बुधबार २८ माघ, २०८२

नेपाली समय

भारतबाट रुसी तेल रोक्ने कुनै बयान प्राप्त भएको छैन : क्रेमलिन

भारतबाट रुसी तेल रोक्ने कुनै बयान प्राप्त भएको छैन : क्रेमलिन

मस्को,२० माघ  । रुसको राष्ट्रपति कार्यालय क्रेमलिनले भारतले रुसी तेल खरिद रोक्ने विषयमा हालसम्म कुनै आधिकारिक वक्तव्य प्राप्त नभएको जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले अमेरिकासँग भएको व्यापार सम्झौताअन्तर्गत रुसी तेल खरिद बन्द गर्न सहमति जनाएको दाबी गरेपछि क्रेमलिनको यस्तो प्रतिक्रिया आएको हो ।

क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले भारत सरकारको तर्फबाट यसबारे कुनै स्पष्ट जानकारी नआएको बताउँदै दिल्लीबाट औपचारिक निर्णय सार्वजनिक नभएसम्म अनुमान गर्न नसकिने स्पष्ट पार्नुभयो ।

पेस्कोभले अमेरिका र भारतबीचको द्विपक्षीय सम्बन्धप्रति रुसको सम्मान रहेको उल्लेख गरे पनि रुस–भारतबीचको दीर्घकालीन र उन्नत रणनीतिक साझेदारीलाई समान रूपमा महत्त्वपूर्ण ठानिने बताउनुभयो । उहाँले रुस भारतसँगको सम्बन्धलाई भविष्यमा पनि निरन्तर सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति ट्रम्पले भारतसँग नयाँ व्यापार समझदारी भएको घोषणा गर्दै भारतीय वस्तुमा लाग्ने भन्सार शुल्क घटाइने र त्यसको बदलामा भारतले रुसी तेल खरिद रोक्ने तथा व्यापारिक अवरोध कम गर्ने सहमति भएको बताउनुभएका थिए ।

युक्रेन युद्ध सुरु भएपछि भारत सस्तो दरमा उपलब्ध रुसी कच्चा तेलको प्रमुख खरिदकर्ता बनेको थियो, जसका कारण पश्चिमी देशहरूले भारतको आलोचना गर्दै आएका छन् । ती देशहरूले रुसको ऊर्जा क्षेत्रमाथि प्रतिबन्ध लगाएर युद्ध सञ्चालनका लागि हुने आम्दानी घटाउने प्रयास गरिरहेका छन् ।

यस्ता अन्तर्राष्ट्रिय दबाब र कूटनीतिक गतिविधिका बीच भारतको आधिकारिक धारणा अझै सार्वजनिक नभएकाले यो विषय विश्व राजनीतिमा चासोको केन्द्र बनेको छ ।