रामेछाप, २४ पुस । खाँडादेवी गाउँपालिका वडा नम्बर–८ अन्तर्गत उच्च पहाडी क्षेत्रमा अवस्थित श्री आधारभूत विद्यालय, चिरखुमा अध्ययनरत साना बालबालिकालाई लक्षित गरी शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

खाँडादेवी गाउँपालिका वडा नम्बर–८ निवासी मिलन तामाङ तथा धनकुटा नगरपालिका वडा नम्बर–१ निवासी टेकबहादुर नेपाल (हाल दुवै जना क्यानाडामा कार्यरत) को संयुक्त आर्थिक सहयोग तथा विद्यालय व्यवस्थापन समिति सदस्य गणेश तामाङको सक्रिय पहलमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार तामाङ, शिक्षक–अभिभावक सङ्घ अध्यक्ष गजबहादुर लामा, विद्यालयका प्रधानाध्यापक तिर्थराज पौडेल (नवराज), शिक्षाप्रेमी सिंहकुमार श्रेष्ठलगायत विद्यार्थी, अभिभावक, स्थानीय बुद्धिजीवी तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमका अवसरमा विद्यार्थीहरूका लागि न्यानो कपडाका ट्रयाकसुट सेट, पेन्सिल, कापीहरू वितरण गरिएको थियो भने विद्यालयको शैक्षिक तथा प्रशासनिक कार्यलाई थप प्रभावकारी बनाउन एक थान प्रिन्टरसमेत प्रदान गरिएको थियो । उक्त सहयोगले विद्यार्थीहरूको सिकाइमा प्रोत्साहन मिल्नुका साथै विद्यालयको दैनिक शैक्षिक व्यवस्थापनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष रामकुमार तामाङले सहयोगी दाताहरूको योगदानप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता सामाजिक तथा शैक्षिक सहयोगले दुर्गम क्षेत्रका विद्यालयको शैक्षिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
यसैगरी शिक्षक–अभिभावक सङ्घ अध्यक्ष गजबहादुर लामा, गणेश तामाङ, विना लामा तथा सिंहकुमार श्रेष्ठले पनि आफ्नो धारणा राख्दै विद्यालय सुधार र शैक्षिक गुणस्तर अभिवृद्धिका लागि सबै पक्षको सहकार्य आवश्यक रहनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रमको सञ्चालन विद्यालयका प्रधानाध्यापक तिर्थराज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा आगामी दिनमा विद्यालयको भौतिक तथा शैक्षिक अवस्था सुधार, सिकाइ उपलब्धि वृद्धि तथा त्यसका लागि अभिभावक, स्थानीय समुदाय र सरोकारवालाहरूको भूमिका सम्बन्धमा समेत सारगर्भित छलफल गरिएको थियो ।