बुधबार २८ माघ, २०८२

नेपाली समय

एकताबद्ध भएर अघि बढ्न काँग्रेस सभापति थापाको अपिल

एकताबद्ध भएर अघि बढ्न काँग्रेस सभापति थापाको अपिल
फाइल फोटो

काठमाडौँ, २ माघ । नेपाली काँग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीभित्र एकताबद्ध भएर अगाडि बढ्न सबैलाई अपिल गर्नुभएको छ ।

काँग्रेसको दोस्रो महाधिवेशनबाट सभापतिमा निर्वाचित थापालाई निर्वाचन आयोगले आधिकारिकता प्रदान गरेसँगै आज एक विज्ञप्ति जारी गरी एकताबद्ध भएर अगाडि बढ्न पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको हो ।

“नेपाली काँग्रेसमा विधि, विधान र पद्धति स्थापित भएको छ, विशेष महाधिवेशन कुनै विवादको विषय थिएन, निर्वाचन आयोगले संविधान, प्रचलित कानुन र पार्टीको विधानअनुसार निर्णय गरेको छ, यसप्रति हामी आभारी छौँ”,  उहाँले भन्नुभयो । 

उहाँले काँग्रेसका सदस्य र शुभेच्छुकजनले नेपाली काँग्रेसमा सार्थक परिवर्तन र देशको समुन्नतिका लागि गरेको इमान्दार प्रयत्नको साझा प्रतिफल भएको उल्लेख गर्नुभयो । 

सभापति थापाले भन्नुभयो, “पार्टी नेताको चाहनाले मात्र होइन आम सदस्यको चाहनाले चल्छ, बन्छ, अब काँग्रेस आफ्नो मूल जरामा, आफ्नो मूल्य मान्यता र आदर्शमा फर्केको छ ।”

उहाँले विशेष महाधिवेशनमा सहभागी हुनुभएका र नहुनुभएका सबैलाई विधि विधानले प्रधानता पाएको र जय पराजयको विषय नभएको बताउनुभयो ।

“कुनै अलमल नपरौँ, सबै संयम होऔँ, जिम्मेवार बनौँ, एकताबद्ध रहौँ, विश्वास र भरोसा राख्नुहोस् अब काँग्रेस नवीन ऊर्जा र एकतासहित रूपान्तरणको दिशामा अगाडि बढेको छ, रिफर्मको यात्रा सुरु भइसकेको छ, अब उच्च आत्मविश्वास र व्यापक तयारीका साथ आशन्न निर्वाचनमा एकढिक्का भइ लाग्नुपर्नेछ”, सभापति थापाले भन्नुभयो ।

उहाँले अहिलेको परिस्थितिमा काँग्रेसलाई अगाडि बढाउन पार्टीका पूर्वसभापति शेरबहादुर देउवालगायत पार्टीमा विभिन्न तह र निकायमा रहनुभएका सबैबाट पार्टीको लोकतान्त्रिक प्रक्रियालाई सहज रूपमा लिई पूर्ण साथ रहने विश्वाससमेत लिनुभयो ।

सभापति थापाले आजदेखि पार्टीभित्र गुट र भागबण्डा नहुने बताउनुभयो । जिम्मेवारी फरक भए पनि भुईँ तहमा रहेका सदस्य र केन्द्रीय सभापतिको समान हैसियत हुने उहाँको भनाइ छ ।

उहाँले काँग्रेस पार्टी नेता र यसका सीमित सदस्यको मात्रै नभई आममानिसको सार्वजनिक पुँजी भएको बताउनुभयो ।

कांग्रेसले विशेष महाधिवेशनमार्फत विगतका कमजोरीप्रति आत्मआलोचना गर्दै समीक्षा गरेको बताउँदै सभापति थापाले आजसम्मका उपलब्धिलाई समयको पदचाप अनुसार थप संस्थागत गर्ने सङ्कल्प गरेको उल्लेख गर्नुभयो । 

काँग्रेस आमनेपाली जनताको अपेक्षा र नवयुवाको परिवर्तनको आकांक्षा अनुरूप अगाडि बढ्ने उहाँले बताउनुभयो ।

“एउटा लोकतान्त्रिक र जनमुखी पार्टी कस्तो हुनुपर्छ हामी बनाउनेछौँ, अब कांग्रेसले मूल्य र सिद्धान्त विपरीत गएर कुनै सम्झौता गर्ने छैन”, उहाँले भन्नुभयो, “सत्ताका लागि जोसँग जहिले पनि अप्राकृतिक गठबन्धन गर्ने कुरा अन्त्य हुनेछ ।”

सभापति थापाले हिजोका दिनमा पार्टीका अग्रजले लोकतन्त्र र जनअधिकारका लागि अग्रसरता लिएजसरी नै अब कांग्रेसले यो संविधानको रक्षा गर्दै समुन्नतिको नेतृत्व गर्ने बताउनुभयो ।

उहाँले यसका लागि सबैको थप साथ र विश्वास चाहिएको बताउनुभयो । उहाँले सम्पूर्ण सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पार्टीका सबै अग्रजलाई श्रद्धा र सम्मान प्रकट गर्नुभएको छ ।

उहाँले देशभरका नवयुवालगायत आम नेपाली आमाबुबा, दाजुभाइ दिदीबहिनीहरूमा समुन्नत नेपाल निर्माणको यात्रामा सरिक हुन अपिल गर्नुभएको छ ।