शनिबार ०३ माघ, २०८२

नेपाली समय

आँबुखैरेनीमा हल गोरु पालनपोषण प्रोत्साहन कार्यक्रम

आँबुखैरेनीमा हल गोरु पालनपोषण प्रोत्साहन कार्यक्रम

दमौली (तनहुँ), २६ पुस । तनहुँको आँबुखैरेनी गाउँपालिकाले किसानलाई प्रोत्साहनका लागि हलगोरु पालनपोषण कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रमअन्तर्गत हलगोरु पालनपोषण प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

इच्छुक पशुपालक कृषकबाट प्रस्ताव आह्वानका लागि सूचना प्रकाशित गरिएको प्रमुख प्रशासकीय अधिकृत शर्मिला अधिकारीले बताउनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि रु पाँच लाख बजेट विनियोजन गरिएको छ । यस कार्यक्रमबाट गोरु पाल्ने कृषक लाभान्वित हुने उहाँको भनाइ छ । 

हलगोरु पालनपोषण प्रोत्साहन कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८२ अनुसार सञ्चालन गरिने उहाँले उल्लेख गर्नुभयो । पालिकाले निवेदन, हलगोरुको ट्याग नम्बरसहितको विवरण, नेपाली नागरिकता तथा जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि, बैंक खाता नम्बर, कम्तीमा दुई वर्षदेखि हल गोरु पालन तथा आफ्नै खेत जोत्ने कार्यमा संलग्न रहेको प्रतिबद्धता पत्र, निवेदक र हल गोरु संयुक्त रूपमा देखिने फोटो तथा सम्बन्धित वडा कार्यालयको सिफारिस आह्वान गरिएको छ । 

अधिकारीका अनुसार पछिल्लो समय आधुनिक कृषि उपकरणको प्रयोग बढ्दै जाँदा हलगोरु पालन घट्दो क्रममा रहेकाले परम्परागत कृषि प्रणालीलाई जगेर्ना गर्न यो कार्यक्रम ल्याइएको हो । “हलगोरु केवल खेतीको साधन मात्र नभई ग्रामीण जीवनशैली, संस्कार र संस्कृतिसँग जोडिएको सम्पदा हो”, उहाँले भन्नुभयो, “यस कार्यक्रमले गोरु पाल्ने कृषकलाई प्रोत्साहन गर्नाका साथै माटोमैत्री र वातावरणमैत्री खेती प्रणालीलाई बल पुग्नेछ ।”

पछिल्ला वर्षहरूमा ट्याक्टर र अन्य कृषि उपकरणको प्रयोग बढे पनि पहाडी भौगोलिक बनावट, साना टुक्रामा विभाजित खेतबारी र वातावरणीय सन्तुलनका दृष्टिले हलगोरु अझै प्रभावकारी माध्यम मानिन्छ । सोही कारण पनि हलगोरु पालनलाई निरुत्साहित हुन नदिन स्थानीय तहले विशेष कार्यक्रम ल्याएको हो ।