बुधबार २८ माघ, २०८२

नेपाली समय

गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता

गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता

काठमाडौँ, २ माघ । निर्वाचन आयोग नेपालले गगनकुमार थापा नेतृत्वको नेपाली काँग्रेसलाई आधिकारिकता दिएको छ ।

आयोगको आज बसेको बैठकले विशेष महाधिवेशनलाई कानुन र विधानसम्मत भएको जनाउँदै विशेष महाधिवेशनबाट चयन भएका पदाधिकारीहरूको विवरण अद्यावधिक गर्ने निर्णय गरेको आयोगले जनाएको छ । 

हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले विधि र प्रक्रियाका आधारमा निर्वाचन आयोगले आफूहरूको पक्षमा निर्णय गरेको बताउनुभयो । 

यो निर्णयसँगै नेपाली काँग्रेसको चुनाव चिह्न रुख र चारतारे झण्डासहित आधिकारिक काँग्रेसको सभापति थापा बन्नुभएको छ ।

आयोगले ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले महाधिवेशन माग गर्न पाउने र त्यो मागअनुसार महाधिवेशन आयोजना गर्नुपर्ने बाध्यात्मक व्यवस्था, विधानतः महाधिवेशन प्रतिनिधि नै सर्वोच्च प्रतिनिधि र विशेष महाधिवेशन माग गरेको विषयमा कसैको विमति देखिएन भन्ने आधारमा थापा नेतृत्वको काँग्रेसलाई आधिकारिकता दिएको जनाएको छ ।