शनिबार ०३ माघ, २०८२

नेपाली समय

विचार: जेनजी विद्रोह र बौद्धिक व्यक्तित्वहरूसँगको अपेक्षा

विचार: जेनजी विद्रोह र बौद्धिक व्यक्तित्वहरूसँगको अपेक्षा
श्रीराम खाइजु ने.क.पा. माओवादी केन्द्रको केन्द्रीय सदस्य हुनुहुन्छ ।

हाम्रा बुद्धिजीवीहरू चोक चौतारीमा खेल्दा खेल्दै, एकान्तमा तरुनीसँग भुल्दा भुल्दै वा मस्त निन्द्रा सुतिरहेको बेलामा रातो भाले बास्नेवित्तिकै झुलुक्कै आएको परिवर्तनको रूपमा व्याख्या गरिरहेका छन् ।

आरम्भ

हरेक राजनीतिक आन्दोलनमा बौद्धिक कार्यको अग्रिम स्थान रहन्छ । सामाजिक आवश्यकताहरूको तर्कपूर्ण विश्लेषण, देश र जनताको दूर भविष्य सुरक्षित हुनेगरी सामाजिक सम्प्रेषण गर्नु बुद्धिजीवीहरूको दायित्व हो । सामाजिक बुद्धिजीवी समाजको आँखा मात्र होइन चेतनाको भण्डार पनि हो । त्यसैले उनीहरूको अभिव्यक्तिको आधारमा अग्रगति वा दुर्गतिको निर्धारण हुन्छ ।

बुद्धिजीवीले साँचो बोल्दा देशले गति लिन्छ, बुद्धिजीवीले झुटो बोल्दा देशले दुर्गति भोग्छ । सत्यका आयाम एक होइन अनेक हुन्छ । जुन कोणबाट हे¥यो, त्यहीँबाट देखिने बिम्ब हेर्नेको आँखाको लागि सबैभन्दा सत्य लाग्छ । सर्वसाधारणको लागि आफूलाई लागेको सत्य बोल्ने छुट छ, तर बुद्धिजीवीहरूको लागि आफूले देखेको बिम्बको निम्ति मात्र नभई दुनियाँले देख्ने सत्यलाई आफ्नो नजरले हेर्न सक्नुपर्छ । 

तर हाम्रा बुद्धिजीवीहरू अर्काले भनेको गलत र तथ्यहीन तर्कहरू जस्ताका तस्तै वा थोरै फुँदा गाँसेर कपि गर्न पाउँदा पृथक् आविष्कार गरेझैं मख्ख पर्छन् । एउटै प्रसङ्गलाई दशतिरबाट घुमाएर बेतुकको तर्क बनाउन र स्थापित गर्न सक्दा आफूलाई सुकरात, मार्कट्वेन, रोवट ओवेन, सेन्ट सिमोन, आइन्सटाइन वा ग्यालिलियो भन्दा महान् वैज्ञानिक समाज सुधारक सम्झन्छन् ।

यथार्थ धरातललाई कुल्चँदै आधारविहीन, नूतन स्वर्ग बनाउन पाउँदा मखलेल हुन्छन् । उनीहरूको रुचि सामाजिक दुर्गतिको तथ्य र सत्यपरक विवेचना गर्दै विद्यमान विकार र विसङ्गति निवारण गर्ने होइन, विकृति विसङ्गति भाँडमै जाओस् त्यसलाई भजाउँदै अग्रगामी शक्तिको खुट्टा तान्न पाएपछि सोह्र सराद्धका बाहुन भन्दा तृप्त हुन्छन् ।

हालका बुद्धिजीवीहरू

हामीकहाँ सर्वसाधारण भन्दा अधिक श्रम सिप योगदान गर्नेलाई बुद्धिजीवी भन्ने चलन छैन, देश र जनताको निम्ति सबैभन्दा महत्त्वपूर्ण र योगदान दिने श्रमिक किसान मजदुर, नवनिर्माण र पुननिर्माणका जिउँदा जोदाहाहरू, मानसिक वा बौद्धिक श्रम गर्ने शिल्पी, इन्जिनियर, लाई बरिष्ठ मान्ने चलन छैन ।

तर सर्वसाधारणले भन्दा धेरै फजुल गुड्डी हाँक्ने, सर्वसाधारणको तुलनामा अधिक कुतर्क संस्थागत गर्नेलाई बौद्धिक भन्ने परम्परा नै छ । जसले उत्पादन कार्यलाई बौद्धिक श्रमसँग जोड्ने, वैज्ञानिक उत्पादन र मानवउपयोगी सिपले सिँगार्नु आफ्नो दायित्व र जिम्मेवारी सम्झंदैनन्, तिनिहरूलाई बौद्धिक मान्ने परम्परा छ । किनकि हामी ‘हिन्दु पुरेतवादी संस्कारबाट संस्कारित’ छौँ ।

‘हिन्दु पुरेतवाद’ यस्तो कुविद्या हो, जसले श्रमलाई निचा नदेखाई आफ्नो औचित्य पुष्टि गर्नै सक्दैन । किनकि श्रम र सीप उनको विद्याको मकसद नै होइन ।

हामीले बुद्धिजीवी मानेकाहरूको हालसम्म देखिएको गतिविधिले सहजै बुझ्न सकिन्छ, नेपाली बुद्धिजीवीको कार्य र श्रमिकको श्रमलाई भरथेग गर्ने त्यसका कमीकमजोरीको समीक्षा गर्दै आगामी उत्पादन त्यो भन्दा गुण मात्रा वा परिमाणमा स्तरउन्नति चाहँदैनन् ।

उनीहरू क्रान्तिकारी नेताहरूले वा श्रमिकले गर्दा हामीले यो उपार्जन पायौँ वा समाजमा रूपान्तरण भयौँ भन्नमा होइन, क्रान्तिकारीहरूले गर्दा हामी यो हविगत भोग्यौँ, प्रचण्ड वा माओवादी नभएको भए अझ यो भन्दा धेरै प्रगति हुने कुतर्क गर्दैछन् । जसले सामाजिक रूपान्तरणमा भाग लिँदैनन् उल्टै रुपानन्तरणको गतिबाट रोक्न हजार कुतर्क गर्दछन् ।

यदि रोक्दा रोक्दै पनि अगाडि बढेमा त्यसमा रौँ बरावरको क्षति ब्यहोरेमा खुच्चिङ गर्दै आफ्नो कुतर्क साबित भएको बुद्धिविलास गर्दछन् ।

जेनजी आन्दोलन र बुद्धिजीवी

सबैलाई थाहा छ, वर्तमान समतामूलक समाजको निर्माण, भौतिक संरचनाको चकाचौध निर्माण, अधिकारचेतमा अब्बलता, व्यक्तिगत तथा सामुदायिक रूपमा सार्वभौमिकताको पहुँच र हैसियतदार बनाएको छ । यो सामान्य सभा जुलुस वा कुनै चोक चौतारीमा गरिएको एकाध भाषणबाट प्राप्त उपलब्धि होइन ।

महान् त्याग तपस्या र योगदान सहितको बलिदानबाट प्राप्त भएको उपलब्धि हो । तर हाम्रा बुद्धिजीवीहरू चोक चौतारीमा खेल्दा खेल्दै, एकान्तमा तरुनीसँग भुल्दा भुल्दै वा मस्त निन्द्रा सुतिरहेको बेलामा रातो भाले बास्नेवित्तिकै झुलुक्कै आएको परिवर्तनको रूपमा व्याख्या गरिरहेका छन् ।

विद्यमानताबाट विद्रोह गर्दै अगाडि जानेको विरुद्ध विद्रोह लगत्तै विद्रोही विरुद्ध खोइरो खन्ने प्रचलन नेपाली इतिहासमा छोटो छैन । जजसले देशको इतिहासमा महत्त्वपूर्ण इँटा थप्यो उनैमाथिको सत्तोसराप झन् चाखलाग्दो छ ।

पृथ्वीनारायण, बहादुर शाह, जङ्गबहादुर, अन्तमा महेन्द्रसम्मका राज्यको केन्द्रमा भूमिका निर्वाह गर्ने राजा महाराजाहरूको जीवनको भोगाई हेर्दा थाहा लाग्छ भने विपि गणेशमान, कृष्णप्रसाद भट्टराई, पुष्पलाल, सहाना हुँदै प्रचण्डसम्मले दुःख पाएको बिर्सँदै गालीपुराण लाउँछन् ।

खासगरी तत्कालीन भारदारीतन्त्र, प्रचण्ड वा माओवादीमाथि आरोप लगाउन कुनै प्रमाण तथ्य वा जसलाई जे मन लाग्यो धित मरुन्जेल सराप्ने संस्कृति बन्नथालेको छ ।

सच्चिने को ?

नेता कार्यकर्ता र अग्रजहरूको हरेक गतिविधिमा असफलता मात्रै देख्ने, दोष मात्र देख्ने, सराप्न मात्र जानेका बुद्धिजीवी पल्टने खाना कालहरू यदि भारतमा जन्मिएका भए महात्मा गान्धी, ज्वहारलाल नेहरु, भगत सिंहहरूलाई कति सराप्थे होलान् ? किनकि इष्ट इन्डीया कम्पनीसँग मुक्त भएको करिव ९७ वर्षसम्म पनि ४५ देखि ५० प्रतिशत जनता निरपेक्ष गरिबिको रेखा मुनि बाँच्न विवश छन् ।

दुनियाँमा गनिएका पूँजीपति पनि त्यहीँ छन् । सार्क राष्ट्रका हरेक कुना काप्चामा भारतीय मगन्तेहरूको बग्रेल्ती ओइरो छ । दलित महिला मुस्लिम माथि बहुसङ्ख्यक हिन्दुहरूको उत्पीडनको कहानी बेग्लै छ । जसको प्रतिकार स्वरूप १९९७ मा भएको बाबरी मस्जिद काण्डमा एकै दिन ५ हजार नागरिकको ज्यान जानेगरिकन विद्रोह मच्चियो । 

ती सबैको दोष तत्कालीन काँग्रेस र नेताहरूमाथि लगाउँथे कि लगाउँदैनथे ? 

यदि अमेरिकामा जन्मेका भए जर्ज वासिङ्टन देखि सयौँ नेताहरूको सालिक ढाल्थे होलान्, फोटोमा थुक्थे होलान् । किनकि अझै पनि अमेरिका विश्वका अन्य रुष्टहरूलाई नलुटीकन आफ्नो खुट्टामा टेक्न सकेका छैनन् ।

वैदेशिक ऋणको हिसाब गर्ने हो भने आफ्नो जिडिपीको १३६ प्रतिशत ऋण भोगिरहनु परेको छ । त्यस्तै जापान जर्मन, लगायत समाजवादी देशहरूतिर जन्मिएका भए पनि महान् बलिदान गर्ने त्याग तपस्या गर्ने हरेक नेता कार्यकर्ता वा सामाजिक अभियन्ताहरूलाई गर्न सम्मको अपमान गर्थे होलान् किनकि समाजवाद नै आएको अवस्थामा समेत एकाध प्रतिशत गरिब, एकाध प्रतिशत बेरोजगार, एकाध प्रतिशत भ्रष्टाचारको घटनाहरू भइरहँदारहेछन् । 

निःसन्देह ठुला तथा विकसित भनिएका देशहरूका ठुला सहरहरूमा विशाल संरचनाहरू, अत्याधुनिक यन्त्र तथा उत्पादनकेन्द्रहरू पृथ्वी मात्र होइन, ग्रह उपग्रह तथा विशाल नक्षत्रको अनुसन्धान गर्ने उपयोग गर्ने कला, क्षमता र योग्यता साँचिसकेका छन् ।

तर त्यही विकाशका विशालता मुनि असमान वितरणका विकराल कथाहरू पनि सँगै छन् । त्यहाँको विशाल अर्थतन्त्र मुनि विभेद तथा विषमताको विरुद्ध हजारौँ विद्रोह पनि लुकेको छ । यो तथ्यलाई आत्मसाथ गर्दै फेरिनुपर्ने र फेर्नुपर्ने नीति कार्यनीति वा नेता कार्यकर्ताहरूको विवरण दिँदै गर्दा आफैतर्फ एकपटक हेर्ने कि ?

पार्टीहरू जति मात्रामा सच्चिने आवश्यकता छ, त्यो भन्दा धेरै सबै उस्तै भएको झूटा भाष्य निर्माण गर्दै सिङ्गै देशमा निराशा बेच्ने बुद्धिजीवीहरू सच्चिनु नपर्ने ? पटक पटक काँग्रेस एमालेको धोखा खाँदा खाँदै पनि आफ्नै अधिकार सुरक्षित गर्न सामर्थ्यमुताविक लडिरहने माओवादीलाई कमजोर बनाउने सर्वसाधारण मतदाताहरू सच्चिनु नपर्ने ? त्यसैले सच्चिने प्रकृयाको आरम्भ मतदाता, विश्लेषक, नेता नीति लगायत सबै क्षेत्रमा लागु हुन्छ ।

अन्तमा

मानिसलाई डोरीले होइन चेतनाले बाँधिन्छ । विद्रोह साम्य पार्ने विभेदको अन्त्य र समतामूलक व्यवस्थाको सिर्जना गरेर हो । तर पुँजीवादीहरू आफ्नो भलाइको निम्ति दुनियाँको कुभलो गर्नुलाई वैध मान्छन् । कथित शान्तिको नाममा ठुला हतियार, धेरै सेना, बलियो प्रशासन आदिको सहारा लिन्छन् ।

तर वास्तविक शान्ति समतामूलक समाजको सिर्जनाद्वारा मात्र स्थायी शान्तिको कल्पना सार्थक हुन सक्छ । त्यस्तो समाजको आधारभूत जग नै वैज्ञानिक समाजवाद हो । त्यही समाजवादमा नै पनि समस्याहरूको चाङ लागेर सोभियत संघ विघटन भयो, चीनले रणनीतिक रूपान्तरण गर्नुपर्ने अवस्था आयो ।

कोरिया, भियतनाम, क्यूवा लगायत अनेकौँ देशहरूले आफूलाई युग सुहाउँदो रूपान्तरण गरेका छन् । 

अर्थात् हरेक व्यवस्थामा आफ्नै स्तरको समस्याहरू जन्मन्छन्, समाधानको उपाय पनि सबैको सहकार्यमा सकारात्मक प्रयाशद्वारा नै गर्ने हो । तर नेपालमा समस्या समाधानार्थ समस्याको उठान गरिँदैन, त्यसलाई झन् जटिल बनाउँदै समाधानको उपाय धुमिल बनाउन उठान गरिँदै आयो ।

वास्तवमा यस्तो कार्यमा देश बिर्सेर, जनता बिर्सेर केवल आफ्नो कुट तर्कको माध्यम अपनाएर स्वार्थ सिद्ध गर्दै आएका बुद्धिजीवीहरूले आफ्नो प्रवृत्ति फेर्नुपर्छ । देशप्रति ममताभाव जाग्ने, नेता नीति र कार्यनीतिहरूको मामलामा जस्ताका तस्तै राखिदिने सामर्थ्य हुनपर्छ ।

सकारात्मक चेतका साथ आलोचना, सकारात्मक शब्द र तर्क सिर्जना गरेर कमी कमजोरी सुधार्दै देश अगाडि लाने कार्यमा सहकार्य गर्न सक्नुपर्दछ । 

    धन्यवाद 

- श्रीराम खाईजु

    (भक्तपुर)

(प्रकाशित लेख: लेखकको निजी विचार हो। )

२०८२–०६–२७