शनिबार २८ चैत, २०८२

नेपाली समय

त्रिविको प्रवक्तामा भण्डारी नियुक्त

त्रिविको प्रवक्तामा भण्डारी नियुक्त

काठमाडौं, १९ चैत । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्ले त्रिविको प्रवक्तामा त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालय प्रमुख एवम् उपप्रशासक नविन्द्र भण्डारीलाई नियुक्त गरेको छ ।

गत चैत्र १० गतेको कार्यकारी परिषद्को बैठकले सुशासन ऐन २०६४ को दफा ३५ बमोजिम त्रिविको प्रवक्ताको जिम्मेवारी त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालयका प्रमुख भण्डारीलाई दिएको हो । भण्डारीले यस अघि रजिष्टार कार्यालयको प्रमुख र परीक्षा नियन्त्रण कार्यालयमा परीक्षा महाशाखा प्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएको छ । 

त्रिविमा लामो समयदेखि प्रवक्ताको जिम्मेवारी कसैलाई तोकिएको थिएन भने त्रिविको प्रवक्ता नियुक्ति र सूचना सार्वजनिक गर्न सञ्चारकर्मी एवम् सरोकारवालाले माग गर्दै आएका थिए ।

सुशासन ऐन २०६४ ले दफा ३५ मा प्रवक्ता तोक्नुपर्ने व्यवस्था गरेको छ । जसका लागि उक्त दफाले प्रत्येक मन्त्रालय, विभाग तथा सरकारी निकाय एवम् कार्यालयले आफ्नो मन्त्रालय, विभाग तथा सरकारी निकाय एवम् कार्यालयको काम कारवाहीबारे सरोकारवालालाई वा सार्वजनिक रूपमा जानकारी दिन मन्त्रालय, विभाग तथा सरकारी निकाय एवम् कार्यालयको कुनै अधिकृतलाई प्रवक्ता तोक्नुपर्नेछ व्यवस्था गरेको छ ।

यसैगरी सुशासन सञ्चालन तथा व्यवस्थापन नियमावली २०६५ मा प्रवक्ताको चार प्रकारका काम, कर्तव्य र अधिकार तोकिदिएको छ ।

जसमा आफू कार्यरत निकायमा रहेका सार्वजनिक गर्नुपर्ने सूचनाहरू प्राप्त गर्ने, सार्वजनिक गर्नुपर्ने विषयका सूचना आफूभन्दा एक तह माथिको अधिकारीको स्वीकृति लिएर नियमित रूपमा सार्वजनिक गर्ने, कसैले कार्यालयसँग सम्बन्धित खास विषयको जानकारी माग गरे प्रचलित कानून बमोजिम दिने र प्रवक्ताको बैठकमा भाग लिने जिम्मेवारी तोकिएका छन् ।

सार्वजनिक हितविरुद्ध हुने विषय भएमा त्यस्तो जानकारी दिन प्रवक्ता बाध्य नहुने पनि नियममा उल्लेख छ ।