रौतहट, २८ मङ्सिर । सर्लाही प्रहरीले ठूलो मात्राको प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ। बरहथवा नगरपालिका क्षेत्रबाट बागमती सिंचाई आयोजनाको नहरको बाटो हुँदै ओसारपसार भइरहेको अवस्थामा करिब ३१ किलो ५९० ग्राम गाँजासहित उनीहरू पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस नोटका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले यो सफलता प्राप्त गरेको हो।
इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले बरहथवा नगरपालिका–१२ स्थित हरिवनबाट बेल्ही तर्फ जाने बागमती सिंचाई आयोजनाको नहरको बाटोमा निगरानी बढाएको थियो। सोही क्रममा प्रदेश–१–०२–०५२ प ३५०६ नम्बरको २२० सिसिको पल्सर मोटरसाइकलमा सवार दुई जना व्यक्तिलाई शङ्काको आधारमा रोकेर खानतलासी गर्दा लागुऔषध फेला परेको थियो।
प्रहरीका अनुसार मोटरसाइकलमा सवार उनीहरूले बीचमा राखेको ६ पोकामा उक्त परिमाणको गाँजा फेला परेको हो। बरामद गरिएको लागुऔषधको कुल तौल ३१ किलो ५९० ग्राम रहेको प्रहरीले जानकारी दिएको छ।
गाँजा ओसारपसारमा संलग्न भई नियन्त्रणमा लिइएका व्यक्तिहरू लालबन्दी नगरपालिका–१४ का बासिन्दा हुन्।
कान्छाराम स्याङतान २९ वर्षीय जितबहादुर स्याङतानका छोरा
मानबहादुर ठोकर, २५ वर्षीय टेकबहादुर ठोकरका छोरा
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईले दिएको जानकारी अनुसार उनीहरूका साथबाट गाँजा र मोटरसाइकल बाहेक नगद ७१ हजार ५७५ नेपाली रुपैयाँ र ९ हजार सात सय भारतीय रुपैयाँ समेत बरामद भएको छ। साथै उनीहरूले प्रयोग गरेका दुई थान मोबाइल फोन पनि नियन्त्रणमा लिइएको छ।
पक्राउ परेका दुवै जना युवकलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले लागुऔषध नियन्त्रण ऐन अन्तर्गत कारवाहीका लागि अगाडि बढाएको छ। डिएसपी राईले उनीहरू विरुद्ध लागुऔषध ओसारपसार कसुरमा अनुसन्धानका लागि सर्लाही जिल्ला अदालतबाट ७ दिनको म्याद लिइएको र आवश्यक अनुसन्धान तीव्र पारिएको जानकारी दिए।
यस घटनाले सर्लाहीको चुरे क्षेत्रबाट भित्री सडक हुँदै लागुऔषधको अवैध ओसारपसार भइरहेको सङ्केत गरेको छ। जिल्ला प्रहरीले लागुऔषध नियन्त्रण अभियानलाई थप कडाईका साथ अघि बढाउने जनाए।