभन्दा माथि गएर सामाजिक कार्यमा समर्पित हुन आग्रह गर्नुभयो ।

समाजका अध्यक्ष रानामगरले जिल्लामा जन्म तथा निवास भएका राष्ट्रसेवकबीच सञ्जालीकरण, अतिरिक्त क्रियाकलाप, क्षमता विकास, आरोग्य जीवन, खेल र मनोरञ्जनात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताउनुभयो ।

विमोचित ‘माटोको माया’ बारे समीक्षा गर्दै आश्विनीकुमार पुडासैनीले राष्ट्रसेवाका लागि प्रतिस्पर्धात्मक परीक्षा सामग्री विशेष अङ्कका रूपमा सो सामग्री प्रकाशन गरिएको बताउनुभयो । स्मारिकको प्रधानसम्पादकमा वासुदेव गुरागाईं रहनुभएको छ ।

साधारसभामा अध्यक्ष रानामगरद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन, कोषाध्यक्ष कृष्णराज खतिवडाद्वारा प्रस्तुत आर्थिक प्रतिवेदन छलफलसहित पारित भएको छ । साथै सभामा समाजको विधान संशोधन प्रस्ताव पनि छलफलसहित पारित भएको छ ।