बुधबार २८ माघ, २०८२

नेपाली समय

सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

सुन्तलाका बोट सुक्दै गएपछि भोजपुरका किसान समस्यामा

भोजपुर, १९ माघ । जिल्लामा सुन्तलाका बोट सुक्न थालेपछि किसान समस्यामा परेका छन् ।  सुन्तलामा देखिएका विभिन्न रोगका कारण बगान नै सखाप हुने अवस्था आएपछि किसानको जीविकोपार्जनमै सङ्कट उत्पन्न भएको छ ।  लामो समयदेखि मेहनत गरेर हुर्काइएका बोट सुक्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

भोजपुर नगरपालिका–६ का स्थानीयवासी किसान सोवित आछामेका  अनुसार सुन्तलामा एैजरु पलाउने, हाँगा सुक्ने, फल नलाग्ने, फल झर्ने तथा पात पहेँलो हुँदै अन्ततः बोट नै सुक्ने समस्या देखिन थालेको छ । यी समस्याका कारण उत्पादन घट्दै गएको र कतिपय स्थानमा बगान पूरै नष्ट हुने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।

प्राविधिक सहयोगको कमी र समयमै उपचार नपाउँदा समस्या झनै बढ्दै गएको किसानको गुनासो छ । बगान नै सुक्न थालेपछि बाध्य भएर सुन्तलाका बोट काटेर फाल्नुपरेको भोजपुर –६ का किसान आछामेले बताउनुभयो । 

“राज्यका सम्बन्धित निकायले सुन्तलामा देखिएको रोगको पहिचान गरी समाधानका लागि तत्काल पहल गर्नुपर्छ,”उहाँले भन्नुभयो, “बोट सुकेर बगाननै सखाप भएपछि किसान अत्यन्तै चिन्तामा परेका छन् ।”