दुबई, २५ पुस । एक उच्च स्तरीय पृथकतावादी प्रतिनिधिमण्डलसँग रियादको यात्रा गरेका यमनका हालै बर्खास्त गरिएका रक्षामन्त्री मोहसिन अल–दायरीलाइृ साउदी अरबबाट हिरासतमा लिइएको उहाँको कार्यालयको एक स्रोतले शुक्रबार जानकारी गराएको छ।
स्रोतका अनुसार अल–दायरीको परिवारले उहाँसँग सम्पर्क गर्न नसकिएको जनाएको छ। उहाँ बुधबार बिहानै एडेन छोडेर रियादका लागि प्रस्थान गर्नुभएको थियो ।
संयुक्त अरब इमिरेट्स समर्थित साउदर्न ट्रान्जिसनल काउन्सिल (एसटिसी)को प्रतिनिधिमण्डलमा सहभागी भएको युएइका शीर्ष सदस्यसहित ५० जनाभन्दा बढी प्रतिनिधिमण्डलसँगै उहाँ सोही विमानमा चढ्नुभएको थियो ।
एसटीसीले उनीहरूलाई ‘स्वेच्छाचारी रूपमा हिरासतमा’ लिइएको र उनीहरूसँग सम्पर्क हुन नसकेको बताएको छ।
मन्त्री अल–दायरी एसटीसीको आधिकारिक सदस्य भने नभएको तर उहाँ एसटिसी समूहका नेता ऐदारोस अल–जुबैदीको गृह प्रान्त धालेमा जन्मिनुभएको थियो ।
साउदी समर्थित प्रतिद्वन्द्वीहरूलाई निष्कासन गर्दै र रियादलाई आक्रोशित बनाउँदै एसटीसी सेनाले गत महिना दक्षिणको धेरै भाग कब्जा गरेको थियो।
यमनको राष्ट्रपतिको कार्यालयले बिहीबार दायरीलाई उहाँको पदबाट बर्खास्त गरेको थियो।
दाएरी एसटीसीको यमनी जमिन कब्जाको समयमा एडेनमा हुनुहुन्थ्यो । साउदी सैन्य शक्तिले यमनी सहयोगीहरूको सहयोगमा गरेको स्थल आक्रमणपछि कब्जालाई उल्ट्याएको थियो।
यस घटनाले खाडी सहयोगीहरू साउदी अरब र संयुक्त अरब इमिरेट्सबीचको विवाद उजागर गरेको छ।
साउदी नेतृत्वको गठबन्धनले जुबैदी संयुक्त अरब इमिरेट्सको राजधानी अबुधाबी भागेको आरोप लगाएको छ ।