शनिबार २८ चैत, २०८२

नेपाली समय

भोजपुर प्रतिभा पुरस्कार -२०८२ कलाङ्लाई प्रदान गरिने

भोजपुर प्रतिभा पुरस्कार -२०८२ कलाङ्लाई प्रदान गरिने

भोजपुर, २७ फागुन । भोजपुर प्रतिभा पुरस्कार- २०८२ नारद हर्ताम्छाली कलाङ्लाई प्रदान गरिने भएको छ ।

त्रिवेणी साहित्य प्रतिष्ठान,भोजपुरले हरेक वर्ष प्रदान गर्ने यो पुरस्कार २०३५ सालदेखि अनवरत रूपमा साहित्य, कला र सङ्गीत कार्यमा क्रियाशील व्यक्तित्व, कवि, नाटककार, चित्रकार, मूर्तिकार, गायक, सङ्गीतकार, अभिनेता र लोकसंस्कृतिका अनुसन्धाता नारद हार्तम्छाली 'कलाङ' लाई प्रदान गर्ने निर्णय भएको कुरा प्रतिष्ठानले जनाएको छ ।

उहाँको कविता र गीतिसङ्ग्रह 'वैशाखे चिउला' (२०५३), 'कलाङ' (२०५८) र 'साम्बुङ' (२०७३) शीर्षकमा प्रकाशित छन् भने नाट्यकृति 'ज्याला' (सहलेखन, २०४३ तिर मञ्चित) र 'सिर्जनाको सानो संसार- यो नाटक होइन' (२०५७) शीर्षकमा रहेका छन् ।

उहाँले नाटकका साथै नेपाली चलचित्र 'बलिदान' मा चरित्र अभिनय गरेका छन् । यिनको सम्पादनमा 'भोजपुरे कोथाहरू' (२०५८), 'पाइला' (२०५८) र 'सङ्गम' (२०६९) पत्रिका प्रकाशित छन् भने अधिराज्यव्यापी चित्रकला प्रतियोगितामा प्रथम पुरस्कार (२०४४), राष्ट्रिय प्रतिभा पुरस्कार (२०६८), पारिजात कला सम्मान (२०६९), उत्कृष्ट कार्यपत्र पुरस्कार (२०७०) आदि पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् ।

यसअघि भोजपुर प्रतिभा पुरस्कार मोक्तान भाइ (२०७९), इन्द्रसुर बेल्टारे(२०८०), र प्रेम शाक्य(२०८१)ले प्राप्त गरेकाछन् । यस पुरस्कारको राशि रु.२२,२२२।– रहेको छ ।