- जय प्रकाश बगाले
अमेरिकीहरू जर्ज वासिंगटनलाई मान्छन्, चिनियाँहरु माओत्सेतुङलाई मान्छन्, भारतीयहरु माहात्मा गान्धीलाई मानछन् । नेपाललाई कुनै भगवानले बनाइदिएका होइनन्, न त माओत्सेतुङले नेपाल चिने, न जर्ज वासिंगटनले देखे, न त गान्धीको कुनै योगदान, कसैले यो देश नेपाल बनाउनुमा कुनै योगदान गरेको छ भने राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले हो ।
इतिहासमा पृथ्वीनारायण शाह नभएको भए थाहा छैन सायद नेपाल र नेपाली पहिचान नरहन पनि सक्थ्यो । राष्ट्रिय स्वाधीनताको संरक्षण: विदेशी शक्तिको बढ्दो हस्तक्षेप, MCC: संयुक्त राज्य अमेरिका, BRI: जनवादी गणतन्त्र चीन , ADB: जापान/अमेरिका, World Bank: पश्चिमा राष्ट्रहरू, USAID: अमेरिका, KOICA: दक्षिण कोरिया, JICA: जापान, DFID/U Aid: अब FCDO: बेलायत जस्ता देशहरूको प्रत्यक्ष सहभागितामा परियोजनाहरूमा हुने गूप्त सम्झौताहरूले राष्ट्रिय निर्णय प्रक्रियामा सम्प्रभुता कमजोर बनाएको छ । पृथ्वी पथले स्वदेशी नीति निर्माणको अवधारणा दिन्छ ।
"पृथ्वी पथ” राजा पृथ्वीनारायण शाहको एकीकरण, आत्मनिर्भरता, राष्ट्रियता र स्वाभिमानको नीति र दर्शनमा आधारित विचार हो । जातीय, भाषिक र धार्मिक विभाजन तीव्र हुँदै गर्दा पृथ्वी पथले “नेपाल एक साझा माला हो” भन्ने मूल सन्देशलाई पुनर्स्थापित गर्न सक्ने आधार दिन्छ ।
"पृथ्वी पथ" नेपालको बदलिँदो सामाजिक–राजनीतिक परिदृश्यमा केवल एक ऐतिहासिक स्मृति नभई, नयाँ युगको वैचारिक पूर्वाधार बन्ने सामर्थ्य राख्दछ । पृथ्वीनारायण शाहले आफ्नो शासनमा आम मानिसले न्याय र सुशासन पाउन् भन्ने कुरामा ध्यान पुर्याएका थिए। उनले भनेका छन्:
‘न्याय निसाफ बिगान्र्या भनेको घुस दिन्या र घुस लिन्या। इ दुईको त धन जीव गरिलिए पनि (जफत गरे पनि) पाप छैन। इ राजाका माहा शतुर हुन्।’
यी अभिव्यक्ति आजको युगमा पनि सुशासनको जग हुन्।
‘राष्ट्रियता, राष्ट्रिय एकता र सुशासनका बारेमा पृथ्वीनारायण शाहका विचार र वाणीहरू आज झनै सान्दर्भिक छन् । घुस लिने र दिने दुवै अपराधी हुन् भन्ने मान्यता मात्र हामीले राष्ट्रिय जीवनमा अनुसरण गर्न सके अहिलेको लुटतन्त्र नियन्त्रण हुने थियो, नेपालमा विकास र समृद्धि प्राप्त हुने थियो ।
वर्तमान राज्य व्यवस्थामा देखिएका कमजोरी, जनआस्था र विश्वासको ह्रास, तथा विदेशी निर्भरता बढ्दै गएको अवस्थामा पृथ्वी पथ सुधार, एकता र आत्मनिर्भरताको एक सशक्त सन्देश हो । यो केवल राजसंस्थाको पुनःस्थापनाको आह्वान मात्र नभै नेपाली सभ्यताको मौलिक दृष्टिकोणमा आधारित एक समसामयिक मार्ग हो, जसलाई गम्भीरतापूर्वक बहस र परीक्षण गर्न आवश्यक छ ।
सरकारले अग्रज र पुर्खाहरूले राज्य निर्माणका निम्ति गरेको योगदानको सधैँ सम्मान गर्ने विश्वव्यापी परम्परा छ । छरिएर रहेका बाइसे र चौबीसे राज्यहरू एकीकरण गरेर इतिहासमा नेपाल भनेर चिनाउने उनै पृथ्वीनारायण शाह आज नेपालका कथाकथित प्रगतिशील दलहरूले उनलाई सामन्तवाद को प्रतीक भनेर सम्बोधन गर्नु भनेको नेपाल एकीकरण हुनु ठिक थिएन भन्नु सरह नै हो ।
हामी नेपाली भनेर गर्व गर्नुको सम्पूर्ण श्रेय सायद उनैमा जान्छ । नेपाल एकीकरण नभएको भए यी दलहरू पनि हुने थिएनन् होला, त्यतातिर ध्यान जान नसक्नु ती दलहरूको कमजोरी मात्र नभएर इतिहासप्रतिको अपमान पनि हो ।
नेपालका लागि पृथ्वीनारायण शाहले आफ्नो चिन्तन कुनै ‘वाद’का रूपमा पेस गरेनन्। आफ्नो दृष्टिकोणलाई कुनै सैद्धान्तिक संरचनाभित्र व्याख्या गरेनन्।
समयको गतिसँगै इतिहासले कोल्टे फेर्छ, व्यवस्था परिवर्तन हुन्छ स्वाभाविक प्रक्रिया हो, तर पनि राष्ट्र निर्माता, इतिहासका रचनाकार परिवर्तन हुँदैन । राज्य व्यवस्था र अहिलेको संविधानमा पनि धेरै खोटहरू छन तथापि अहिलेको व्यवस्थामा राष्ट्र निर्माता को लागि अलिकति ठाउँ दिँदा व्यवस्थाको अपमान हुँदैन ।
केही योगदान नभएका मन्त्रीसन्त्री, पूर्व प्रधानमन्त्री, विशिष्ट नेताहरूले अनाहकमा राज्यको दोहन गर्न मिल्ने, राष्ट्र निर्माता लाई एउटा सम्मान दिन नसक्ने पनि कुनै प्रगतिशील राज्य हुन्छ ? वर्षको एक दिन उहाँको योगदानलाई कदर गर्दै राष्ट्रिय एकता दिवस मनाउँदा राज्य व्यवस्थाप्रति को अपमान हुँदैन, न त कुनै दुष्परिणाम नै आउँछ । सारा जनताले सम्मान र आदर व्यक्त गरेको यति ठुलो राष्ट्रिय एकता दिवस लाई जनमतप्राप्त सरकारले हटाउन मिल्दैन, कसको आदेश र इशारामा चलेका छ त अहिलेसम्मका सरकारहरू भन्ने कुराको ज्वलन्त उदाहरण यही हो ।
पृथ्वीनारायण शाहले स-साना क्षेत्र जस्तै (भिरकोट, कास्की, लम्जुङ, गोरखा) मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्दै आधुनिक नेपालको जग बसालेका थिए। पृथ्वीनारायण शाहले सुरू गरेको एकीकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको थियो।
बि.सं.१८७१ कात्तिक १८ गते सुरु भएको नेपाल अङ्ग्रेज युद्ध पश्चात् गरिएको सुगौली सन्धि सम्म यो भू-भाग नेपालको अधीनमा रहेको थियो।
पृथ्वीनारायण शाहले वि.सं. १८३१ माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा नुवाकोट जिल्लाको देवीघाटमा मृत्यु भए तापनि नेपाल एकीकरण अभियान जेठी बुहारी रानी राजेन्द्र लक्ष्मी, कान्छा छोरा बहादुर शाह लगायतले अगाडि बढाइ रहेका थिए।
नेपाल एकीकरण अभियानको पूर्णविराम चाहिँ उनको पनाती राजा गीर्वाण युद्ध विक्रम शाहका पालामा भएको नेपाल-अङ्ग्रेज युद्ध पछि भएको थियो।
वि.सं. १८७३ सालमा सुगौलीको सन्धि नहुन्जेल सम्म पुरा ७२ वर्षसम्म एकीकरण अभियान चलेको थियो। बि.सं. २००९ सालदेखि योगी नरहरिनाथले सरकारसँग समन्वय गरेर एउटा समारोह समिति गठन गरी आफै त्यो समितिमा बसेर राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको रूपमा मनाउन प्रारम्भ गरिएको थियो।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहले प्रतिपादन गरेको दिव्योपदेश र राम शाहले प्रतिपादन गरी पृथ्वीनारायण शाहले निरन्तरता दिएको मानव न्याय शास्त्रलाई राष्ट्र निर्माणको मुख्य दस्ताबेजको रूपमा ग्रहण गरी यसैको आदर्श मूल्य र मान्यतामा आधारित आधुनिक दर्शनलाई पृथ्वीपथको रूपमा विकास गरी पृथ्वीनारायण शाहले प्रतिपादन गरेको दिव्योपदेश र राम शाहले प्रतिपादन गरी पृथ्वीनारायण शाहले निरन्तरता दिएको मानव न्याय शास्त्रलाई हालसम्म जीवित राख्दै सोको मान्यता र दर्शनलाई सामाजिक रूपान्तरणको कडीको रूपमा ग्रहण गरी राष्ट्रलाई चिरस्थायी बनाउन पृथ्वीनारायणको प्रेरणालाई आम जनमानसमा उजागर गर्दै राज्य निर्माताको सम्मान गर्न राज्यलाई पनि दबाब सिर्जना गरौँ । राष्ट्र निर्माणमा पृथ्वीनारायण शाहको इतिहासको सम्मान गरौँ । ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना ।
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह आफ्नो अन्तिम समयमा शेरा दरबार दिएका दिव्योपदेशका कारणले चर्चित छन् । उनका उपदेशहरू आज पनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ रहेको छ । पृथ्वीनारायण नारायण शाहका अनुसार "बुढाहरू मर्दा कोही अर्ति दिन्छन्, पछिल्ला पुस्तालाई ती कुरा गतिला हुनाले एकले अर्कालाई भन्दै राज्य सञ्चालन गर्दै जान्छन् ।
पृथ्वीनारायणले आफ्नो अन्तिम समय तिर भारदारहरूलाई उपदेश दिएका दिए। उनका अन्तिम सन्देशहरूबाट त्यस्ता पेचिला र चोटिला कुराहरू झल्कन्छन् । देश एकीकरण गर्ने क्रममा बडामहाराजाधिराज पृथ्वीनारायण शाहले दिव्य उपदेश दिनुभएको थियो, त्यो निम्नअनुसार छ !
१. खानी भएको ठाउँमा गाउँ छ भने उक्त गाउँ अन्यत्रै ठाउँमा सारेर खानी चलाउनु, खेती गर्ने जग्गामा घर न बनाउनु, यदि घर छ भने उक्त घर सारेर खेती गर्नु ।
२. कपडा बुन्न जान्नेलाई राज्यले सम्मान गर्नु र कपडा बनाएर अरू देश लागि बिक्री गर्नु ।
३. आफ्नो देशको जडीबुटी अरू देशमा लगी नगद साँच्नु र त्यसलाई प्रजामा खर्च गर्नु ! प्रजा मोटा भए भने दरबार बलियो रहन्छ ।
४. यो देश दुई ढुङ्गाको तरुल जस्तो छ ! बादशाहसँग ( चिन ) ठुलो घाह राख्नु, दक्षिणको समुद्रको बादशाहसँग ( इस्ट इण्डिया कम्पनी ) पनि घाह त राख्नु तर त्यो महाचतुर छ हिन्दुस्थानलाई दबाइ राखेको छ ! हिन्दुथान जाग्यो भने कठिन पर्छ भन्दै किल्ला खोज्न आउँछ छिर्न नदिनु ।
५. मेरो साना दुखले आर्ज्याको मुलुक हैन, ४ जात ३६ बर्णको साझा फूलबारी हो, सबै मिलेर यसको सम्भार गर्नु ।
६. अन्याय मुलुकमा हुन नदिनु, न्यायनिसाफ बिगार्ने भनेको घुस दिने र घुस लिनेले हो । यी दुइलाई सर्वस्वहरण गरेर मृत्युदण्ड दिए पनि पाप लाग्ने छैन ! यी दुई देश र राजाको मुख्य शत्रु हुन् ।
७. न्याय दिने ठाउँमा पनि ठकुरी जाँची डिट्ठा राख्नू, मगर जाँची विचारी थाप्नू, कचहरी पिच्छे एक एक पण्डित राखी न्याय शास्त्रबमोजिम अदालत चलाउनू । अदालतको पैसा दरबारमा नहुल्नु ...
नेपालीको एकमात्र दुरदर्शी एकताका सूत्रधार पृथ्वीनारायण शाह भएकोले राष्ट्रिय एकताको रथ भनेको नै ‘पृथ्वी पथ’ हो । पृथ्वी पथ नेपालको बदलिँदो सामाजिक–राजनीतिक परिदृश्यमा केवल एक ऐतिहासिक स्मृति नभई, नयाँ युगको वैचारिक पूर्वाधार बन्ने सामर्थ्य राख्दछ ।
वर्तमान राज्य व्यवस्थामा देखिएका कमजोरी, जनआस्था र विश्वासको ह्रास, तथा विदेशी निर्भरता बढ्दै गएको अवस्थामा पृथ्वी पथ सुधार, एकता र आत्मनिर्भरताको एक सशक्त सन्देश हो ।
लेखक:
जय प्रकाश बगाले
नि. संयोजक, राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन