शनिबार २८ चैत, २०८२

नेपाली समय

भक्कानिए दल मर्दन कामी; बर्कोमा न्याय माग्दै इनिसा बि.क.की आमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा

भक्कानिए दल मर्दन कामी; बर्कोमा न्याय माग्दै इनिसा बि.क.की आमा जिल्ला प्रशासन कार्यालय सुर्खेतमा

काठमाडौं, २७ फागुन । दलित समुदायमाथि बढ्दो हिंसा, बलात्कार तथा हत्या घटनाको विरोध गर्दै दलित अधिकारकर्मी तथा युवाहरूले बुधबार काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनमा सहभागीहरूले पीडितका लागि न्यायको माग गर्दै राज्यको ध्यानाकर्षण गराएका छन् ।

आजै सुर्खेतमा पनि किशोरी इनिसा बि.क.माथि भएको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा बृहत् र्‍याली निकालिएको छ। न्यायको माग गर्दै महिलाहरूले ओढ्ने बर्कोमा ‘न्याय देऊ’ भन्ने ब्याङ्ग्यत्मक सन्देश संयम इनिसा बि.क.की आमा सहित पीडित परिवार र स्थानीयहरू जिल्ला प्रशासन कार्यालय सुर्खेत पुगेका थिए।

प्रदर्शनकारीहरूले ‘महिला हिंसा अन्त्य गर’, ‘बलात्कारीलाई कडा कारबाही गर’, ‘सरकार बदलियो, समाज बदलिएन’, ‘महिला शोषणविरुद्ध एक हौँ’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए। मृतक इनिसा बि.क.को आत्माको शान्तिका लागि दीप प्रज्वलन समेत गरिएको थियो।

प्रदर्शनमा सहभागीहरूले देशभर दलित समुदायमाथि हिंसाका घटना बढ्दै गएको भन्दै यस्ता घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्। साथै निर्वाचनपछि संसदमा पुगेका दलित प्रतिनिधिहरूले अब दलित समुदायका मुद्दालाई सशक्त रूपमा उठाउनुपर्नेमा जोड दिएका छन्।

यसैक्रममा माइतीघर मण्डलामा सञ्चारकर्मीहरूसँग कुरा गर्ने क्रममा संयुक्त नागरिक पार्टीका अध्यक्ष दल मर्दन कामी भावुक हुँदै भक्कानिएका छन उनले दलित सहित उत्पीडित बर्बरता कहिले सम्म भन्दै उत्पीडितहरू माथि न्याय र समानताको निम्ति इमानदार रूपमा सङ्घर्ष गरिरहेका व्यक्तिहरूमाथि अन्याय भइरहेको भन्दै दुःख व्यक्त समेत गरेकाछन्। 

यही फागुन २१ गते सम्पन्न निर्वाचनलाई इङ्कित गर्दै निर्वाचन आफू विगत ३५ वर्षदेखि निरन्तर उत्पीडित समुदायको मुक्ति र अधिकारका लागि सङ्घर्षरत रहेको उल्लेख गर्दै कामीले पछिल्लो समय जनतामा भ्रम सिर्जना भएको र लहडका आधारमा राजनीतिक निर्णय हुँदा इमानदार नेतृत्वहरूलाई समेत क्षति पुगेको गुनासो गरे।

उनले इनिसा बि.क.माथि भएको बलात्कारपछि हत्या गरिएको घटनामा जातीय विभेदको गम्भीर पाटो लुकेको दाबी गर्दै यस्तो जघन्य अपराधमा संलग्न दोषीलाई हदैसम्मको कारबाही गर्न सरकारसँग सशक्त माग गरे। साथै जातीय विभेद, महिला हिंसा र बलात्कारका घटनाविरुद्ध निरन्तर सङ्घर्ष जारी रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा पूर्व राजदूत डा. निर्मल विश्वकर्माले पनि जातीय विभेद, हत्या र हिंसा मुलुकको समृद्धिका लागि ठूलो बाधक भएको भन्दै यस्ता विभेद अन्त्य गर्न राज्य गम्भीर बन्नुपर्नेमा जोड दिएका थिए।

यसैबीच आजै सुर्खेत, नेपालगञ्ज र दाङ लगायतका विभिन्न स्थानहरूमा पनि दलित समुदायमाथि बढ्दो हिंसाविरुद्ध विरोध कार्यक्रम तथा खबरदारी प्रदर्शन गरिएको आयोजकहरूले जनाएका छन्।