बुधबार २८ माघ, २०८२

नेपाली समय

देउराली–जनता फार्मास्युटिकल्सद्वारा भरतपुरमा चार अर्ब ७५ करोडका लगानीमा नयाँ औषधि उद्योग स्थापना गर्दै

देउराली–जनता फार्मास्युटिकल्सद्वारा भरतपुरमा चार अर्ब ७५ करोडका लगानीमा नयाँ औषधि उद्योग स्थापना गर्दै

चितवन, २१ माघ । देउराली–जनता फार्मास्युटिकल्स प्रालिले भरतपुरमा अत्याधुनिक नयाँ उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले उक्त परियोजनामा थप रु चार अर्ब ७५ करोड लगानी गर्ने भएको छ ।

फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माका अनुसार भरतपुर महानगरपालिका–१६ मा उद्योगको दोस्रो एकाइका लागि संरचनाको काम थालिएको छ ।

प्रारम्भिक काम अघि बढाइएको छ । थप संरचना निर्माणका लागि सरकारी निकायहरूसँग लिनुपर्ने अनुमतिको चरणमा रहेको छ । दुई वर्षभित्रमा निर्माणको काम सक्ने लक्ष्य लिइएको उहाँको भनाइ छ । अबको दुई महिनामा मुख्य संरचनाको काम गर्ने उद्योगको योजना रहेको छ ।

यो एकाइ सम्पन्न भए पछि करिब ५५० जनालाई प्रत्यक्ष रोजगारीको अवसर सिर्जना हुने उहाँले बताउनुभयो । देउराली–जनता विगत ३५ वर्षदेखि अत्यावश्यक जीवनरक्षक औषधिहरू स्वदेशमै उत्पादन गर्दै आएको नेपालकै अग्रणी औषधि उद्योग हो । 

हाल कम्पनीले ‘क्याप्सुल’, ‘ट्याब्लेट’, ‘लिक्विड’, ‘ओइन्टमेन्ट’, ‘ड्राइ पाउडर’लगायत २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।

 अन्तरराष्ट्रियस्तरका डब्लुएचओ जिएमपी, आइएसओ ९००१ र आइएसओ १४००१ प्रमाणपत्र प्राप्त यस उद्योगले औषधि आयातमा रहेको निर्भरता घटाउँदै मुलुकलाई आत्मनिर्भर बनाउने दिशामा योगदान पु¥याइरहेको उहाँले बताउनुभयो ।

चितवनमा नयाँ कारखाना स्थापना भएसँगै उत्पादन विविधीकरण, गुणस्तर सुधार र अन्तर्राष्ट्रिय बजारमा नेपाली औषधिको प्रतिस्पर्धात्मक क्षमता बढ्ने विश्वास लिइएको कम्पनीले जनाएको छ ।

हाल उद्योग काठमाडौँको टोखामा रहेको छ । यो पहिलो एकाइ हो भने दोस्रो एकाइ भरतपुरमा सञ्चालन गर्न लागिएको हो ।