टक्सार (भोजपुर), ८ वैशाख । भोजपुरको प्रतिष्ठित भोजपुर गोल्डकप अन्तर्गतको मङ्गलबार भएको तेश्रो खेलमा केपिलासगढी गाउँपालिका खोटाङलाई हराउँदै सातदोवाटो युथ क्लव ललितपुर सेमीफाइनल प्रवेश गरेको छ । निर्धारित खेलमा सातदोवाटोले ३–० गोलले केपिलासगढीलाई पराजित गर्दै सेमीफाइनलको यात्रा तय गरेको हो ।
सातदोवाटोको लागि जर्सी नम्बर १८ का विकास दर्लामी मगर, जर्सी नम्बर ६ का समिर तामाङ र जर्सी नम्बर ३३ का प्रज्जवल चौधरीले १–१ गोल गरेका थिए भने केपिलासगढीका तर्फबाट कुनै गोल हुन सकेन ।
भोलि बुधबारको अन्तिम खेल प्लानिङ ब्वाइज युनाइटेड, काठमाडौँ रद गोर्खाज फुटबल क्लब, उदयपुरका बीचमा हुने आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रविण सुवालले जानकारी दिनुभयो ।
भोजपुर जिल्ला फुटबल सङ्घको आयोजना तथा भोजपुर नगरपालिकाको ३० लाख मुख्य प्रायोजनमा भोजपुर नगरपालिका–७, कोदारमा रहेको रङ्गशालामा नवौँ संस्करणका रूपमा गत वैशाख ६ गतेदेखि प्रतियोगितामा सुरु भएको हो ।
प्रतियोगितामा एपीएफ नेपाल, एलएक्स सिटी मोरङ्ग, आयोजक भोजपुर जिल्ला फुटबल सङ्घ, सङ्खुवासभा ११, सङ्खुवासभा, सातदोवाटो युथ क्लव ललितपुर, केपिलासगढी गाउँपालिका खोटाङ्ग, प्लानिङ ब्वाइज युनाइटेड काठमाडौँ रद गोर्खाज फुटबल क्लब उदयपुर गरी आठ वटा टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख र तीन लाख प्राप्त गर्ने छन् । अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोकृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोल रक्षकलाई पुरस्कारको व्यवस्था गरिएको छ ।