शनिबार ०३ माघ, २०८२

नेपाली समय

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन

बैतडी, २५ पुस । प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेटको सुदूरपश्चिम प्रदेशको जिल्लास्तरीय छनोट प्रतियोगिता सञ्चालन गर्न निर्देशन दिइएको छ ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टका अनुसार जिल्ला छनोट प्रतियोगिता आज देखि आगामी माघ ११ गतेसम्म सम्पन्न गर्न सबै जिल्लाहरूलाई निर्देशन दिइएको हो ।

जिल्ला छनोट प्रतियोगितामा कम्तीमा चार टिम समावेश गरी एक टिमले तीन खेल खेल्नु पर्ने, प्रतियोगिता ५० ओभरको खेलाउनु पर्ने, सहभागी खेलाडीहरुले अनिवार्य रूपमा दर्ता फाराम भरी फोटोसमेत टाँस्नुपर्ने जनाइएको छ ।

त्यसैगरी  छनोट खेलहरूको अनलाइन स्कोर https://cricclubs.com/nepalमा अनिवार्य रूपमा राख्नुपर्ने, प्रतियोगीताको खेल तालिका, सहभागी खेलाडीहरुसहित टिमको नामावली, म्याच रिपोर्ट, स्कोर सिट, प्रतियोगिताका तस्बीरहरुसहित प्रतियोगिता सम्पन्न भएको प्रतिवेदन नेपाल क्रिकेट सङ्घ र प्रादेशिक क्रिकेट सङ्घमा उपलब्ध गराउनुपर्ने निर्देशनमा उल्लेख छ ।

सुदूरपश्चिम प्रदेशको बाजुराबाहेक आठ जिल्ला नेपाल क्रिकेट सङ्घमा आबद्ध छन् । जिल्ला छनोटपछि प्रदेशस्तरीय प्रतियोगिता हुनेछ ।

राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अनुसार नेपाल क्रिकेट सङ्घको आयोजनामा सञ्चालन गरिँदै आएको प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष आगामी चैत्र १४ देखि बैशाख ५ गते सम्म सञ्चालन गर्ने तयारी छ ।