बुधबार २८ माघ, २०८२

नेपाली समय

रौतहटमा तस्करी र अपराधविरुद्ध 'शून्य सहनशीलता': एसपी  रिजाल

रौतहटमा तस्करी र अपराधविरुद्ध 'शून्य सहनशीलता': एसपी  रिजाल

रौतहट, २१ माघ । जिल्ला प्रहरी कार्यालय रौतहटका नवनियुक्त प्रहरी उपरीक्षक  सिताराम रिजालले जिल्लामा तस्करी, आपराधिक गतिविधि र कुनै पनि प्रकारका अवैध कार्यहरूलाई पूर्ण रूपमा निस्तेज पार्ने उद्घोष गरेका छन्।

बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित परिचयात्मक तथा सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले शान्ति सुरक्षा कायम गर्न र विधिको शासन स्थापित गर्न आफू प्रतिबद्ध रहेको बताए।

​प्रहरी व्यवसायी भए दाग लाग्दैन

​प्रहरीको व्यावसायिकतामा जोड दिँदै एसपी रिजालले भने, यदि प्रहरी कर्मचारी इमान्दार र व्यावसायिक भएर आफ्नो कर्तव्य पालन गर्छन् भने सङ्गठन र व्यक्तिको छविमा कहिल्यै दाग लाग्दैन। उनले आफ्नो विगतको 'ट्र्याक रेकर्ड' निकै राम्रो रहेको दाबी गर्दै रौतहट बसाइमा पनि सोही छवि कायम राख्दै जनताको सेवामा समर्पित हुने स्पष्ट पारे।

​सुरक्षा चुनौती र भावी योजना

​एसपी रिजालले जिल्लाको सुरक्षा अवस्था र आगामी चुनौतीहरूबारे चर्चा गर्दै विशेष कार्ययोजना सार्वजनिक गरे। उनले मुख्य रूपमा निम्न बुँदाहरूमा प्रहरीको सक्रियता बढाइने बताए:

​जेन्जि  आन्दोलनका क्रममा लुटिएका हतियारहरू आपराधिक गतिविधि वा निर्वाचनमा प्रयोग हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै विशेष सतर्कता अपनाइने, चाडपर्व र उत्सवका नाममा ठूलो आवाजमा अश्लील गीत-संगीत बजाउने डिजे लाई कडा निगरानी र नियन्त्रण गरिने, सीमा क्षेत्रबाट हुने तस्करी र 'बाकस बोकेर भाग्ने' जस्ता शंकास्पद गतिविधि हुने स्थानमा विशेष निगरानी बढाइने,मोटरसाइकल दुर्घटना न्यूनीकरण गर्न र सवारी लापरबाही रोक्न सचेतना र कानुनी कारबाहीलाई सँगसँगै अगाडि बढाइने, प्रहरी सुते अपराध बढ्छ प्रहरी जागे अपराध घट्छ। त्यसैले हामी जिल्लाबासीको सुरक्षाका लागि २४सै घण्टा उच्च सतर्कताका साथ मैदानमा रहनेछौँ।

​पत्रकारिता र सूचनाको हक

​सञ्चारकर्मीहरूसँगको संवादमा उनले प्रहरी र पत्रकारबीचको समन्वय महत्वपूर्ण हुने बताए। उनले प्रहरीबाट हुने हरेक पारदर्शी र व्यावसायिक कामको सूचना पत्रकारहरूलाई सहजै उपलब्ध गराइने र कुनै पनि तथ्य लुकाउने काम नहुने प्रतिबद्धता व्यक्त गरे।

​​आगामी होली पर्व र निर्वाचनलाई सुरक्षाको दृष्टिकोणबाट संवेदनशील मान्दै उनले सुरक्षा व्यवस्था कडा पारिने जानकारी दिए। साथै हालको समयमा सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह फैलाउने र सद्भाव बिगार्ने कार्य पनि ठूलो चुनौतीका रूपमा रहेकोले त्यस्ता गतिविधिमा संलग्नलाई साइबर कानुनअन्तर्गत कारबाही गरिने उनले चेतावनी दिए।

​अन्तमा एसपी रिजालले जघन्य अपराधमा संलग्न जोकोहीलाई पनि जाहेरी र प्रमाणका आधारमा कस्टडीमा राखेर कडा कारबाही गरिने र कुनै पनि राजनीतिक वा बाह्य दबाबमा नझुक्ने स्पष्ट पारेका छन्।