रौतहट, २० माघ । जिल्ला सदरमुकाम गौर नगरपालिका वडा नं. ८ स्थित श्री आधारभूत विद्यालय पुरेनवामा चरम लापरबाही र बेथिति देखिएको छ। विद्यालय प्रशासनको उदासीनताका कारण करिब ४ सय विद्यार्थीको स्वास्थ्य र भविष्यमाथि खेलबाड भइरहेको पाइएको हो।
मंगलबार बिहान १०:३० बजिसक्दा पनि विद्यालयमा कुनै पनि शिक्षक-शिक्षिका उपस्थित नभएपछि आक्रोशित छात्रछात्राहरूले विद्यालयको मूल ढोकामा सामूहिक रूपमा तालाबन्दी गरेका छन्। १२ जना शिक्षकको दरबन्दी रहेको यस विद्यालयमा समयपालनको अवस्था दयनीय पाइएको हो । विद्यार्थीहरूका अनुसार शिक्षकहरू विद्यालय समयमा नआउने र आए पनि कक्षाकोठामा नपढाउने समस्या पुरानै हो।
संञ्चारकर्मीहरू विद्यालय पुग्दा कक्षा ७ मा अध्ययनरत छात्रा पिंकी र कोमलले विद्यालयको दुरावस्थाबारे गुनासो पोखे। उनीहरूका अनुसार विद्यालयमा पिउने पानीको चरम अभाव छ। शौचालयको अवस्था यति दुर्गन्धित छ कि प्रयोग गर्नै नसकिने स्थिति छ।
शौचालयमा न धारा छ, न त सरसफाइ नै। फोहोर र दुर्गन्धले गर्दा हामी बिरामी पर्ने अवस्था छ, उनीहरूले सामूहिक रूपमा भने।
यति मात्र होइन सरकारले उपलब्ध गराउने दिवा खाजामा समेत व्यापक त्रुटि र अनियमितता रहेको विद्यार्थीहरूको आरोप छ। मेनु अनुसारको खाजा कहिल्यै नदिइने र गुणस्तरहीन खाना खुवाइने गरेको गुनासो उनीहरूले गरेका छन्।
अनुगमनका क्रममा विद्यालयका सहायक प्रधानाध्यापक पुनितलाल महतो आफ्नो जिम्मेवारी बिर्सिएर कक्षाकोठा बाहिर मोबाइल चलाउन व्यस्त रहेको भेटिएको विद्यार्थीहरूले बताए। शिक्षकहरू कक्षाकोठामा उपस्थित नहुँदा विद्यार्थीहरूको पठनपाठन ठप्प भएको छ, जसका कारण अभिभावकहरू समेत आक्रोशित बनेका छन्।
स्थानीय सरकार र शिक्षा शाखाको नाकमुनि रहेको विद्यालयमा यस्तो बेथिति हुँदा पनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको आरोप छ। ४ सय विद्यार्थीको भविष्य जोडिएको संस्थामा पिउने पानी र शौचालय जस्ता आधारभूत आवश्यकता समेत पूरा नहुनुले 'सबैका लागि शिक्षा' भन्ने नारालाई नै गिज्याइरहेको हो ।