रौतहट, १९ माघ । नेपाली काँग्रेसका पुराना नेता पूर्व स्वास्थ्य राज्यमन्त्री तथा रौतहटबाट दुई पटक निर्वाचित पूर्व सांसद ब्रजकिशोर सिंहले पार्टी परित्यागको घोषणा गरेका छन्।
आइतबार रौतहटमा एक विज्ञप्ति जारी गर्दै र सञ्चारकर्मीहरूसँग कुरा गर्दै सिंहले काँग्रेससँगको आफ्नो दशकौँ लामो आबद्धता टुङ्ग्याएको घोषणा गरेका हुन्।
रौतहट निर्वाचन क्षेत्र नम्बर–१ बाट वि.सं. २०४८ र २०५१ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित सिंहले देशको वर्तमान राजनीतिक र प्रशासनिक अवस्थाप्रति कडा असन्तुष्टि व्यक्त गरेका छन्।
२०५४ सालमा स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका उनले राज्य संयन्त्रमा मौलाएको संस्थागत भ्रष्टाचारका कारण आफूले पार्टीमा बसिरहनुको औचित्य नदेखेको बताए।
सिंहले भने, प्रशासनिक संयन्त्र नै भ्रष्टाचारको दलदलमा डुबेको छ। राजनीतिक नेतृत्वले यसलाई सुधार्नुको सट्टा संरक्षण गरिरहेको महसुस भएको छ। यस्तो अवस्थामा म पहिलेझैँ मौन बसेर यो विसङ्गति हेर्न सक्दिनँ।”
उनले राजनीतिक दलभित्रै बसेर सुधारको गुन्जायस नदेखिएकोले स्वतन्त्र नागरिकको रूपमा आवाज उठाउन पार्टी छाडेको स्पष्ट पारे। पहिचान काँग्रेससँग थियो, तर कर्तव्य जनताप्रति छ।
आफ्नो राजनीतिक जीवनको उर्वर समय काँग्रेसमै बिताएको स्वीकार गर्दै सिंहले भावुक शैलीमा भने, मेरो पहिचान नेपाली काँग्रेससँग जोडिएको यथार्थ हो।
तर, आजको आवश्यकता पार्टीको झण्डा बोक्नु मात्र होइन, देश र जनताको पक्षमा सत्य बोल्नु पनि हो। वर्तमान कार्यशैलीप्रति मेरो गम्भीर असहमति छ।
पार्टी नेतृत्वको संक्षिप्त प्रतिक्रिया
सिंहको राजीनामाको खबर सार्वजनिक भएलगत्तै नेपाली काँग्रेसको स्थानीय तथा केन्द्रीय वृत्तमा चर्चा सुरु भएको छ।
यद्यपि पार्टी नेतृत्वले यसलाई खासै महत्त्व नदिने सङ्केत गरेको छ। नेतृत्व पङ्क्तिले प्रतिक्रिया दिँदै भनेको छ— पार्टीले उनलाई पटक-पटक अवसर र सम्मान दिएको छ।
निर्वाचनमा टिकटदेखि मन्त्री पदसम्मको जिम्मेवारी दिएर स्थापित गर्दा पनि सङ्कटको समयमा पार्टीलाई साथ नदिने व्यक्तिसँग अब काँग्रेसको कुनै सरोकार रहँदैन।
सिंहको बर्हिगमनले रौतहट काँग्रेसमा भने केही हदसम्म धक्का लाग्न सक्ने राजनीतिक विश्लेषकहरूको अनुमान छ।
विशेषगरी पुराना कार्यकर्ताहरूमाझ लोकप्रिय रहेका सिंहले आगामी दिनमा कुन राजनीतिक बाटो रोज्छन् भन्ने विषयमा चासो बढेको छ।