शनिबार २८ चैत, २०८२

नेपाली समय

ध्रुवराज राई: स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

ध्रुवराज राई: स्ववियु सभापतिदेखि पालिका अध्यक्ष हुँदै सांसदसम्म

टक्सार (भोजपुर), २५ फागुन । भोजपुरको पश्चिम टेम्केमैयुङ गाउँपालिका–४, नागीमा २०३९ सालमा सामान्य परिवारमा जन्मनुभएका ध्रुवराज राई प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको भोजपुरबाट श्रम संस्कृति पार्टीबाट निर्वाचित हुनुभएको छ ।

नेकपा (एमाले) मा रहेर विद्यार्थी तहबाट नै नेता बन्नुभएका राई भोजपुर बहुमुखी क्याम्पसको दुईपटक स्ववियु सभापति हुँदै टेम्केमैयुङ गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभयो । त्रिचालिस वर्षीय राई २०६२÷६३ को जनआन्दोलनमा अग्रपङ्क्तिमा उभिनुभयो । 

विसं २०७४ को स्थानीय निर्वाचनमा राई काँग्रेस, माओवादी र सङ्घीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै पालिका अध्यक्षमा विजयी बन्नुभएको थियो । सोही समय उहाँले अन्धकारमा रहेको टेम्केमैयुङ गाउँपालिका विद्युत्को पहुँच पु¥याउँदै गाउँ नै झिलीमिली बनाउनुभएको थियो । स्थानीय तहको २०७९ को निर्वाचनमा भने राई काँग्रेसका सरोज बस्नेतसँग पराजित हुनुभयो । 

राई एमाले परित्याग गर्दै हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीमा केही महिना अगाडि मात्र प्रवेश गर्नुभएको थियो । सोभन्दा अगाडि राई एमालेको कोशी प्रदेश कमिटी सदस्य हुनुहुन्थ्यो ।

एमाले छोडनु भएका राईले सोही पार्टीका केन्द्रीय सचिव शेरधन राईलाई एक हजार ९१३ मतले पछि पार्दै विजयी हासिल गर्नुभएको हो । उहाँले १६ हजार ६६३ मत प्राप्त गर्दा एमाले उम्मेदवार राईले १४ हजार ७५० मत प्राप्त गर्नुभयो ।