बुधबार ३० बैशाख, २०८३

नेपाली समय

सुशासन भाग-२: भाषा, विकास, परिवार र नैतिक संस्कार: हक–कर्तव्यको सन्तुलनबाट समाज सुधार !

सुशासन भाग-२: भाषा, विकास, परिवार र नैतिक संस्कार: हक–कर्तव्यको सन्तुलनबाट समाज सुधार !

भाषा, विकास, परिवार र नैतिक संस्कार: हक–कर्तव्यको सन्तुलनबाट समाज सुधार !

१.  शिक्षा, भाषा र संस्कारबीचको असन्तुलनको प्रभाव ।

एक समय यस्तो पनि थियो, जब नेपालमा पूर्वीय शिक्षा, संस्कार र पारिवारिक मूल्यहरू जीवनको आधार मानिन्थे । आमाबुबाको सेवा गर्नु सन्तानको कर्तव्य मात्र होइन, धर्मको रूपमा ग्रहण गरिन्थ्यो । तर क्रमशः देशमा यस्तो वातावरण निर्माण भयो कि पूर्वीय शिक्षा प्राप्त व्यक्तिहरूले समेत आफ्ना आमाबुबाको हेरचाह सहज रूपमा गर्न नसक्ने अवस्था सिर्जना हुन पुग्यो । शिक्षा र सामाजिक दृष्टिकोणमा अंग्रेजी भाषा र पाश्चात्य शैलीलाई सर्वोच्च मान्ने प्रवृत्ति विस्तार हुँदै गयो ।

यसै सन्दर्भमा देशभित्र नेपाङ्ग्रेजी Nepanglish) पढाउने बोर्डिङ विद्यालयहरूको तीव्र व्यावसायिक विकास भयो । यी विद्यालयहरूले अंग्रेजी भाषा र पाश्चात्य जीवनशैलीमा दक्षता त दिए, तर नेपाली भाषा, हाम्रो मौलिक संस्कृति र पारिवारिक मूल्यहरूलाई क्रमशः कमजोर बनाउँदै लगे । परिणामस्वरूप, हाम्रा सन्तान अंग्रेजीमा केही हदसम्म दक्ष भए पनि नेपाली भाषामा बुझाइ र प्रयोगमा कमजोर बन्न थाले । यसले हाम्रो सामाजिक परम्परा, धर्म, संस्कृति र संस्कार कमजोर हुँदै गए । जसले गर्दा नेपालमा पूर्वीय शिक्षा, संस्कार र पारिवारिक मूल्यहरू जीवनको आधार नै खण्डित हुन थाले ।

यसको एउटा सामान्य तर गम्भीर उदाहरण हेर्दा स्पष्ट हुन्छ-नेपालीमा “५४” भनियो भने बुझ्न नसक्ने, तर अंग्रेजीमा "fifty-four" भनेपछि मात्र बुझ्ने अवस्था । तर यहाँ पनि वास्तविक बुझाइभन्दा भाषिक अभ्यास मात्र हाबी देखिन्छ । यसरी सन्तानले भाषिक दक्षता मात्र होइन, सांस्कृतिक चेतना र पारिवारिक मूल्यको ज्ञान पनि गुमाउँदै जान्छन् । यसको सीधा असर आमाबुबासँगको सम्बन्धमा पर्छ ।

२.  पारिवारिक सम्बन्ध र भावनात्मक दूरीको यथार्थ ।

जब सन्तानले घरमा आमाबुबासँग समय बिताउने, माया र जिम्मेवारी अनुभव गर्ने अवसर पाउँदैनन्, तब वृद्ध आमाबुबा एक्लोपनको गहिरो अनुभूति गर्न थाल्छन् । यसैगरी, बालबालिकामा पनि सांस्कृतिक समझ, सामाजिक संवेदनशीलता र भावनात्मक स्थिरताको विकास कमजोर हुँदै जान्छ । यसले समाजको भविष्य नै प्रभावित पार्ने सङ्केत गर्दछ ।

यस सन्दर्भमा स्पष्ट हुन्छ कि समस्या केवल वृद्धाश्रम वा एज–केयरको प्रयोगमा मात्र सीमित छैन । शिक्षा प्रणाली, भाषा नीति र सांस्कृतिक दृष्टिकोणको समग्र असन्तुलनले यस्तो अवस्था सिर्जना गरेको हो । यदि हामीले सन्तुलित दृष्टिकोण अपनाउन सकेनौँ भने न त परिवार बच्न सक्छ, न त समाजको भावनात्मक संरचना नै ।

नेपाल एउटा बहुसांस्कृतिक, बहुभाषिक र बहुधार्मिक समाज हो । यहाँ विकास केवल भौतिक संरचनामा सीमित छैन ।  सामाजिक संरचना, शिक्षा, संस्कार र नैतिक मूल्यहरूसँग यसको गहिरो सम्बन्ध छ । हाम्रो इतिहासमा गाउँ–घरको सानो परिवेशमै सामूहिक चेतना, पारिवारिक माया, सहयोग र परोपकारका आधारमा समाज अघि बढेको थियो । घर, परिवार र समाजबीचको सम्बन्ध केवल व्यक्तिगत विषय थिएन। यो समाजको स्थायित्व र दिगोपनको आधार थियो ।

आजको अवस्थालाई बुझ्न एउटा सरल तर गहिरो दृष्टान्त पर्याप्त छ । जसरी झुसिल किरा (लार्भा) आफ्नो खोलमा बसेर बिस्तारै पुतली बन्छ र एक दिन त्यो खोल छोडेर आकाशमा उड्छ, त्यसरी नै आमाबुबाले आफ्ना सन्तानलाई सानैदेखि माया, दुःख, सङ्घर्ष, शिक्षा र अनुशासन सिकाएर सक्षम बनाउँछन् । तर विडम्बना के छ भने, पुतली बनेको सन्तान आफ्नो जन्मस्थलको माया र जिम्मेवारी बिर्सेर, वृद्ध आमाबुबालाई झुसिल किराको खाली खोल जस्तै घरमा छोडेर आफ्नो संसारमा हराउँछ ।

आमाबुबाले आफ्ना सन्तानका लागि जीवनको हरेक क्षण समर्पण गरेका हुन्छन् । उनीहरूले आफ्ना छोराछोरीलाई शिक्षित, सक्षम र सफल बनाउन आफ्ना चाहना, सुख र समय सबै त्यागेका हुन्छन् । तर जब ती सन्तान “उड्न योग्य” हुन्छन्, तब प्रश्न उठ्छ—के उनीहरूले आफ्नो जरा, आफ्नो घर र आफ्ना आमाबुबालाई सम्झन्छन् ?

यथार्थमा, धेरै अवस्थामा सन्तान आफ्नो करियर, व्यक्तिगत जीवन र व्यस्ततामा यति अल्झिन्छन् कि बुढेसकालमा आमाबुबा एक्लो महसुस गर्न बाध्य हुन्छन् । उनीहरू त्यही झुसिल किराको खोल जस्तै घरमा छोडिएका जस्ता देखिन्छन् - जहाँ कहिल्यै जीवनको सार थियो, तर अहिले केवल खालीपन मात्र बाँकी छ ।

यो केवल भावनात्मक विषय होइन ।  यो समाजमा आएको गहिरो संरचनात्मक परिवर्तनको सङ्केत हो । पहिले “आमा–बुबा देवता हुन्” भन्ने संस्कार बलियो थियो । परिवार भावनात्मक सम्बन्धको केन्द्र थियो । छिमेकी, आफन्त, पँधेरो, मेलापात—यी सबैले समाजलाई जोड्थे । घर कच्चा भए पनि सम्बन्धहरू पक्का हुन्थे ।

आजका सन्तानहरू शिक्षित छन्, विद्वान छन्, आधुनिक ज्ञानले सम्पन्न छन् । तर प्रश्न उठ्छ—के उनीहरू व्यवहारमा पनि त्यत्तिकै संवेदनशील र कर्तव्यनिष्ठ छन् त ?

हाम्रो परम्परागत नैतिक शिक्षा क्रमशः कमजोर हुँदै गएको अनुभूति हुन्छ । कुनै समय श्रवण कुमार ले आफ्ना अन्धा आमाबुबाप्रति देखाएको सेवा, श्रद्धा र समर्पणको कथा घरघरमा सुनाइन्थ्यो । त्यो कथा केवल धार्मिक प्रसङ्ग मात्र होइन, सन्तानले आमा–बुबाप्रति कस्तो व्यवहार गर्नुपर्छ भन्ने जीवन्त शिक्षा थियो ।

तर आज हामीले आफ्ना सन्तानलाई त्यस्ता आदर्श कथा कति सुनाएका छौँ ? कति हदसम्म हामीले उनीहरूमा सेवा, करुणा र जिम्मेवारीको भावना विकास गराएका छौँ ?

यस विषयमा हाम्रो आफ्नै कमजोरीको मूल्यांकन आवश्यक देखिन्छ ।

यही कारणले गर्दा आजको समाजमा एउटा पीडादायक अवस्था देखापरेको छ-

आमा–बुबाले आफ्नै घरमा छोराबुहारी, छोरी–ज्वाइँबाट सेवा–सत्कार पाउनुपर्ने ठाउँमा, वृद्धाश्रममा वस्तुजस्तै पालिने परिस्थिति सिर्जना हुँदै गएको छ ।

यस अवस्थालाई परिवर्तन गर्नका लागि श्रवण कुमार जस्तो आदर्श चरित्रको दृष्टान्त पुनः सान्दर्भिक बन्न सक्छ । त्यसैले यस्ता कथाहरूलाई “पुरानो” भनेर त्याग्नु होइन, बरु नयाँ पुस्तालाई बुझ्ने शैलीमा प्रस्तुत गर्नु आवश्यक छ ।

३.  वृद्धाश्रम र एज–केयरको बढ्दो प्रवृत्ति ।

आजको समयमा हाम्रो समाजमा एउटा अत्यन्त संवेदनशील र गहिरो सामाजिक परिवर्तन देखापरेको छ—

अधिकांश आमाबुबालाई वृद्धाश्रम वा एज–केयर (Age Care) मा राखिने क्रम दिनानुदिन बढ्दो छ ।

यो केवल व्यक्तिगत निर्णय वा पारिवारिक विकल्प मात्र होइन:

यसको पछाडि गहिरा सामाजिक, शैक्षिक, सांस्कृतिक र भाषागत कारणहरू लुकेका छन् ।

परिवार सानो हुँदै जानु, वैदेशिक रोजगारी, व्यस्त जीवनशैली, र परम्परागत मूल्य–मान्यताप्रति घट्दो लगावजस्ता कारणले यो अवस्था सिर्जना भएको देखिन्छ ।

यद्यपि, यस परिवर्तनबीच पनि मानवीय मूल्य—विशेष गरी आमा–बुबाप्रतिको सम्मान, सेवा र आत्मीयता—लाई जोगाइराख्नु हाम्रो साझा जिम्मेवारी हो ।

उक्त दृष्टान्तबाट सिक्नै पर्छ( आधुनिक शिक्षा र प्रविधिको विकाससँगै मानवीय संवेदना हराउन दिनु हुँदैन । श्रवण कुमार को कथा आज पनि सान्दर्भिक छ, किनकि यसले हामीलाई सम्झाउँछ-

“साँचो प्रगति भनेको केवल ज्ञानमा होइन, व्यवहारमा देखिने संस्कारमा हुन्छ ।”

तर आज परिस्थिति बदलिएको छ । शिक्षा बढेको छ, अवसर बढेको छ, विदेश जाने चलन बढेको छ—यी सबै सकारात्मक परिवर्तन हुन् । तर सँगसँगै पारिवारिक सम्बन्ध कमजोर हुँदै गएको अनुभूति हुन्छ । आधुनिक जीवनशैलीले स्वतन्त्रता सिकायो, तर कतिपय अवस्थामा यही स्वतन्त्रता एक्लोपनमा परिणत भएको छ ।

४.  परिवार र सामाजिक संरचना: नैतिक मूल्य र जिम्मेवारी ।

नेपालको परम्परागत समाजमा परिवार केवल बस्ने ठाउँ मात्र थिएन, यो संस्कार, मूल्य र सामाजिक चेतनाको आधार थियो ।

क.  सामूहिक चेतना: छिमेकी, परिवार र समाजबीचको सहयोगले सुरक्षा, सम्मान र सामाजिक उत्तरदायित्व विकास गर्थ्यो ।

ख.  नैतिक शिक्षा: सानो उमेरदेखि बच्चाले आदर, सहयोग, संयम र सहानुभूति सिक्थे ।

ग। कर्तव्य–अधिकार सन्तुलन: परिवारका सदस्यहरूले अधिकार र कर्तव्यको सन्तुलन बुझ्थे ।

आज, आधुनिक शिक्षा र पाश्चात्य प्रभावका कारण घर–परिवारमा यी मूल्य कमजोर भएका छन् ।

सन्तानले उच्च शिक्षा हासिल गर्न विदेश जाने क्रममा आमाबुबालाई घरमै छोड्छन् । यसलाई पूर्वीय दर्शनको दृष्टिकोणबाट हेर्ने हो भने, पारिवारिक सम्बन्ध र कर्तव्यको पालना नगरीकन व्यक्तिगत स्वतन्त्रता अति महत्त्व दिनु सामाजिक असन्तुलन हो । पाश्चात्य दृष्टिकोणले स्वतन्त्रता, अधिकार र व्यक्तित्व विकास सिकाउँछ, तर जब जिम्मेवारी र सम्बन्ध गुम्छ, तब समाजमा समस्या उत्पन्न हुन्छ ।

हक–कर्तव्यको सन्तुलनबाट समाज सुधार ।

१.  समाधानतर्फको सन्तुलित दृष्टिकोण ।

अब प्रश्न उठ्छ—के यसको दोष केवल पाश्चात्य शिक्षालाई दिने रु वा हाम्रो आफ्नै परम्परा कमजोर भएको परिणाम हो ?

सत्य के हो भने, समस्या एकतर्फी छैन । पाश्चात्य शिक्षाले हामीलाई अधिकार, स्वतन्त्रता र वैज्ञानिक सोच सिकाएको छ, जुन आवश्यक छ । तर पूर्वीय संस्कारले सिकाएको कर्तव्य, सम्मान र सम्बन्धको मूल्य हामीले क्रमशः छोड्दै गयौँ । हामीले ज्ञान त लियौँ, तर मूल्यलाई सँगै राख्न सकेनौँ । यही असन्तुलन नै आजको समस्याको जरो हो ।

त्यसैले अब समय आएको छ—न त पुरानो सम्पूर्ण रूपमा त्याग्ने, न त नयाँलाई अन्धाधुन्ध अपनाउने । बरु दुवैबीच सन्तुलन खोज्ने । शिक्षा मात्र होइन, संस्कार पनि आवश्यक छ: स्वतन्त्रता मात्र होइन, जिम्मेवारी पनि उत्तिकै महत्त्वपूर्ण छ ।

२.  विकासमा भाषाको भूमिका: आधारभूत कागजातको महत्त्व ।

अर्को महत्त्वपूर्ण पक्ष भाषा र विकाससँग सम्बन्धित छ । हामी विकासका कुरा धेरै गर्छौँ—ठूला योजना, बजेट, प्रविधि । तर ती योजना कार्यान्वयन गर्ने मान्छेले भाषा नै बुझेन भने त्यो विकास कागजमै सीमित रहन्छ । त्यसैले अब समय आएको छ—नेपालमा विकाससम्बन्धी आधारभूत कागजातहरू आफ्नै भाषामा अनिवार्य गरिनुपर्छ ।

यो केवल भाषाको विषय होइन: यो बुझाइ, सम्मान र सहभागिताको विषय हो । जब कामदारले आफ्नो भाषामा लेखिएको कागजात बुझेर काम गर्छ, तब उसमा आत्मविश्वास बढ्छ, जिम्मेवारीको भावना विकास हुन्छ र कामको गुणस्तर पनि सुधार हुन्छ ।

यसरी हेर्दा परिवार, शिक्षा, समाज र विकास—यी सबै विषयहरू एकअर्कासँग गहिरो रूपमा जोडिएका छन् । यदि हामीले सन्तुलित दृष्टिकोण अपनाउन सक्यौँ भने मात्र समाजलाई सही दिशामा अघि बढाउन सक्छौँ । अन्यथा, हामी बाहिरी रूपमा प्रगति गरिरहेका देखिए पनि भित्री रूपमा कमजोर हुँदै जानेछौँ ।

अन्ततः, यो अवस्था कुनै संयोग होइन । यसमा गहिरा सामाजिक, सांस्कृतिक र नैतिक कारणहरू रहेका छन् । पूर्वीय मूल्य र पाश्चात्य जीवनशैलीबीचको असन्तुलन, पारिवारिक संरचनामा आएको परिवर्तन, शिक्षा प्रणालीमा नैतिकताको कमजोर समावेश, र व्यावहारिक ज्ञानको अभावले यस्तो परिस्थिति सिर्जना गरेको हो ।

३.  नेपाली भाषामा प्राविधिक दस्तावेजको महत्त्व

नेपालमा विकास परियोजना कार्यान्वयन गर्दा प्रायः प्राविधिक दस्ताबेज विदेशी भाषामा तयार हुन्छन् । लागत अनुमान, कार्यविधि, नक्सा र निर्देशिकाहरू प्रायः अंग्रेजी वा अन्य भाषामा हुन्छन् । तर काम गर्ने व्यक्ति—स्थानीय श्रमिक र प्राविधिक—प्रमुखतया नेपाली भाषी हुन्छन् ।

यदि यी दस्ताबेजहरू नेपाली भाषामा उपलब्ध भएनन् भने समस्या उत्पन्न हुन्छस्

क) कामदारलाई स्पष्ट निर्देश नहुँदा त्रुटि र ढिलाइ बढ्छ ।

ख) प्राविधिक निरीक्षकलाई बारम्बार निर्देशन दिनुपर्ने हुन्छ ।

ग) परियोजनाको गुणस्तर र कार्यसम्पादनमा कमी आउँछ ।

यसका साथै, नेपाली भाषामा स्पष्ट कागजात तयार गर्नु केवल भाषाको कुरा मात्र होइन: यो आत्मनिर्भरता, सम्मान र सामाजिक उत्तरदायित्वको कुरा पनि हो । जब स्थानीय जनशक्ति आफ्नै भाषामा काम बुझ्छन्, उनीहरू जिम्मेवार, दक्ष र आत्मनिर्भर बनाउँछन् ।

नेपालकै कुनैमा एउटा सडक निर्माण परियोजना लिऊँ । विदेशी भाषामा तयार भएको रिपोर्टअनुसार कामदारले माटो मिश्रणको अनुपात गलत प्रयोग गरे । फलस्वरूप, सडक छिट्टै भाँचियो । पछि त्यही योजना नेपालीमा स्पष्ट रूपमा अनुवाद गरी कार्यविधि बुझाइएको छ । कामदारले सहजै अनुपात मिलाएर प्रयोग गरे, परिणामस्वरूप सडक मजबुत भयो ।

यसले देखाउँछ कि भाषा र विकास कार्यबीचको सम्बन्ध गहिरो छ । नीति निर्माता, योजनाकार र कार्यान्वयनकर्ताले भाषाको महत्त्व बुझ्नुपर्छ, अन्यथा कुनै पनि परियोजना असफल हुने सम्भावना बढ्छ ।

४.  शिक्षा र नैतिक संस्कारस् सन्तुलन र पुनर्संरचना ।

आजको शिक्षा प्रणाली केवल ज्ञान दिने केन्द्र बनेको छ, जीवनोपयोगी शिक्षामा कम ध्यान दिइएको छ । यो असन्तुलनले हक–कर्तव्यको ज्ञानमा कमी ल्याउँछ ।

समाधानमुखी उपाय

१.  घरबाट नैतिक शिक्षा:

- बच्चालाई अधिकार मात्र होइन, कर्तव्य सिकाउनुपर्छ ।

- वृद्धलाई सम्मान गर्ने अभ्यास घरमै सुरु गर्नुपर्छ ।

२.  विद्यालयमा जीवनोपयोगी शिक्षा:

- केवल पाठ्यपुस्तक ज्ञान मात्र होइन, व्यवहारिक ज्ञान र सामाजिक जिम्मेवारीको पाठ्यक्रम समावेश गर्नु आवश्यक छ ।

३.  पूर्वीय–पाश्चात्य सन्तुलन:

पूर्वीय दर्शनले कर्तव्य, संयम र सम्बन्ध सिकाउँछ ।

पाश्चात्य दर्शनले स्वतन्त्रता, अधिकार र वैज्ञानिक सोच सिकाउँछ ।

- यी दुवैलाई सन्तुलित गरेर शिक्षा दिइनु समाज सुधारको आधार हो ।

४.  नीतिगत भूमिका:

- राज्यले शिक्षा नीतिमा नैतिक शिक्षा, पारिवारिक मूल्य र सामाजिक उत्तरदायित्व समावेश गर्नुपर्छ ।

- केवल डिग्री उत्पादन होइन, जिम्मेवार नागरिक तयार गर्ने नीति आवश्यक छ ।

५.  समाजमा उदाहरण: क.  कानुनभन्दा ठूलो कुरा उदाहरण हो । ख.  जब समाजमा सन्तानले वृद्ध आमाबुबाको सम्मान गर्छन्, यो अर्को पुस्ताको लागि शिक्षा बन्छ ।

४.  ऐतिहासिक सन्दर्भ र समाजशास्त्रीय विश्लेषण ।

नेपालको ऐतिहासिक समाजमा सामूहिक चेतना र पारिवारिक संरचना बलियो थियो ।

क)  राजवंशीय काल: राजा र राज्यले समाजमा धर्म, संस्कार र जिम्मेवारीको शिक्षा दिएको ।

ख)  गाउँ–संसार: प्रत्येक गाउँमा सामूहिक निर्णय, सहकार्य र उत्सवले सामाजिक बन्धन मजबुत पारे ।

ग)  नैतिक शिक्षा: गुरु–शिष्य परम्परा र पारिवारिक संरचनामा नैतिक शिक्षा अभिप्रेषित हुन्थ्यो ।

आजको समाजमा परिवर्तनको कारण:

क) आधुनिक शिक्षा र प्रविधि: व्यक्तिगत अधिकारको बोध बढ्यो, तर पारिवारिक जिम्मेवारी कमजोर भयो ।

ख) पाश्चात्य संस्कृति र जीवनशैली: स्वतन्त्रता र व्यक्तिगत उपलब्धि केन्द्रित भयो, सहकार्य कम भयो ।

ग) शहरीकरण र विस्थापन: पारिवारिक संरचना कमजोर भयो, वृद्ध वृद्धा असुरक्षित भए ।

६.  व्यवहारिक अभ्यास र नीति सिफारिश ।

परिवार–विद्यालय–समाज तालमेल: घर र विद्यालयले मिलेर बच्चालाई नैतिक शिक्षा, कर्तव्य र अधिकार सिकाउनुपर्छ । भाषा–आधारित विकास कागजात: क.  विकास परियोजना नेपाली भाषामा स्पष्ट कागजातको माध्यमबाट लागू गर्नु । ख.  स्थानीय जनशक्तिलाई जिम्मेवार, दक्ष र आत्मनिर्भर बनाउनु ।

सामाजिक अभियान: वृद्ध आमाबुबाको सम्मान र सामाजिक उत्तरदायित्वलाई प्रचार–प्रसार गर्ने ।

सन्तुलित शिक्षा प्रणाली: ज्ञान' नैतिकता' जीवनोपयोगी सीप, सन्तुलित नागरिक । 'नैतिकता' जीवनोपयोगी सीप, सन्तुलित नागरिक ।

समग्रमा भन्दा, नेपालको समाज सुधार केवल भौतिक विकास वा आधुनिक शिक्षा मात्रमा निर्भर छैन । भाषा, विकास, परिवार र नैतिक संस्कारको हक–कर्तव्य सन्तुलनले मात्र समाज दिगो, जिम्मेवार र सम्मानजनक बन्न सक्छ ।

क) भाषाले कामदार र प्राविधिकलाई सक्षम बनाउँछ ।

ख) परिवारले नैतिक शिक्षा र जीवनोपयोगी मूल्य सिकाउँछ ।

ग) शिक्षा प्रणालीले पूर्वीय–पाश्चात्य सन्तुलन कायम गर्छ ।

घ) नीति र समाजले उदाहरण प्रस्तुत गर्छ ।

सन्तुलित दृष्टिकोणले मात्र हामी सक्षम नागरिक, दिगो विकास, र सामूहिक संस्कारको पुनर्निर्माण गर्न सक्छौं । शिक्षा र ज्ञानले उत्प्रेरित भइ  पुतली बनेका सन्तान फेरि जन्मस्थलको माया बुझ्छन्, समाजमा जिम्मेवार भूमिका निर्वाह गर्छन् र आमाबुबालाई झुसिल किराको खाली खोल जस्तो छोड्दैनन् भन्ने अपेक्षा गर्नैपर्छ । 

- लेखक: चण्डी कार्की